काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिम बढेपछि केही स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने वीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।
यस्तै, कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुंगेखोलामा माथिबाट ढुंगा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहित ढुंगा–माटो खसेपछि अरनिको राजमार्गमा पनि यातायात ठप्प भएको छ ।
यता, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका घुमाउने, गिम्दी, बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि वीपी राजमार्गका विभिन्न खण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षाका कारण सडकको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
- विशाल रायमाझीको ‘हाइ सञ्चै’ सार्वजनिकः शब्द, संगीत र निर्देशन पनि आफ्नै
- एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णयप्रति भीम रावलको आपत्ति
- जगद्गुरु शिवशक्ति बाबा ‘अखण्ड भारत श्री श्री श्री १००८ सन्तस्वामी’ उपाधिबाट सम्मानित
- जलविरेमा दुई बस ठोक्किँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
- बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित, केही ठाउँमा राति सवारी सञ्चालन बन्द
- फ्रान्सलाई हराउँदै इङ्ग्ल्यान्ड विश्वकपको तेस्रो स्थानमा
- आज देशभर वर्षा, केही क्षेत्रमा अति भारी पानीको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम






