मन्त्री, वन तथा वातावरण मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल ।
कर्णालीको पर्यटन सम्भावनालाई हेर्ने दृष्टिकोण नै बहुआयामिक हुनुपर्छ । कर्णालीको पर्यटनलाई दुई प्रमुख तहबाट हेर्नुपर्छ । पहिलो, आँखाले देख्न सकिने मूर्त अर्थात् प्राकृतिक सम्पदाः दोस्रो, अनुभूति र अनुभवमा आधारित अमूर्त सांस्कृतिक सम्पदा । कर्णालीबारे बाहिर धेरै कुरा लेखिएको छ, बोलिएको छ, तर ती लेखन र भाष्यहरूमा कर्णालीको आत्मा, अनुभूति र यथार्थ पर्याप्त रूपमा प्रतिविम्बित भएको पाइँदैन । कर्णालीबारे जे जति सुनिनुपर्थ्यो, त्यो कम सुनिएकोस जे जति देखिनुपर्थ्यो, त्यो अधुरो देखाइएको अनुभूति फेर्नुपर्छ ।

कर्णाली प्रदेशका यिनै मूर्त र अमूर्त सम्पदामा आधारित रहेर माननीय वन तथा वातावरण मन्त्री तथा लामो समयदेखि कर्णालीलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ भनी लागिरहेका माधवप्रसाद चौलागाईंसँग मुकामका लागि नरेन्द्रराज भट्टराईले कर्णाली प्रदेशका राराताल, से(फोक्सुण्डो ताल, लिमी भ्याली, सिञ्जा क्षेत्र, कनकासुन्दरी, त्रिपुरासुन्दरी, गिडी दह र स्यार्पो तालजस्ता पर्यटकीय गन्तव्यलगायत विषय समेटेर लिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

हामीले तपाईंलाई सर्वप्रथम ‘सपादलक्ष्य कर्णाली’का लेखक तथा ‘जुरुक्क कर्णाली’ गीतमार्फत चिनेका हौँ । त्यसपछि कर्णाली र समग्र प्रणालीको उन्नति, प्रगति र रूपान्तरणका लागि निरन्तर आवाज उठाउने अभियन्ताका रूपमा पनि चिनिरहेका छौँ । ‘जुरुक्क कर्णाली’ गीत र ‘सपादलक्ष्य कर्णाली’ पुस्तक लेख्नुको पृष्ठभूमि के हो ? यी सिर्जनाका क्रममा कस्ता अप्ठ्याराहरू भोग्नुपर्यो ?
यी दुवै सिर्जना कर्णालीसँग अभिन्न रूपमा जोडिएका विषय हुन् । म कर्णालीमै जन्मिएको, हुर्किएको र यही भूगोलमा जीवनका धेरै अनुभव बटुलेको मान्छे भएकाले पनि मलाई कर्णालीकै सन्दर्भबाट चिनिनुमा आनन्द अनुभूत हुन्छ । वास्तवमा, म पनि कर्णालीको मान्छे भएकाले कर्णालीले आफूलाई चिनून् भन्ने चाहना नै मेरा सिर्जनाको मूल प्रेरणा हो । ‘सपादलक्ष्य कर्णाली’ मेरो पहिलो पुस्तक हो । यो पुस्तक लेख्नुको पछाडि गहिरो पृष्ठभूमि छ । कर्णालीबारे बाहिर धेरै कुरा लेखिएको छ, बोलिएको छ, तर ती लेखन र भाष्यहरूमा कर्णालीको आत्मा, अनुभूति र यथार्थ पर्याप्त रूपमा प्रतिविम्बित भएको पाइँदैन । कर्णालीबारे जे जति सुनिनुपर्थ्यो, त्यो कम सुनिएकोः जे जति देखिनुपर्थ्यो, त्यो अधुरो देखाइएको अनुभूति मलाई सधैँ भइरहन्थ्यो ।

