Dark

पर्सा निकुञ्जमा पर्यटक भित्र्याउन चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्यको तयारी

बारा । पर्सा राष्ट्रिय निकुञ्जले पर्यटन प्रवर्द्धन गर्न चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्यको तयारी गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एउटै टिकटमा पर्सासम्म र पर्सा निकुञ्ज प्रवेश गर्ने सहज ढङ्गले चितवनसम्म घुम्न सकिने व्यवस्था मिलाउन लागिएको हो ।

४० औँ वार्डेन सम्मेलनबाट पर्सा–चितवनलाई एउटै प्याकेज बनाएर पर्यटन प्रवर्द्धन गर्ने विषयमा निर्णय भइसकेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जनाए । सङ्ख्यामा कम भए पनि चितवन राष्ट्रिय निकुञ्जमा पाइने सबै खाले दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी पर्सा राष्ट्रिय निकुञ्जमा पाइन्छन् ।

यी दुवै निकुञ्जलाई सँगसँगै लैजान सके पर्या–पर्यटनमा ठुलो फट्को मार्न सकिने प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको भनाइ छ । ‘चितवन राष्ट्रिय निकुञ्ज अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ भइसकेको अवस्थामा चितवनसँग प्रतिस्पर्धा गरेर जान पर्सालाई सम्भव नै छैन । चितवनसँग मित्रता गरेर एकीकृत रूपमा पर्या–पर्यटनको हिसाबले विकास गर्न एउटै टिकटबाट दुवै निकुञ्ज घुम्न सक्ने व्यवस्था गर्न सकिन्छ,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने ।

चितवनको प्रवेशद्वारबाट पर्सासम्म र पर्सा निकुञ्जबाट प्रवेश गरेको पर्यटक चितवनसम्म सहज ढङ्गबाट घुम्न सक्ने व्यवस्था मिलाउन मन्त्रालय तहबाट कानुनी र नीतिगत निर्णय भयो भने मात्रै दुवै निकुञ्जको एकीकृत रूपमा विकास हुन्छ । यसबाट होटल तथा पर्यटन व्यवसायी, स्थानीय तह, मधेस प्रदेशले पनि फाइदा लिन सक्ने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ । सो निकुञ्जमा नेपाली, भारतीय तथा तेस्रो मुलुकबाट बर्सेनि ३ लाखभन्दा बढी पर्यटक अवलोकन गर्न आउँछन् । चितवन निकुञ्जले गत वर्ष मात्रै टिकट शुल्कबाट ३० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर बुर्जा पुनले जनाए ।

उनले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै टिकटबाट २६ करोड राजस्व सङ्कलन भइसकेको बताए । चितवन निकुञ्ज प्रवेश गर्ने ७० देखि ८० प्रतिशत पर्यटक सौराहा हुँदै प्रवेश गर्दछन् ।

‘चितवन राष्ट्रिय निकुञ्जको अन्तर्राष्ट्रिय ब्राण्ड जोडेर पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्दा समग्रमा चितवनलाई बेफाइदा हुँदैन, तर पर्सा निकुञ्जलाई धेरै फाइदा हुन्छ,’ प्रमुख संरक्षण अधिकृत बुर्जा पुनले भने, ‘हाम्रो उद्देश्य कसैको राजस्व खुम्च्याउनेभन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने हो । दुई निकुञ्जबिच सहकार्य गरेर जाँदा जङ्गल सफारी गर्ने रुट थपिन्छ । यसले नयाँ पर्यटकीय गन्तव्य पनि बढ्छ ।’

यस विषयमा दुवै निकुञ्जसँग जोडिएका पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्रका पदाधिकारी निकुञ्ज प्रशासनबिच छलफल भएर सहमति भइसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटन व्यवसायबाट होटल तथा पर्यटन क्षेत्र, अन्य व्यापार व्यवसायमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अर्बौँको आम्दानी भएको छ । तर, पर्सा राष्ट्रिय निकुञ्ज भने वर्षभरि नै सुनसान देखिन्छ । पूर्व–पश्चिम राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा निकुञ्जको बाटो हुँदै बर्सेनि हजारौँको सङ्ख्यामा भारतीय पर्यटक सौराहा जान्छन् ।

गत वर्ष पर्सा राष्ट्रिय निकुञ्जमा छिटपुट भारतीयसहित करिब एक हजार आन्तरिक पर्यटक पर्सा निकुञ्ज घुम्न आएका थिए भने यस वर्ष शून्य बराबर नै छ ।

पर्सा निकुञ्जभित्र पर्यटकहरूका लागि अवलोकन गर्ने प्रशस्त प्राकृतिक तथा मनमोहक दृश्य, दुर्लभ वन्यजन्तुहरूको वासस्थान भए पनि प्रचारप्रसारको अभावमा यो निकुञ्ज ओझेलमा परेको छ । पर्सा राष्ट्रिय निकुञ्ज जङ्गली हात्तीको मुख्य वासस्थान हो । निकुञ्जभित्र दुर्लभ पाटेबाघ, गौरीगाई, गैँडा, भालु, सालक, जरायो, चितुवा, चित्तललगायत ३७ प्रकारका स्तनधारी जनावर, ४९० प्रकारका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रकारका पुतली अवलोकन गर्न सकिन्छ ।

निकुञ्जभित्र पर्यटकहरूका लागि वन्यजन्तु अवलोकन गर्न पानी पोखरीसँगै २ दर्जनभन्दा बढी मचानसमेत निर्माण गरिएको छ । त्यस्तै निकुञ्जभित्र हात्ती सफारी र जङ्गल सफारीको माध्यमबाट दुर्लभ एकसिङ्गे गैँडा अवलोकन गर्न सकिन्छ ।

चितवनको तुलनामा पर्सालाई ‘भर्जिन निकुञ्ज’ (पर्यटकको चहलपहल खासै नभएको) मानिन्छ ।

पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा तत्कालका लागि चितवन घुम्न आएका २० प्रतिशत पर्यटकलाई मात्रै पर्सामा भित्र्याउन सके ठुलो उपलब्धि हुने बताउँछन् । ‘तत्कालका लागि हेर्दा चितवनलाई मात्रै फाइदा पुगेको जस्तो देखिए पनि सुरुमा चितवनबाट २० प्रतिशत पर्यटक यहाँ आउने सम्भावना छ भने यहाँका ८० प्रतिशत पर्यटक चितवन घुम्न जाने देखिन्छ,’ खतिवडाले भने, ‘दीर्घकालमा भने ५०/५० प्रतिशतको दरले आम्दानी हुने र पर्यटक ओहोरदोहोर गर्छन् भन्ने लाग्छ ।’

४० औँ वार्डेन सम्मेलनमा खतिवडाले राखेको प्रस्तावमा सहमति भए पनि राजस्व घट्न सक्ने सम्भावना भएकाले चितवनले स्वीकार गरिनसकेको उनको भनाइ छ ।

पर्सा निकुञ्ज मधेस प्रदेशको एकमात्रै निकुञ्ज हो । यो निकुञ्ज वीरगञ्ज महानगर, जीतपुरसिमरा उपमहानगरसहित ८ वटा पालिकासँग जोडिएको छ । तर, जीतपुरसिमरा उपमहानगर बाहेकका अन्य पालिकाले निकुञ्जसँग जोडेर पर्यटनमैत्री संरचना निर्माण गर्न खासै चासो देखाएका छैनन् ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सीताराम अर्यालले निकुञ्जभित्र पर्यटन प्रवर्द्धन गर्न पर्यटनमैत्री संरचना निर्माण गर्नुपर्ने बताए । ‘अहिले निकुञ्जको कार्यालय क्षेत्रमा मात्रै पूर्वाधार विकास छ, पर्यटक जाने क्षेत्रको लागि झलुङ्गे पुल बन्नुपर्‍यो, फायरलाइनका बाटो सफा हुनुपर्‍यो । त्यसपछि मात्रै पर्या–पर्यटनको हब बन्छ,’ अर्यालले भने, ‘निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधि र राष्ट्रिय निकुञ्ज तीनै तहले कसरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ ।’

वैशाख पहिलो साता पर्सा राष्ट्रिय निकुञ्जले सरोकारवाला निकाय, निकुञ्जसँग जोडिएका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, मध्यवर्ती क्षेत्रमा सामुदायिक वनका अध्यक्षसँग छलफल राखेको थियो । छलफलमा सहभागीहरूले मध्यवर्ती क्षेत्रका पदाधिकारीले रुख काटेर बिक्री गर्ने र सो क्षेत्रका जग्गाहरू व्यक्तिले हड्पेर संरचना बनाउने क्रम भयावह रूपमा बढेको गुनासो गरेका थिए ।

यता, होटल तथा पर्यटन व्यवसायी मोहन शर्माले भारतीय पर्यटकहरूलाई लक्षित गरेर संरचना निर्माण गर्नुपर्ने बताए । ‘सौराहाका विदेशी पर्यटकलाई पर्सा ल्याउन र यताका भारतीय पर्यटकलाई पर्सा राष्ट्रिय निकुञ्जबाट सौराहा सहज रूपमा जानसक्ने गरी अहिले ल्याइएको अवधारणा एकदमै राम्रो छ । यसलाई एक पटक प्रयोग गरेर हेरौँ,’ शर्माले भने ‘भर्जिन निकुञ्ज भनेको के हो भन्ने कुरा सबैले अवलोकन, अनुभव गरेर थाहा पाउने कुरा छ ।’

  • गैँडाको मुख्य वासस्थान क्षेत्र सधैँ सुनसान

प्रतापपुर क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको गैँडाको मुख्य वासस्थान हो । यो मकवानपुर जिल्लाको मनहरि गाउँपालिकाभित्र पर्दछ । यस क्षेत्रमा बिहान, साँझको समयमा सजिलैसँग गैँडा देख्न पाइन्छ भने सयौँको सङ्ख्यामा चित्तल, हरिण, मयुर लगायत विभिन्न प्रजातिका चराचुरुङ्गी, गौरीगाई, दुर्लभ पाटे बाघ पनि देख्न सकिन्छ ।

‘यहाँ गैँडा हेर्न भनेर खासै मान्छे आउँदैनन्, कहिलेकाहीँ सार्वजनिक बिदाको दिन र शनिबारमात्रै यही गाउँका स्थानीय र हेटौँडाबाट आन्तरिक पर्यटक आउँछन् । भारतीय पर्यटकहरू खासै आउँदैनन्,’ प्रतापपुरमा ४ वर्षदेखि हात्ती सफारी गर्दै आएका बालकृष्ण चौधरीले भने, ‘यहाँ साँझ–बिहान एकै ठाउँमा बच्चासहित ६ वटासम्म गैँडा देखिन्छ, हुलका हुल चित्तल, मयुर, गौरीगाई र कहिलेकाहीँ बाघ पनि भेटिन्छ ।’

सो क्षेत्रमा पर्यटकहरूलाई हात्ती सफारीका लागि २ वटा हात्ती राखिएको छ । तर प्रचारप्रसार अभावमा मधेस प्रदेशका अधिकांश पर्यटक एकसिङ्गे गैँडा हेर्न चितवन राष्ट्रिय निकुञ्ज जाने गर्दछन् ।

प्रतापपुर पोष्टका इन्चार्ज प्रेमकुमार महतोले भने, ‘यहाँ प्रायः नेपाली पर्यटक आउँछन् । बाह्य पर्यटक खासै छैनन् । प्रचारप्रसार राम्रो भयो भने यहाँ २ वटा हात्तीले धान्नै गाह्रो हुन्छ ।’

हात्ती सफारीका लागि निकुञ्जले आन्तरिक पर्यटकहरूका लागि ६ सय र विदेशीको हकमा १ हजार ५ सय शुल्क तोकेको छ । पर्सा निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष सीताराम अर्यालले प्रतापपुरमा गैँडा हेर्न आउने पर्यटकहरूका लागि बसोबासको ठुलो समस्या रहेको बताए ।

(स्रोत रातोपाटीः शारदा पोखरेल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै