काठमाडौं । फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनलमा खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्वकपको ट्रफी उचाल्न पर्याप्त बन्यो । सन् २०१० मा पहिलो पटक विश्वकप जितेको १६ वर्षपछि स्पेनले फेरि विश्व फुटबलको सर्वोच्च उपाधिमा कब्जा जमाएको हो ।
खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम गर्यो। स्पेनले २० पटक गोलतर्फ प्रहार गर्दा अर्जेन्टिनाले निर्धारित समयभर प्रभावशाली अवसर सिर्जना गर्न सकेन ।
अर्जेन्टिनाको चुनौती इन्जुरी समयअघि झन् कमजोर बन्यो । एन्जो फर्नान्डेजले पाउ कुबार्सीमाथि गरेको खतरनाक ट्याकलका कारण दोस्रो पहेँलो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिए। त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले थप दबाब सिर्जना गर्यो ।
अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै निर्णायक क्षण आयो। पेड्रो पोरोको उत्कृष्ट क्रसलाई निको विलियम्सले हेडमार्फत फेरान टोरेसतर्फ मिलाइदिए । टोरेसले शक्तिशाली हाफ–भली प्रहार गर्दै गोलकिपर एमिलियानो मार्टिनेजलाई कुनै अवसर नै दिएनन् ।
खेल सकिएपछि केही समय दुवै टोलीका खेलाडीबीच सामान्य धकेलाधकेलको अवस्था सिर्जना भए पनि स्थिति छिट्टै सामान्य बनाइएको थियो । त्यसपछि स्पेनका खेलाडीहरूले उपविजेता पदक ग्रहण गर्न मञ्चतर्फ जाँदै गरेका अर्जेन्टिनी खेलाडीका लागि ‘गार्ड अफ अनर’ बनाएर उत्कृष्ट खेलभावनाको उदाहरण प्रस्तुत गरेका थिए ।
टोरेसको प्रतियोगिताकै पहिलो गोल नै स्पेनका लागि स्वर्णिम साबित भयो । यससँगै स्पेन दोस्रो पटक विश्वविजेता बन्न सफल भयो ।
यो उपाधिसँगै स्पेनले केही नयाँ कीर्तिमान पनि बनाएको छ । स्पेन लगातार युरोपियन च्याम्पियनसिप र विश्वकप जित्ने पहिलो राष्ट्र बनेको छ । साथै, एउटै विश्वकपमा केवल एक गोल मात्र व्यहोर्दै उपाधि जित्ने पहिलो टोलीको कीर्तिमान पनि स्पेनले आफ्नो नाममा लेखाएको छ ।
अर्कोतर्फ, ३९ वर्षीय लियोनल मेसीको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो । प्रतियोगिताभर आठ गोल र चार असिस्ट गरेका मेसी फाइनलमा भने स्पेनको सुदृढ रक्षापङ्क्ति तोड्न असफल भए ।
गोलकिपर एमिलियानो मार्टिनेजले ११ उत्कृष्ट बचाउ गरे पनि अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउन सकेनन् । सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिविहीन बन्नुपर्यो ।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टे ६५ वर्षको उमेरमा विश्वकप जिताउने सबैभन्दा पाका प्रशिक्षक बने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
- शिवशक्ति बाबा दुई अन्तर्राष्ट्रिय उपाधिबाट सम्मानित, सनातन धर्म प्रवर्द्धनमा योगदानको उच्च मूल्याङ्कन
- बजाजका मोटरसाइकलमा ईएमआई घट्यो, किस्ताको अवधि ५ वर्ष र ब्याजदर ८.९९ प्रतिशत कायम
- होन्डाले एयरब्याग सेफ्टी रिकलबारे निःशुल्क सेवा अभियान सञ्चालन गर्ने
- नेपाल लाइफले कायम गर्यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो
- पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसद्वारा एआई र साइबर सुरक्षासम्बन्धी कार्यशाला
- आईविबी किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
- गोल्डेनबुटमा एम्बाप्पेको कीर्तिमान, मेस्सी स्तब्ध

ट्रेन्डिङ
खबरमुकाम.jpeg)