कर्णालीमै हुर्कँदा भोगिएका कठिनाइ, सङ्घर्ष, सम्भावना र आशाका अनुभूतिहरू मेरो मनमा गहिरिएर बसेका थिए । त्यसपछि बाहिर गएर अध्ययन गर्दा, विभिन्न सञ्चारमाध्यम हेर्दा वा अरू क्षेत्रका मानिससँग संवाद गर्दा, कर्णालीलाई हेर्ने दृष्टिकोणहरू धेरैजसो बाहिरी नजरबाट बनेका देखिए । ती दृष्टिकोणहरू पूर्ण रूपमा गलत त होइनन्, तर अधुरा अवश्य छन् । मलाई लाग्यो( कर्णालीलाई कर्णालीकै भाषामा, कर्णालीकै अनुभव र संवेदनाबाट बोलिनु आवश्यक छ । कर्णालीका मुद्दा, पीडा, सम्भावना र मौलिकता कर्णालीकै शब्दमा अभिव्यक्त हुनुपर्छ ।
यसै सोचका कारण म निरन्तर कर्णाली केन्द्रित लेखनमा लागेँ । समयक्रममा लेखिएका लेख, विचार र विश्लेषणहरू एक सङ्ग्रहको रूपमा सङ्गठित हुँदै गए र अन्ततः पुस्तकको रूप लिन पुगे- त्यही हो ‘सपदालक्ष्य कर्णाली’ । यो पुस्तक लेख्दा मैले कर्णालीलाई झन् गहिराइमा बुझ्न पाएँ । अध्ययन, अनुसन्धान र आत्ममन्थनको यात्राले मलाई कर्णालीप्रति झन् जिम्मेवार बनायो । यही यात्राको अर्को अभिव्यक्ति ‘जुरुक्क कर्णाली’ गीत हो ।
‘जुरुक्क कर्णाली’ कुनै एक क्षणमा जन्मिएको गीत होइन । म कर्णालीमै जन्मेर हुर्कँदा देखेको कर्णाली, कर्णाली बाहिर गएर देखेको संसार र देशका अन्य भूभागसँग गरिएको तुलना- यी सबैको समष्टिगत प्रतिध्वनि हो यो गीत । कर्णाली जे हुन सक्थ्यो, जे हुनुपर्ने थियो, तर जे हुन सकेन- त्यही अपूरोपन, पीडा र आकांक्षाको स्वर यसमा छ । यसलाई केवल दुःखको गीतका रूपमा मात्र बुझ्नु गलत हुन्छ । यहाँ मैले कहिल्यै कष्ट महसुस नै गरिनँ- रोमाञ्चित नै भएँ । यो मेरो लागि रोमाञ्चक र प्रेरणादायी अभ्यास पनि थियो । अध्ययन गर्दै जाँदा कर्णालीलाई अझ नजिकबाट बुझ्ने मौका मिल्यो, कर्णाली झन् विशिष्ट र मौलिक लागिरह्यो । त्यसैले यसलाई कठिनाइभन्दा बढी मैले रोमाञ्चक र प्रेरणादायी अनुभवका रूपमा लिएको छु ।

तपाईं निरन्तर कर्णालीका पर्यटकीय सम्भावनाबारे बोलिरहनु हुन्छ । तपाईंको दृष्टिमा कर्णालीका प्रमुख १० वटा सम्भावनायुक्त पर्यटकीय क्षेत्र वा गन्तव्यहरू कुन–कुन हुन् ?
कर्णालीको पर्यटन सम्भावनालाई हेर्ने दृष्टिकोण नै बहुआयामिक हुनुपर्छ । म प्रायः भन्छु- कर्णालीको पर्यटनलाई दुई प्रमुख तहबाट हेर्नुपर्छ । पहिलो, आँखाले देख्न सकिने मूर्त अर्थात् प्राकृतिक सम्पदाः दोस्रो, अनुभूति र अनुभवमा आधारित अमूर्त सांस्कृतिक सम्पदा । मूर्त सम्पदाको कुरा गर्दा कर्णालीमा देशकै अत्यन्त महत्वपूर्ण प्राकृतिक गन्तव्यहरू छन् । उदाहरणका लागि, यहाँ रहेका तालहरू नै हेरौँ । जुम्लाको गिडी दह, जो कर्णालीकै तेस्रो ठूलो ताल होः जुम्लाकै कुपिण दह, जुन देशकै चौथो ठूलो तालका रूपमा चिनिन्छ, सल्यानको स्यार्पो ताल, रुकुम क्षेत्रका विभिन्न तालहरू- यी सबै कर्णालीका अनुपम पहिचान हुन् । यिनीसँगै अत्यन्त उच्च भूभागमा रहेका आकाशी तथा हिमनदीय तालहरूले कर्णालीलाई अझ विशिष्ट बनाएका छन् ।
त्यस्तै कर्णालीका नदी, तिनका फाँट, खोँच र भौगोलिक संरचना आफैँमा ठूलो आकर्षण हुन् । कर्णाली केवल प्राकृतिक सौन्दर्यको खानी मात्र होइन, अमूर्त सांस्कृतिक सम्पदाको पनि ठूलो भण्डार हो । यहाँका संस्कृति, रहनसहन, बोलिचालि र जीवनशैली नै छुट्टै पहिचान बोकेका छन् । ऐतिहासिक दृष्टिले कर्णाली नेपाली सभ्यता र पहिचानको उद्गमस्थल हो । सिञ्जा उपत्यका- जहाँ खस भाषा, संस्कृति र राज्य व्यवस्थाको विकास भयो । यो नेपाली पहिचानको महत्वपूर्ण आधार हो ।

यसैगरी अपर डोल्पा, हुम्लाको लिमी भ्याली, सुर्खेत भ्यालीका सांस्कृतिक आयाम, खस साम्राज्यसँग जोडिएका दुल्लु र सिञ्जा क्षेत्र, कनकासुन्दरी तथा डोल्पाकी त्रिपुरा सुन्दरीजस्ता शक्ति पीठहरू– यी सबै अत्यन्त महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । त्यसका अलवा छायानाथा धाम, खेस्म मालिका माई , ऋणीमक्ष दह कर्णाली प्रदेहका छुटाउनै नहुने पर्यटकीय गन्तव्यहरू हुन् । त्यसैले कर्णालीलाई केवल ‘१० वटा ठाउँ’मा सीमित गर्न सकिँदैन । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले हेर्दा यहाँ सम्भावनाका अनेक आयाम छन् ।
सिञ्जा उपत्यका, रारा, फोक्सुण्डो जस्ता क्षेत्र अहिले केही हदसम्म चिनिएका छन् । तर अन्तर्राष्ट्रिय पर्यटन बजारमा तिनीहरूलाई चिनाउने सन्दर्भमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकार चुकेका छन् भन्ने लाग्दैन ?
स्थानीय सरकार स्थापना भएपछि संरक्षण र प्रवर्द्धन सुदृढ हुन्छ भन्ने अपेक्षा थियो । तर व्यवहारमा कतिपय स्थानमा संरक्षणभन्दा पनि पहिचान खुम्चँदै गएको देखिन्छ । यसको मुख्य कारण प्रशासनिक र राजनीतिक विभाजन हो । गाउँपालिका–नगरपालिका, जिल्ला र प्रदेशका सीमाहरू छन्, तर सांस्कृतिक र पर्यटकीय गन्तव्यहरूको आयाम ती सीमाभन्दा धेरै ठूलो हुन्छ ।
सांस्कृतिक र ऐतिहासिक सम्पदालाई कुनै एक प्रशासनिक एकाइमा सीमित गरेर व्यवस्थापन गर्न खोज्दा समस्या उत्पन्न हुन्छ । यस्ता गन्तव्यलाई हेर्ने र व्यवस्थापन गर्ने अधिकार तथा संरचना बृहत्तर तहमा हुनुपर्छ । साना–साना टुक्रामा बाँडेर हेर्दा न त ती सम्पदा सुरक्षित हुन्छन्, न त प्रभावकारी रूपमा प्रवर्द्धन नै गर्न सकिन्छ । यस अर्थमा अहिलेको संरचना पूर्णरूपमा प्रभावकारी भएको देखिँदैन ।

तर आजको युगमा पर्यटन प्रवर्द्धन केवल सरकारको जिम्मेवारी मात्र होइन । सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र ‘वर्ड अफ माउथ’ले पनि ठूलो भूमिका खेलेका छन् । मानिसहरू आफैँ यात्रा गरेर, आफ्नो अनुभव सेयर गरेर कर्णालीका गन्तव्यहरूको प्रचार गरिरहेका छन् । यही कारण अहिले कर्णालीमा ट्रेकिङ, प्राकृतिक अवलोकन र सांस्कृतिक अनुभवका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप बढ्न थालेको छ । धार्मिक पर्यटनको हिसाबले पनि कर्णालीको महत्त्व बढ्दो छ, किनकि धेरै मानिसहरू आफ्नो मस्टो, कुलदेवता र पैत्रिक भूमिसँग जोडिन कर्णाली फर्किरहेका छन् । साथै, ऐतिहासिक रूपमा कैलाश( मानसरोवर जाने मार्ग पनि कर्णाली भएकाले यसको बहुआयामिक पर्यटन सम्भावना स्पष्ट देखिन्छ ।
मस्टो, कुलपूजा लगायतका सन्दर्भमा कर्णालीको सांस्कृतिक र ऐतिहासिक विशेषता कसरी चिनाउनु हुन्छ ?
ऐतिहासिक दृष्टिले कर्णाली कुनै बेला सशक्त र सङ्गठित शासन प्रणाली रहेको भूभाग हो । करिब ११औँदेखि १३औँ शताब्दीसम्म यहाँ खस साम्राज्यको शासन थियो । साम्राज्य र सभ्यता एकअर्कासँग गाँसिएका हुन्छन् । यही कालखण्डमा भाषा, संस्कृति, सामाजिक संरचना र आस्थाका विविध रूप विकसित भए, जसको प्रभाव पछि देशका अन्य भूभागमा पनि फैलियो ।
मस्टो संस्कृति यसै सभ्यताको मूल आधार हो । खस आर्य समुदाय( जो आज संसारभर फैलिएका छन्, तिनका लागि मस्टो र कुलदेवताको आस्था कर्णालीसँग गहिरो रूपमा जोडिएको छ । १२ भाइ मस्टोको परम्परा, तिनसँग सम्बन्धित पूजाविधि र मौलिक संस्कार आज पनि जीवित छन् । यही कारण कर्णाली सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्त समृद्ध छ ।

कर्णालीमा पर्यटक आकर्षित गर्न कस्ता किसिमका पर्यटन प्याकेजहरू विकास गर्नुपर्ला ?
अहिले धेरै पर्यटक स्वतःस्फूर्त रूपमा कर्णाली आइरहेका छन् । तर सही सूचना, यातायात, बास र सुरक्षा व्यवस्थाको अभावले कतिपयलाई अन्योल हुन्छ । बाह्य पर्यटकका लागि सुरक्षित, सहज र विश्वसनीय संयन्त्र विकास गर्न आवश्यक छ । हाल काठमाडौँबाट रारा, फोक्सुण्डो, हुम्ला- लिमी, अपर डोल्पाजस्ता प्याकेजहरू सञ्चालनमा छन् । लङ ट्रेकिङ, सोलो ट्रेकिङ, साहसिक यात्रा र उच्च उचाइका खेलकुद पर्यटनको सम्भावना पनि विस्तारै बढ्दैछ । भारतबाट आउने पर्यटकलाई लक्षित गरी नेपालगञ्ज-हुम्ला हुँदै कैलाश-मानसरोवर जाने मार्ग पनि लोकप्रिय बन्दै गएको छ ।

कर्णालीको पर्वतीय र इकोटुरिजमको सम्भावना कस्तो देख्नुहुन्छ ?
इकोटुरिजम कर्णालीको सबैभन्दा सम्भावनायुक्त तर कम उपयोग भएको क्षेत्र हो । यहाँका साना तथा मध्यम हिमालहरू पर्वतारोहण अभ्यासका लागि उत्कृष्ट छन् । यिनलाई प्रशिक्षण केन्द्रका रूपमा प्रयोग गरी कर्णालीकै युवालाई दक्ष गाइड र पर्वतारोहीका रूपमा विकास गर्न सकिन्छ । यदि प्रतिबन्धित क्षेत्रहरू व्यवस्थित रूपमा खुला गरियो भने पर्वतीय, पर्यावरणीय र सांस्कृतिक पर्यटन एकैसाथ फस्टाउन सक्छ ।
कर्णाली ‘बिकट र गरिब’ हो कि ‘सम्पन्न’ ?
कर्णाली स्वभाविक रूपमा न त बिकट हो, न त गरिब । बिकटता पहुँचसँग सम्बन्धित विषय हो । आज प्रविधि र स्रोतसाधनको युगमा भूगोलले भाग्य निर्धारण गर्दैन । समस्या राज्यको दृष्टिकोण र पूर्वाधारको अभाव हो । यदि आवश्यक पूर्वाधार निर्माण भयो भने कर्णालीको समृद्धि सम्भव छ ।
पर्यटन बढ्दै जाँदा वातावरणीय समस्या पनि देखिन थालेका छन् । यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
कर्णाली अब नेपालीहरूको आगामी प्रमुख पर्यटकीय गन्तव्य बन्दैछ । त्यसैले अहिले नै सचेत हुनुपर्छ । यसका लागि सरकार, व्यवसायी, स्थानीय समुदाय र नागरिक समाज सबैको साझा जिम्मेवारी छ । सचेतना, शिक्षा र कडा व्यवस्थापनमार्फत समस्या समाधान गर्न सकिन्छ ।
अन्त्यमा तपाईंको मुख्य सन्देश के हो ?
कर्णालीको भविष्य पर्यटनसँग जोडिएको छ । तर पर्यटन सफल बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष ‘हस्पिटालिटी’ हो । दृश्य क्षणिक हुन्छ, तर आतिथ्य दीर्घकालीन सम्झना बन्छ । यदि कर्णालीमा न्यानो आतिथ्य संस्कार विकास गर्न सकियो भने पर्यटकले यहाँलाई सधैँ ‘घरजस्तै अनुभूति’ गर्नेछन् । यही मेरो मूल सन्देश हो । धन्यवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
- पञ्चकोट सर्किटः ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल
- अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप
- पर्यटकीय गन्तव्य बन्दै भर्जन कालिका मन्दिर
- संसारकोटमा एक करोडभन्दा बढी लगानीमा पर्यटकीय संरचना निर्माण
- बुद्धकालीन रामग्राम र पण्डितपुर स्थल ओझेलमाः संरक्षण र प्रचारको अभाव
- पहाडकी रानी बन्दीपुरको नालिबेलीः के छ बन्दीपुरमा ?


ट्रेन्डिङ
खबरमुकाम



.jpg)


