पर्यटनबाट समृद्घिको जग तयार पार्दैछौँ

हिक्मतकुमार कार्की

मुख्य मन्त्री, कोशी प्रदेश 

 

कोशी प्रदेश सरकारले वि. सं. २०८२ लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारमा तीव्रता आउने भएको छ । संसारकै शीर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवल कोशी प्रदेशमै रहेका छन् । विश्वका सर्वोच्च दश शिखरमध्ये पाँच शिखर मात्रै होइन संसारकै लोपोन्मुख अर्ना र रेडपाण्डाजस्ता जनावर पनि कोशी प्रदेशमै पाइन्छन् । यसर्थ पनि आन्तरिक र बाह्य दुवै पर्यटकका लागि कोशी प्रदेशको भ्रमण अवलोकनले फरक किसिमको आनन्द दिने गर्छ । पाथीभरा, हलेसी र बराहक्षेत्रजस्ता हिन्दू सभ्यताका पवित्र तीर्थस्थल मात्रै होइन साल्पा पोखरी र सिलिचुङजस्ता किराती सभ्यताका पवित्र तीर्थस्थल पनि कोशी प्रदेशमै छन् । 

कोशी प्रदेशका तिनै सांस्कृतिक र प्राकृतिक विविधताका बारेमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीसँग मुकामका लागि गरिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

कोशीका केही परम्परागत संस्कारहरू हराउँदैछन् । तिनको संरक्षण र पुनर्जीवनका लागि प्रदेश सरकारले कस्तो योजना ल्याएको छ ? 

कोशी प्रदेश सरकारले स्थापना कालदेखि नै यहाँको धर्म संस्कृति र परम्पराको संरक्षण संवर्द्धन गर्दै आएको छ । सामाजिक विकास मन्त्रालयमार्फत कला धर्म संस्कृतिको संरक्षणमा काम गर्दै आएको छ । सीमित स्रोतसाधनका बीच हामीले विभिन्न ठाउँमा धार्मिक तथा सांस्कृतिक एवम् जातीय सङ्ग्रहालयहरू बनाउने गरी अध्ययनसमेत गरेका छौँ । यसका लागि केही काम सुरुवात पनि भएका छन् । हामी परम्परा, संस्कृति र विभिन्न जनजातिका संस्कार संरक्षण गर्नका लागि प्रयत्नशील छौँ ।    

सगरमाथादेखि केचनासम्मको भौगोलिक विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कोशी प्रदेश सरकारको विशेष ‘ब्रान्डिङ रणनीति’ के छ ?

सगरमाथा र आसपासका हिमालहरू आफैँ अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डेड छन् । केन्द्रीय सरकारले यसको काम गरिरहेको छ । यसै सन्दर्भमा गतवर्ष भव्यतापूर्वक ‘सगरमाथा डे’ सम्पन्न गरियो । हिमाल आवरण गर्नेहरूलाई सम्मान गर्ने र त्यस क्षेत्रमा पूर्वाधार विकास गर्ने काम भइरहेको छ । हिमाल आरोहीका माध्यमबाट यस क्षेत्रको ब्रान्डिङ गर्ने काम भएको छ । केचनादेखि सगरमाथासम्म पर्ने विभिन्न पर्यटकीय क्षेत्रमा हामीले पूर्वाधार विकासलाई बिस्तारै अगाडि बढाइरहेका छौँ । पूर्वाधारको विकाससँगै पर्यटकको सङ्ख्या वृद्धि गर्दै जाने नीति लिएपछि त्यसका माध्यमबाट ब्रान्डिङ हुँदै जान्छ । त्यसका लागि हामी प्रचारप्रसारका कामलाई पनि अगाडि बढाउनेछौँ । कोशी पर्यटन वर्षकै अवसरमा छिमेकी मुलुकमा हाम्रो पर्यटन क्षेत्रका बारेमा प्रचारप्रसार गर्ने रणनीति हामीले लिएका छौँ । कोशी पर्यटन वर्ष २०८२ को अवसरमा विभिन्न पर्यटकीय क्षेत्रको ब्रान्डिङ गर्ने तयारीमा हामी छौँ । नीति निर्माण गर्दै संरचना बनाएर बलियो पूर्वाधार विकास गर्दै हामी पर्यटनको आधारशिला खडा गर्नेछौँ । यसको लागि यो पर्यटन वर्ष हाम्रो आधारविन्दु हुनेछ ।

प्रदेश सरकारले बनाएको नीति प्रभावकारी बनाउन र स्थानीय सरकारसम्म पुऱ्याउन अवरोध खडा गर्ने मुख्य चुनौती के हो ? 

कोशी पर्यटन वर्ष २०८२ हामी सबैको साझेदारी सहकार्य एकता र समन्वयमा नै सम्पन्न गर्छौं । यसका लागि हामी स्थानीय सरकारसँगको समन्वयलाई तीव्र पार्छौं । हामीले गर्ने धेरै कामहरू स्थानीय सरकारको सहकार्यमा नै सम्पन्न गर्छौं । हामीले बनाउने नीति पर्यटन व्यवसायीलाई सहज हुने र स्थानीय सरकारलाई समेट्ने खालकै हुनेछन् । यसका लागि हामीले कतिपय कार्यविधि नियमावली र कानुनहरूमा संशोधनको प्रकृयासमेत अगाडि बढाएका छौँ । यसका माध्यमबाट हामी नीतिलाई प्रभावकारीरूपमा अगाडि बढाउनेछौँ । सङ्घीय सरकारबाट अवरोध भएका भए त्यसतर्फ पनि हाम्रो पहल हुनेछ । हामी सङ्घीय सरकारको समन्वय र पहलमा बङ्गलादेश, भूटान, चीन र भारतलगायतका मुलुकबाट पर्यटक भित्र्याउने छौँ । यसका लागि सङ्घ र प्रदेशको नीतिलाई प्रभावकारी बनाउन पहल गर्नेछौँ । यसमा आउने विभिन्न बाधा अवरोधलाई निरूपण गर्दै राजनीतिक प्रतिबद्धतासहित दलहरूलाई सँगसँगै लैजानेछौँ । पर्यटक प्रहरीको व्यवस्था गरेर विभिन्न देशबाट आउने पर्यटकलाई सहजीकरण गरिने नीति बनाइनेछ र यसका लागि प्रदेश सरकारले प्रदेश प्रहरीको समन्वयमा कामसमेत सुरु गरेको छ । पर्यटकलाई सहज गर्नका लागि भारतबाट आउने पर्यटकको गाडीमा स्टिकर टाँस्ने प्रबन्ध गरेर अघि बढिएको छ । 


 

यस वर्ष कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा कोशी  प्रदेशका के कस्ता गन्तव्यहरू प्राथमिकतामा छन् ?

कोशी प्रदेश सरकारले २०८१ चैत्र २७ गते पर्यटकीय क्षेत्र तीनजुरे मिल्केबाट भव्यरूपमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गरिसकेको छ । हामीले बनाएको समितिले गन्तव्यहरू तय गरेको छ । हामीले ८२ वटा गन्तव्यलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौँ । धार्मिक पर्यटकीय क्षेत्रदेखि हाम्रा प्राकृतिक पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर गन्तव्य तय गरेका छौँ । पर्यटकलाई आकर्षित गर्ने धार्मिक र सांस्कृतिक महत्त्व भएको साथै प्राकृतिकरूपमा  सुन्दर क्षेत्रलाई हामीले प्राथमिकतामा राखेर गन्तव्य तय गरेका हौँ । पहिलादेखि नै ब्रान्डिङ भएका सगरमाथा कन्चनजङ्घाजस्ता हिमाल त छँदैछन् । हामीले हाम्रो मौलिक धर्मको रूपमा रहेको किरात धर्मगुरूको पवित्र स्थल माङ्सेबुङलाई समेत जोडेर गन्तव्यलाई प्राथमिकतामा राखेका छौँ । बराहक्षेत्र, पाथीभरा, हलेसी, रामधुनी आदि धार्मिक पर्यटकीय क्षेत्र छँदैछन् ।

कोशीको पर्यटकीय क्षेत्र प्रायः मौसमी  (सिजनल) छ । यसलाई वर्षभरि सक्रिय बनाउने प्रदेश सरकारको रणनीति के छ ?

प्राकृतिकरूपमा रहेका पर्यटकीय गन्तव्यहरू प्राय मौसमी नै हुन्छन् । हामीले मौसमअनुसार पर्यटकहरूलाई आकर्षण गर्न सक्नुपर्छ । सगरमाथामा सबै मौसममा पर्यटक ल्याउँछु भनेर सकिँदैन । हामीले समयअनुसारको पर्यटकीय क्षेत्रको गन्तव्यलाई प्रचारप्रसारमा ल्याउनुपर्छ । बाह्रै महिना पर्यटक आउन सक्ने क्षेत्र र सीमित अवधिको लागि आउने क्षेत्रका विषयमा हामीले प्रचारप्रसार गर्नुपर्दछ । बराहक्षेत्र, पाथीभरा, हलेसीजस्ता धार्मिक पर्यटकीय क्षेत्र बाह्रै महिना हामीले पर्यटकलाई आमन्त्रण गर्ने क्षेत्र हो । हाम्रा नजीकै रहेका झरना र सुन्दर पहाडमा हामी वर्षैभरि पर्यटक आकर्षित गर्न सक्छौँ । वर्षभरि सक्रिय बनाउनका लागि हामी पूर्वाधारमा पनि जोड दिँदै जानेछौँ । कतिपय क्षेत्रमा वर्षभरि नै पर्यटक पुग्न सक्दछन् । तर पूर्वाधारको अभावमा त्यहाँ जान नसक्ने अवस्था छ । यस्तो ठाउँमा हामी पूर्वाधारको विकास गरेर पर्यटक ल्याउन सक्छौँ । जलवायु परिवर्तनले निम्त्याएको समस्या कम गर्दै यी विषयवस्तुमा छलफल गरेर सबै मौसममा ठाउँअनुसार पर्यटन भित्र्याउने योजना ल्याउनेछौँ । 

कोशी प्रदेशका होमस्टे, धार्मिक पर्यटन र पर्यापर्यटनका सम्भावनाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ?

हाम्रोमा होमस्टेको अवधारणा धेरै पुरानो होइन । हामीले होमस्टेलाई प्रवर्द्धन गर्न तालिम दिने, नीति सजिलो बनाइदिने र उहाँहरूलाई त्यहाँको सांस्कृतिक र रहनसहनलाई जिवन्त बनाउनका लागि कार्यक्रम ल्याउने रणनीति बनाइनेछ । जुन ठाउँमा जुन जातिको बसोबास रहेको छ उनीहरूको जस्तो रितिरिवाज र परम्परा छ त्यसलाई जगेर्ना गर्न काम भइरहेका छन् र हुनेछन् । कोशी प्रदेश धार्मिक पर्यटनको अथाह सम्भावना भएको भएको क्षेत्र हो । बराहक्षेत्र, हलेसी पाथीभराको प्रचारप्रसार मात्र व्यापक रूपमा गर्न सक्यौँ भने हामीले यसका माध्यमबाट भारत भुटानलगायतका देशबाट लाखौँ पर्यटक भित्र्याउन सक्छौँ । यसका लागि मूलतः हाम्रा यी क्षेत्रको ब्रान्डिङ र प्रचारप्रसार नै हो । छिमेकी मुलुक भारतमा हिन्दू धर्मावलम्बीहरू धेरै छन् तीमध्ये केही प्रतिशत बराहक्षेत्र, हलेसी, पाथीभराजस्ता क्षेत्रमा भित्र्यायौँ भने मात्रै पनि हामी आर्थिक विकासमा अघि बढ्न सक्छौँ । पर्यटनको माध्यमबाट राष्ट्रिय पूँजीको विकाससमेत गर्न सक्छौँ । हाम्रो धार्मिक पर्यटन र पर्यापर्यटनको व्यापक सम्भावना छ । यसको प्रयोग पूर्वाधारको विकास प्रचारप्रसार र विदेशी भूमिबाट आउने पर्यटकलाई यहाँको वातावरण सुरक्षा र सहयोगी भावनाको विषयलाई स्थापित गर्नुपर्ने अवस्था छ । 

सांस्कृतिक संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । तर बजेटको साइज सानो हुने भएकाले चाहेको अनुपातमा काम गर्न सकिरहेका छैनन् । कोशी प्रदेश सरकारले स्थानीय सरकारलक्षित विशेष कार्यक्रम सञ्चालन गरेको छ कि छैन ?

कोशी प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा समेत पर्यटकीय क्षेत्रमा काम गर्न सुरू गरेको छ । हामीले यहाँको सांस्कृतिक परम्पराको संरक्षण र पहिचानलाई समेत स्थापित गर्ने गरी प्रदेशले आफ्नै नेतृत्वमा स्वि।सं। सरकारको सहयोगमा स्थानीय सरकारको साझेदारीमा समेत विभिन्न चारवटा पदमार्गहरूको निर्माण सुरु गरेका छौँ । २ अरब ३५ करोडको यो परियोजनामा २९ वटा पालिकालाई सँगसँगै लगेका छौँ । कोशी प्रदेश सरकार, स्वि।सं। सरकार र स्थानीय सरकारको साझेदारीमा काम भइरहेको छ । यसले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ ।

२०८५ सालसम्ममा सम्पन्न गर्ने गरी यो परियोजना सुरु भइसकेको छ । यो परियोजनाअन्तर्गत मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग निर्माण सुरु भएको छ । यसका माध्यमबाट यस क्षेत्रको धार्मिक सांस्कृतिक र परम्परागत संस्कारहरू संरक्षण हुने मात्रै होइन त्यस क्षेत्रका पुराना पूर्वाधारहरू समेत संरक्षण हुनेछन् । हामीले यसलाई ग्रेट हिमालय ट्रेलसँग जोड्ने लक्ष्यसमेत राखेका छौँ । लाखौँ रोजगारी सिर्जना हुनेछन् । यसका माध्यमबाट हामीले पहाडी क्षेत्रको बसाइँ सराइसमेत रोक्न सक्छौँ । यो हाम्रो पहाडी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा सावित हुनेछ ।

यसका साथै हामीले नयाँ गन्तव्यहरू पहिचान गरेर त्यसको विकास पनि गरिरहेका छौँ । स्थानीय सरकारसँग मिलेर हामीले काम गरिरहेका छौँ । स्थानीय सरकारलाई सँगसँगै लैजाने र उनीहरूका पर्यटनका योजनालाई पनि सहयोग गर्ने हाम्रो रणनीति छ । यसले गर्दा सहकार्य एकता र समन्वयका माध्यमबाट हाम्रो पर्यटन प्रवर्द्धन व्यापक हुनेछ । हामीले निजी क्षेत्रलाई पनि सँगसँगै अगाडि बढाएका छौँ । उहाँहरूको सहकार्यलाई व्यापक बनाउने प्रयत्न गरेका छौँ । यसका लागि विभिन्न समितिहरूमा निजी क्षेत्र र यसका सरोकारवालालाई समेटेर अघि बढिरहेका छौँ । सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर हामी पर्यटनबाट नै समृद्धिका लागि जग तयार गर्दैछौँ । यसरी हेर्दा हाम्रो पर्यटन प्रवर्द्धन र विकासका लागि हामीले काम गरिरहेकै छौँ ।

मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै