नेपालले आज नामिबियासँग खेल्दै, विश्वकप छनोटको लक्ष्यमा दबाब

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः२५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा सम्पन्न पछिल्ला दुई शृंखलाका आठ खेलमध्ये ६ खेलमा जित निकाल्दै नेदरल्यान्ड्स पुगेको नेपाली टोली उच्च मनोबलमा छ । नेपाल आजको खेलमा पनि आफ्नो लयलाई निरन्तरता दिने योजनामा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नामिबियाबीच हालसम्म आठ खेल भएका छन् । जसमा नेपालले दुई खेल जित्दा पाँच खेलमा पराजय बेहोरेको छ भने एक खेल नतिजाविहीन भएको छ ।

नेपालले नामिबियाविरुद्ध पछिल्ला दुई खेलमा लगातार हार बेहोरेको थियो । सन् २०२४ मा घरेलु मैदानमा भएको शृंखलामा नेपाल चार विकेट र दुई विकेटले पराजित भएको थियो ।

विश्वकपमा सिधै ग्लोबल छनोटमा स्थान बनाउन नेपालमाथि अबका खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ । नेपालले बाँकी सबै आठ खेल जितेर मात्र पुग्ने अवस्था छैन । ग्लोबल छनोटमा पुग्न स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानका खेलको नतिजासमेत नेपालको पक्षमा आउनुपर्नेछ ।

अमेरिका ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । बाँकी तीन स्थानका लागि सात टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

हाल २८ खेलबाट २४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौँ स्थानमा छ । समान २८ खेल खेलेको नामिबिया २२ अंकसहित सातौँ स्थानमा रहेको छ ।

नेपाली टोलीः रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्सनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै