Dark

भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी

नारायणगढ ।  वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।  

भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।


भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुन्। घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उनले सबै जिम्मेवारी थेग्न सकेनन् र उनलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो  । 

गीताले भनिन्, ‘श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।’ सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उनले बताइन्। 


गीताले श्रीमानलाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताइन्।  त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उहाँको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थालिन् । 

अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय रहेका छन्। उनले घरखर्च आफैँले कमाएर चलाएका छन् । उनले भने, ‘आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।’ उनी आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आएका छन्  ।  

विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताए।

भरतपुर–१६ कै सङ्गीता रेग्मी भट्टले पहिला–पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताइन्। घरमा निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर भएको उनी अहिले त्यस्तो नरहेको बताउँछिन्।

वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाएकी भरतपुर–२५ की राधा खाती अहिले मानसिक र शारीरिकरूपमा स्वस्थ छिन् ।

 श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उनलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमानलाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उनले गुनासो गर्दैगर्दा उनी निकै भावुक बनिन्। 

    

यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताइन्। सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उनले सुनाइन्। परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उनीहरूको परिवारमा खुसियाली छाएको उनले बताइन्।

 भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिए। 

उनका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबाट छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिए।

वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिए। उनका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै