शंकराचार्यको उपस्थितिमा भोलि लेटाङमा माँ कालीको प्राणप्रतिष्ठा समारोह हुँदै 

मोरङ । मोरङको लेटाङ नगरपालिका–९, जाँतेस्थित शिवशक्ति बाबा धाममा आइतबार भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने भएको छ । आशीर्वाद शिव शक्ति साधना केन्द्रको आयोजनामा हुने उक्त धार्मिक समारोह केन्द्रका अध्यक्ष तथा श्री श्री श्री महागुरु महाराज शिव शक्ति बाबाको सभापतित्वमा सम्पन्न हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्राणप्रतिष्ठा समारोहमा नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न राज्यबाट हजारौं भक्तजन, साधुसन्त, धर्मगुरु तथा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ । शंकराचार्यको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई शिवशक्ति बाबा धामको धार्मिक तथा आध्यात्मिक विकासको महत्वपूर्ण अवसरका रूपमा हेरिएको आयोजकको भनाइ छ ।

केन्द्रका अनुसार कार्यक्रमले धार्मिक अनुष्ठानसँगै नेपाल–भारतबीचको सनातन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । भारतबाट आउने तीर्थयात्रीहरूको सहभागिताले धामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आशीर्वाद शिव शक्ति साधना केन्द्रले शिवशक्ति बाबा धामलाई धार्मिक पर्यटन, योग, ध्यान, वैदिक शिक्षा तथा आध्यात्मिक साधनाको समन्वित केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ । धाम परिसरमा मन्दिर, ध्यानस्थल, यज्ञशाला, बगैंचा तथा विभिन्न देवी–देवताका मन्दिर निर्माणका साथै आवश्यक पूर्वाधार विस्तारको काम जारी रहेको संस्थाले जनाएको छ ।

प्राणप्रतिष्ठापछि धाममा नियमित पूजाआजा, विशेष आरती, धार्मिक प्रवचन, भजन–कीर्तन, योग तथा ध्यान शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ । यसबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आगमन बढ्ने र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।

धार्मिक समारोहले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको  छ। भक्तजन तथा पर्यटकको आगमनसँगै होटल, रेष्टुरेन्ट, यातायात, कृषि उत्पादन, हस्तकला तथा स्थानीय व्यापार–व्यवसायमा चलायमानता आउने स्थानीय व्यवसायीहरूको विश्वास छ । स्थानीयवासीले पनि शंकराचार्यको आगमनले जाँते क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

समारोहलाई लक्षित गर्दै धाम परिसरमा सजावट, सरसफाइ, सुरक्षा व्यवस्थापन, खानेपानी, विश्रामस्थल, पार्किङ तथा स्वास्थ्य सेवासहितका आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रममा वैदिक मन्त्रोच्चारण, विशेष पूजा, हवन, धार्मिक प्रवचन, भजन–कीर्तन तथा प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको छ ।

आयोजकका अनुसार सुरक्षा व्यवस्थापन, स्वयंसेवक परिचालन तथा अन्य व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग आवश्यक समन्वय भइरहेको छ ।

शिवशक्ति बाबा धामलाई भविष्यमा आध्यात्मिक अनुसन्धान, वैदिक शिक्षा, योग, ध्यान तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ । यसका लागि आगामी दिनमा धार्मिक सम्मेलन, आध्यात्मिक शिविर तथा अन्तर्राष्ट्रिय स्तरका धार्मिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने योजना समेत अघि सारिएको छ ।

आयोजकका अनुसार भोलि हुने माँ कालीको प्राणप्रतिष्ठा समारोह उक्त दीर्घकालीन अभियानको महत्वपूर्ण सुरुआत हुनेछ । कार्यक्रमले शिवशक्ति बाबा धामको धार्मिक महत्व अभिवृद्धि गर्नुका साथै मोरङको जाँते क्षेत्रलाई नेपालको उदीयमान धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै