प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार मुलुकको अर्थतन्त्र, आगामी मौद्रिक नीति, पूँजी बजार र लगानी वातावरणका विषयमा विस्तृत छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयमा करिब एक घण्टा चलेको भेटवार्तामा प्रधानमन्त्री शाहले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिलाई समयसापेक्ष, लचिलो र लगानीमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले सेयर बजारको स्थायित्व कायम राख्दै उद्यमशीलता र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको तर्फ जोड दिएको बुझिएको छ ।

प्रधानमन्त्री शाहले सरकार र नेपाल राष्ट्र बैंकबीच प्रभावकारी समन्वय भए मात्र लगानीकर्ताको विश्वास बलियो बन्ने उल्लेख गर्दै पूँजी बजारमा आबद्ध लाखौँ लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

उनले मौद्रिक नीतिका लगानी निरुत्साहित गर्ने प्रावधानहरू पुनरावलोकन गरी सेयर बजारमा लगानीको वातावरण थप सहज बनाउन सुझाव दिए । साथै, स्वदेशमै उद्योग, व्यवसाय र रोजगारी विस्तार गर्न चाहने साना तथा ठूला उद्यमीलाई बिना झन्झट लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शाहले बैंकहरूको ब्याजदर र कर्जा प्रवाहलाई पनि उत्पादनमूलक क्षेत्रमैत्री बनाउन आग्रह गर्दै महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर आर्थिक गतिविधिमा सक्रिय बनाउने नीति आवश्यक रहेको बताए ।

भेटका क्रममा गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति व्यावसायिक, व्यवहारिक र समयअनुकूल हुने विश्वास दिलाए । उनले सरकारसँगको सहकार्यमा अर्थतन्त्रलाई गति दिने उद्देश्यका साथ राष्ट्र बैंक अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि क्षेत्रलाई अनावश्यक दबाब पर्ने वा त्रसित बनाउने नीति नआउने स्पष्ट पारे ।

गभर्नर पौडेलले पूँजी बजारका लगानीकर्तादेखि उद्योगी–व्यवसायीसम्म सबैलाई नीतिगत रूपमा सहजीकरण गर्दै लगानी र आर्थिक गतिविधि विस्तार गर्ने वातावरण निर्माणमा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै