हिक्मतकुमार कार्की
मुख्य मन्त्री, कोशी प्रदेश
कोशी प्रदेश सरकारले वि. सं. २०८२ लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारमा तीव्रता आउने भएको छ । संसारकै शीर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवल कोशी प्रदेशमै रहेका छन् । विश्वका सर्वोच्च दश शिखरमध्ये पाँच शिखर मात्रै होइन संसारकै लोपोन्मुख अर्ना र रेडपाण्डाजस्ता जनावर पनि कोशी प्रदेशमै पाइन्छन् । यसर्थ पनि आन्तरिक र बाह्य दुवै पर्यटकका लागि कोशी प्रदेशको भ्रमण अवलोकनले फरक किसिमको आनन्द दिने गर्छ । पाथीभरा, हलेसी र बराहक्षेत्रजस्ता हिन्दू सभ्यताका पवित्र तीर्थस्थल मात्रै होइन साल्पा पोखरी र सिलिचुङजस्ता किराती सभ्यताका पवित्र तीर्थस्थल पनि कोशी प्रदेशमै छन् ।
कोशी प्रदेशका तिनै सांस्कृतिक र प्राकृतिक विविधताका बारेमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीसँग मुकामका लागि गरिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
कोशीका केही परम्परागत संस्कारहरू हराउँदैछन् । तिनको संरक्षण र पुनर्जीवनका लागि प्रदेश सरकारले कस्तो योजना ल्याएको छ ?
कोशी प्रदेश सरकारले स्थापना कालदेखि नै यहाँको धर्म संस्कृति र परम्पराको संरक्षण संवर्द्धन गर्दै आएको छ । सामाजिक विकास मन्त्रालयमार्फत कला धर्म संस्कृतिको संरक्षणमा काम गर्दै आएको छ । सीमित स्रोतसाधनका बीच हामीले विभिन्न ठाउँमा धार्मिक तथा सांस्कृतिक एवम् जातीय सङ्ग्रहालयहरू बनाउने गरी अध्ययनसमेत गरेका छौँ । यसका लागि केही काम सुरुवात पनि भएका छन् । हामी परम्परा, संस्कृति र विभिन्न जनजातिका संस्कार संरक्षण गर्नका लागि प्रयत्नशील छौँ ।

सगरमाथादेखि केचनासम्मको भौगोलिक विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कोशी प्रदेश सरकारको विशेष ‘ब्रान्डिङ रणनीति’ के छ ?
सगरमाथा र आसपासका हिमालहरू आफैँ अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डेड छन् । केन्द्रीय सरकारले यसको काम गरिरहेको छ । यसै सन्दर्भमा गतवर्ष भव्यतापूर्वक ‘सगरमाथा डे’ सम्पन्न गरियो । हिमाल आवरण गर्नेहरूलाई सम्मान गर्ने र त्यस क्षेत्रमा पूर्वाधार विकास गर्ने काम भइरहेको छ । हिमाल आरोहीका माध्यमबाट यस क्षेत्रको ब्रान्डिङ गर्ने काम भएको छ । केचनादेखि सगरमाथासम्म पर्ने विभिन्न पर्यटकीय क्षेत्रमा हामीले पूर्वाधार विकासलाई बिस्तारै अगाडि बढाइरहेका छौँ । पूर्वाधारको विकाससँगै पर्यटकको सङ्ख्या वृद्धि गर्दै जाने नीति लिएपछि त्यसका माध्यमबाट ब्रान्डिङ हुँदै जान्छ । त्यसका लागि हामी प्रचारप्रसारका कामलाई पनि अगाडि बढाउनेछौँ । कोशी पर्यटन वर्षकै अवसरमा छिमेकी मुलुकमा हाम्रो पर्यटन क्षेत्रका बारेमा प्रचारप्रसार गर्ने रणनीति हामीले लिएका छौँ । कोशी पर्यटन वर्ष २०८२ को अवसरमा विभिन्न पर्यटकीय क्षेत्रको ब्रान्डिङ गर्ने तयारीमा हामी छौँ । नीति निर्माण गर्दै संरचना बनाएर बलियो पूर्वाधार विकास गर्दै हामी पर्यटनको आधारशिला खडा गर्नेछौँ । यसको लागि यो पर्यटन वर्ष हाम्रो आधारविन्दु हुनेछ ।
प्रदेश सरकारले बनाएको नीति प्रभावकारी बनाउन र स्थानीय सरकारसम्म पुऱ्याउन अवरोध खडा गर्ने मुख्य चुनौती के हो ?
कोशी पर्यटन वर्ष २०८२ हामी सबैको साझेदारी सहकार्य एकता र समन्वयमा नै सम्पन्न गर्छौं । यसका लागि हामी स्थानीय सरकारसँगको समन्वयलाई तीव्र पार्छौं । हामीले गर्ने धेरै कामहरू स्थानीय सरकारको सहकार्यमा नै सम्पन्न गर्छौं । हामीले बनाउने नीति पर्यटन व्यवसायीलाई सहज हुने र स्थानीय सरकारलाई समेट्ने खालकै हुनेछन् । यसका लागि हामीले कतिपय कार्यविधि नियमावली र कानुनहरूमा संशोधनको प्रकृयासमेत अगाडि बढाएका छौँ । यसका माध्यमबाट हामी नीतिलाई प्रभावकारीरूपमा अगाडि बढाउनेछौँ । सङ्घीय सरकारबाट अवरोध भएका भए त्यसतर्फ पनि हाम्रो पहल हुनेछ । हामी सङ्घीय सरकारको समन्वय र पहलमा बङ्गलादेश, भूटान, चीन र भारतलगायतका मुलुकबाट पर्यटक भित्र्याउने छौँ । यसका लागि सङ्घ र प्रदेशको नीतिलाई प्रभावकारी बनाउन पहल गर्नेछौँ । यसमा आउने विभिन्न बाधा अवरोधलाई निरूपण गर्दै राजनीतिक प्रतिबद्धतासहित दलहरूलाई सँगसँगै लैजानेछौँ । पर्यटक प्रहरीको व्यवस्था गरेर विभिन्न देशबाट आउने पर्यटकलाई सहजीकरण गरिने नीति बनाइनेछ र यसका लागि प्रदेश सरकारले प्रदेश प्रहरीको समन्वयमा कामसमेत सुरु गरेको छ । पर्यटकलाई सहज गर्नका लागि भारतबाट आउने पर्यटकको गाडीमा स्टिकर टाँस्ने प्रबन्ध गरेर अघि बढिएको छ ।

यस वर्ष कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा कोशी प्रदेशका के कस्ता गन्तव्यहरू प्राथमिकतामा छन् ?
कोशी प्रदेश सरकारले २०८१ चैत्र २७ गते पर्यटकीय क्षेत्र तीनजुरे मिल्केबाट भव्यरूपमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गरिसकेको छ । हामीले बनाएको समितिले गन्तव्यहरू तय गरेको छ । हामीले ८२ वटा गन्तव्यलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ । धार्मिक पर्यटकीय क्षेत्रदेखि हाम्रा प्राकृतिक पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर गन्तव्य तय गरेका छौँ । पर्यटकलाई आकर्षित गर्ने धार्मिक र सांस्कृतिक महत्त्व भएको साथै प्राकृतिकरूपमा सुन्दर क्षेत्रलाई हामीले प्राथमिकतामा राखेर गन्तव्य तय गरेका हौँ । पहिलादेखि नै ब्रान्डिङ भएका सगरमाथा कन्चनजङ्घाजस्ता हिमाल त छँदैछन् । हामीले हाम्रो मौलिक धर्मको रूपमा रहेको किरात धर्मगुरूको पवित्र स्थल माङ्सेबुङलाई समेत जोडेर गन्तव्यलाई प्राथमिकतामा राखेका छौँ । बराहक्षेत्र, पाथीभरा, हलेसी, रामधुनी आदि धार्मिक पर्यटकीय क्षेत्र छँदैछन् ।

कोशीको पर्यटकीय क्षेत्र प्रायः मौसमी (सिजनल) छ । यसलाई वर्षभरि सक्रिय बनाउने प्रदेश सरकारको रणनीति के छ ?
प्राकृतिकरूपमा रहेका पर्यटकीय गन्तव्यहरू प्राय मौसमी नै हुन्छन् । हामीले मौसमअनुसार पर्यटकहरूलाई आकर्षण गर्न सक्नुपर्छ । सगरमाथामा सबै मौसममा पर्यटक ल्याउँछु भनेर सकिँदैन । हामीले समयअनुसारको पर्यटकीय क्षेत्रको गन्तव्यलाई प्रचारप्रसारमा ल्याउनुपर्छ । बाह्रै महिना पर्यटक आउन सक्ने क्षेत्र र सीमित अवधिको लागि आउने क्षेत्रका विषयमा हामीले प्रचारप्रसार गर्नुपर्दछ । बराहक्षेत्र, पाथीभरा, हलेसीजस्ता धार्मिक पर्यटकीय क्षेत्र बाह्रै महिना हामीले पर्यटकलाई आमन्त्रण गर्ने क्षेत्र हो । हाम्रा नजीकै रहेका झरना र सुन्दर पहाडमा हामी वर्षैभरि पर्यटक आकर्षित गर्न सक्छौँ । वर्षभरि सक्रिय बनाउनका लागि हामी पूर्वाधारमा पनि जोड दिँदै जानेछौँ । कतिपय क्षेत्रमा वर्षभरि नै पर्यटक पुग्न सक्दछन् । तर पूर्वाधारको अभावमा त्यहाँ जान नसक्ने अवस्था छ । यस्तो ठाउँमा हामी पूर्वाधारको विकास गरेर पर्यटक ल्याउन सक्छौँ । जलवायु परिवर्तनले निम्त्याएको समस्या कम गर्दै यी विषयवस्तुमा छलफल गरेर सबै मौसममा ठाउँअनुसार पर्यटन भित्र्याउने योजना ल्याउनेछौँ ।

कोशी प्रदेशका होमस्टे, धार्मिक पर्यटन र पर्यापर्यटनका सम्भावनाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ?
हाम्रोमा होमस्टेको अवधारणा धेरै पुरानो होइन । हामीले होमस्टेलाई प्रवर्द्धन गर्न तालिम दिने, नीति सजिलो बनाइदिने र उहाँहरूलाई त्यहाँको सांस्कृतिक र रहनसहनलाई जिवन्त बनाउनका लागि कार्यक्रम ल्याउने रणनीति बनाइनेछ । जुन ठाउँमा जुन जातिको बसोबास रहेको छ उनीहरूको जस्तो रितिरिवाज र परम्परा छ त्यसलाई जगेर्ना गर्न काम भइरहेका छन् र हुनेछन् । कोशी प्रदेश धार्मिक पर्यटनको अथाह सम्भावना भएको भएको क्षेत्र हो । बराहक्षेत्र, हलेसी पाथीभराको प्रचारप्रसार मात्र व्यापक रूपमा गर्न सक्यौँ भने हामीले यसका माध्यमबाट भारत भुटानलगायतका देशबाट लाखौँ पर्यटक भित्र्याउन सक्छौँ । यसका लागि मूलतः हाम्रा यी क्षेत्रको ब्रान्डिङ र प्रचारप्रसार नै हो । छिमेकी मुलुक भारतमा हिन्दू धर्मावलम्बीहरू धेरै छन् तीमध्ये केही प्रतिशत बराहक्षेत्र, हलेसी, पाथीभराजस्ता क्षेत्रमा भित्र्यायौँ भने मात्रै पनि हामी आर्थिक विकासमा अघि बढ्न सक्छौँ । पर्यटनको माध्यमबाट राष्ट्रिय पूँजीको विकाससमेत गर्न सक्छौँ । हाम्रो धार्मिक पर्यटन र पर्यापर्यटनको व्यापक सम्भावना छ । यसको प्रयोग पूर्वाधारको विकास प्रचारप्रसार र विदेशी भूमिबाट आउने पर्यटकलाई यहाँको वातावरण सुरक्षा र सहयोगी भावनाको विषयलाई स्थापित गर्नुपर्ने अवस्था छ ।

सांस्कृतिक संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । तर बजेटको साइज सानो हुने भएकाले चाहेको अनुपातमा काम गर्न सकिरहेका छैनन् । कोशी प्रदेश सरकारले स्थानीय सरकारलक्षित विशेष कार्यक्रम सञ्चालन गरेको छ कि छैन ?
कोशी प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा समेत पर्यटकीय क्षेत्रमा काम गर्न सुरू गरेको छ । हामीले यहाँको सांस्कृतिक परम्पराको संरक्षण र पहिचानलाई समेत स्थापित गर्ने गरी प्रदेशले आफ्नै नेतृत्वमा स्वि।सं। सरकारको सहयोगमा स्थानीय सरकारको साझेदारीमा समेत विभिन्न चारवटा पदमार्गहरूको निर्माण सुरु गरेका छौँ । २ अरब ३५ करोडको यो परियोजनामा २९ वटा पालिकालाई सँगसँगै लगेका छौँ । कोशी प्रदेश सरकार, स्वि।सं। सरकार र स्थानीय सरकारको साझेदारीमा काम भइरहेको छ । यसले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ ।
२०८५ सालसम्ममा सम्पन्न गर्ने गरी यो परियोजना सुरु भइसकेको छ । यो परियोजनाअन्तर्गत मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग निर्माण सुरु भएको छ । यसका माध्यमबाट यस क्षेत्रको धार्मिक सांस्कृतिक र परम्परागत संस्कारहरू संरक्षण हुने मात्रै होइन त्यस क्षेत्रका पुराना पूर्वाधारहरू समेत संरक्षण हुनेछन् । हामीले यसलाई ग्रेट हिमालय ट्रेलसँग जोड्ने लक्ष्यसमेत राखेका छौँ । लाखौँ रोजगारी सिर्जना हुनेछन् । यसका माध्यमबाट हामीले पहाडी क्षेत्रको बसाइँ सराइसमेत रोक्न सक्छौँ । यो हाम्रो पहाडी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा सावित हुनेछ ।
यसका साथै हामीले नयाँ गन्तव्यहरू पहिचान गरेर त्यसको विकास पनि गरिरहेका छौँ । स्थानीय सरकारसँग मिलेर हामीले काम गरिरहेका छौँ । स्थानीय सरकारलाई सँगसँगै लैजाने र उनीहरूका पर्यटनका योजनालाई पनि सहयोग गर्ने हाम्रो रणनीति छ । यसले गर्दा सहकार्य एकता र समन्वयका माध्यमबाट हाम्रो पर्यटन प्रवर्द्धन व्यापक हुनेछ । हामीले निजी क्षेत्रलाई पनि सँगसँगै अगाडि बढाएका छौँ । उहाँहरूको सहकार्यलाई व्यापक बनाउने प्रयत्न गरेका छौँ । यसका लागि विभिन्न समितिहरूमा निजी क्षेत्र र यसका सरोकारवालालाई समेटेर अघि बढिरहेका छौँ । सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर हामी पर्यटनबाट नै समृद्धिका लागि जग तयार गर्दैछौँ । यसरी हेर्दा हाम्रो पर्यटन प्रवर्द्धन र विकासका लागि हामीले काम गरिरहेकै छौँ ।
मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय



ट्रेन्डिङ
खबरमुकाम






