भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट हालसम्म ६१६ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४५, तनहुँमा ३१, नुवाकोटमा ४१, गोरखामा ४८, चितवनमा २२२, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका १ हजार ६२२ र धादिङका तीन जना छन् ।

बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार बाढीमा परी सर्वसाधारणसहित हालसम्म २ हजार ३८१ जना सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै