आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ । धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नपछि गर्नुपर्ने हुन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । यस अवधिलाई अपर पक्ष वा प्रेत पक्षका रूपमा समेत चिनिन्छ ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार ठूला चाडपर्व तथा यज्ञयागादि गर्नुअघि दिवङ्गत पितृलाई श्रद्धापूर्वक सम्झिने र तृप्तिका लागि श्राद्ध गर्ने प्रचलन छ । धार्मिक मान्यताअनुसार सोह्र श्राद्ध गर्दा पितृप्रतिको दायित्व पूरा हुने तथा पितृ ऋणबाट मुक्त भइने विश्वास गरिन्छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय विधान छ । जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध छोड्न नहुने उनको भनाइ छ ।

आफ्नो पिताको मृत्यु भएको तिथिमा श्राद्ध गर्नुपर्ने विधान रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । कुनै कारणले निर्धारित तिथिमा गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने विकल्प शास्त्रमा उल्लेख छ ।

त्यस अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने बताइएको छ । कार्तिक कृष्ण औँसीमा समेत सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने व्यवस्था धर्मसिन्धुमा उल्लेख रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिनमा रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत रहेको प्रा। डा। भट्टराईले बताए ।

यी विकल्पबाट पनि श्राद्ध गर्न नसकिएमा आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विधि रहेको उनको भनाइ छ । यस्तो जप विधिपूर्वक १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध पिताको तिथिमा अपराह्नकालमा नै गर्नुपर्नेमा कतिपय पुरोहितले आफ्नो सुविधाअनुसार बिहान श्राद्ध गर्न सुझाउने गरेको भए त्यो शास्त्रसम्मत नभएको बताएका छन् ।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । ठूला पर्व मनाउनुअघि पितृ तृप्तिका लागि श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेकाले दसैँअघि सोह्र श्राद्ध गर्ने गरिएको हो ।

यस वर्ष जेठ महिनामा अधिकमास परेका कारण सोह्र श्राद्धसँगै बडादसैँ पनि अघिल्ला वर्षको तुलनामा केही ढिला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै