विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?

काठमाडौं । भारतको हैदराबादमा अगस्ट २१ देखि २३ सम्म सम्पन्न First World Open Taekwondo Championship 2026 मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काएका छन् ।

प्रतियोगितामा सहभागी १७ जना नेपाली खेलाडीले Speed Kicking र Speed Punch विधामा उत्कृष्ट प्रदर्शन गर्दै ६ वटा विश्व कीर्तिमान कायम गरेको बताइएको छ । नेपाली खेलाडीहरूले विभिन्न विधामा उल्लेख्य संख्यामा पदकसमेत जितेर स्वदेश फर्किएका छन् ।

यसै प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिकास्थित फोनेक्स मार्शल आर्ट्स बाट सहभागी पाँच जना खेलाडीले मात्रै ९ स्वर्ण र १ रजत पदक जित्न सफल भएका छन् ।

उत्कृष्ट उपलब्धि हासिल गरेर स्वदेश फर्किएका खेलाडीहरूलाई फोनेक्स मार्शल आर्ट्सका सञ्चालक विवेक गिरी लगायतका समर्थकहरूले काठमाडौंको नयाँ बसपार्कमा बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा बोकेर नेपालको नाम विश्वमाझ चिनाउने खेलाडीहरू स्वदेश फर्किँदा समर्थकहरूमा उत्साह देखिए पनि अर्को प्रश्न भने गम्भीर रूपमा उठेको छ—सरकारले यस्ता खेलाडीलाई के दिइरहेको छ ?

खेलाडीहरूले आफ्नै मेहनत, प्रशिक्षण, परिवारको आर्थिक सहयोग र निजी क्षेत्र तथा खेलप्रेमीहरूको साथमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरिरहेका छन् । तर अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाउने खेलाडीलाई राज्यले पर्याप्त आर्थिक सहयोग, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार, खेल सामग्री र प्रोत्साहन दिन नसकेको गुनासो लामो समयदेखि सुनिँदै आएको छ ।

एकातिर नेपाली खेलाडीहरूले सीमित स्रोतसाधनका बीच विश्वस्तरमा कीर्तिमान बनाइरहेका छन्, अर्कोतर्फ उनीहरूको सफलतालाई राज्यको प्राथमिकतामा कति राखिएको छ भन्ने प्रश्न उब्जिएको छ ।

विश्व कीर्तिमान बनाउने खेलाडीलाई विमानस्थलदेखि सम्मान गर्ने कि उनीहरूको प्रशिक्षण र भविष्य सुनिश्चित गर्ने ?

खेलाडीले पदक जितेपछि मात्रै बधाई दिने परम्पराभन्दा माथि उठेर राज्यले खेलाडी उत्पादनदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको सम्पूर्ण प्रणालीलाई बलियो बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

आज फोनेक्स मार्शल आर्ट्सका खेलाडीहरूलाई नयाँ बसपार्कमा बाजागाजासहित गरिएको स्वागत केवल पाँच खेलाडीको सम्मान होइन, सीमित साधनका बीच देशको नाम उचाइमा पुर्‍याइरहेका नेपाली खेलाडीप्रतिको सम्मान पनि हो ।

अब प्रश्न सरकारतर्फ सोझिएको छ—विश्व कीर्तिमान बनाउने नेपाली खेलाडीलाई राज्यले कहिले पहिचान गर्छ? उनीहरूको प्रतिभामा लगानी कहिले गर्छ ? र पदक जितेपछि मात्रै सम्झिने होइन, पदक जित्नुअघि नै खेलाडीको साथमा राज्य कहिले उभिन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै