आज पनि देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिक अवस्थित छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । साथै, पहाडी र तराईका विभिन्न स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहने मौसमविद्ले बताएका छन् । साथै, पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा तथा कोशीका पहाडी क्षेत्र र कोशी तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु र स्थानीयवासीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

विभागले मौसमको अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै