Dark

राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियल सम्मानीत

खबरमुकाम । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ। 

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही १ लाख रुपैंया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैंया नगद प्रदान गरिएको छ। साथै, नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्रािष्ट्रय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल बनेको छ।

त्यस्तै, उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने जनाए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्रािष्ट्रय रुपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए। 

उक्त कार्यक्रम मार्केटिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गरेका थिए। यसै क्रममा क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्रािष्ट्रय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए। राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने उनको सपना वास्तवमा सबैको सपना रहेको र पूरा गर्न पाएकोमा खुशी लागेको बताए। 

यस्तै, कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका उपाध्यक्ष जितेन्द्र राई, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

हाल यस बैंकको ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग,QR Code सेवा, POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै