काठमाडौं । लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोलले पराजित गर्दै पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ । प्रतियोगिताको फाइनल आइतबार सम्पन्न भएको हो ।
आईविबी नेपालको आयोजनामा भएको प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीलाई लक्षित अन्तरविद्यालय फुटबल प्रतियोगिता थियो । फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल, क्याम्पियन स्कुललगायतका विद्यालय सहभागी थिए । आयोजकका अनुसार प्रतियोगिताले बाल खेलाडीलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र विश्वकपजस्तै अनुभव दिलाउने उद्देश्य राखेको थियो ।
फाइनल खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि लिटिल एन्जल्सले ३–२ को जित निकाल्दै ऐतिहासिक पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो । काष्ठमण्डप विद्यालय उपविजेतामा सीमित रह्यो ।
व्यक्तिगत विधातर्फ लिटिल एन्जल्स स्कुलका आशुतोष पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए भने काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाह उत्कृष्ट गोलरक्षक घोषित भए ।
समापन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी ले विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए । त्यस्तै मञ्चका प्रथम उपाध्यक्ष प्रज्वल ओली ले एमभीपी र उत्कृष्ट गोलरक्षकसहित उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले बालबालिकाको ग्रासरुट खेलकुद विकासका लागि यस्ता प्रतियोगिता अत्यन्त आवश्यक रहेको बताए ।
उनले भने, “हाम्रो देशका लागि यस्तो कार्यक्रम आवश्यक थियो । यो भविष्यका खेलाडी तयार गर्ने अभियान हो। यस्तो उत्कृष्ट प्रतियोगिता आयोजना गरेकोमा आईविबी नेपाललाई धन्यवाद दिन चाहन्छु ।”
उनले प्रतियोगितामा सहभागी सबै टोलीको प्रदर्शनको प्रशंसा गर्दै बाल खेलाडीहरूले देखाएको प्रतिभा, उत्साह र खेलभावनाले नेपाली फुटबलको भविष्यप्रति आशावादी बनाएको उल्लेख गरे ।
आईविबी किड्स कप २०२६ को उद्घाटन गत जुलाई ९ मा भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि प्रख्यात हवाई उड्डयनकर्मी तथा सेलिब्रिटी क्याप्टेन विजय लामाले युवा खेलाडीहरूलाई प्रेरित गर्दै उनीहरू भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतियोगिताको सफल समापनसँगै आयोजक आईविबी नेपालले बाल फुटबलको विकास, विद्यालयस्तरीय खेलकुद प्रवर्द्धन तथा खेलमार्फत नेतृत्व, आत्मविश्वास, मित्रता र निष्पक्ष खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुगेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






