कोशी भ्रमण वर्ष २०८२ होमस्टे व्यवस्थापन तथा प्रचारप्रसारमा सहयोग पुऱ्याउने छ

कोशी प्रदेश सरकाले होमस्टेहरूको दर्ता लगायत अन्य नियमन गर्नका लागि होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ । जसअनुसार कोशी प्रदेशमा निजी तथा सामुदायिक स्तरबाट होमस्टे सञ्चालनका लागि पर्यटन, वन तथा वातावरण मन्त्रालयले तोकेको पर्यटन कार्यालयहरूमा होमस्टे दर्ता गरेर मात्र सञ्चालन गर्न पाइन्छ ।

तर दुरदराज गाउँमा सञ्चालन भएका अधिकांश होमस्टेहरू दर्ता नगरी सञ्चालनमा रहेको पाइन्छ । यसमा केही जटिलताहरू रहेका छन् ।दर्ता नगरी सञ्चालन भएका होमस्टेहरूको अभिमुखीकरण गर्ने र तिनीहरूलाई दर्ता प्रकृयामा ल्याउनका निम्ति सरकारले निरन्तर पहल गरिरहेको छ । दर्ता प्रकृयामा नआएका कारण सरकारी तवरबाट प्राप्त गर्ने सुविधाहरूबाट समेत वञ्चित हुनुपरेको  छन् ।

कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । यस अवसरमा, होमस्टे व्यवसायले प्रचार- प्रसार र प्रवर्द्धनमा एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । कोशी प्रदेशको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई प्रचार गर्नका लागि होमस्टे एक प्रमुख माध्यम बन्न सक्छ । ग्रामीण जीवनको आतिथ्य एवम् खानपान संसारभर फैलाउनका निम्ति होमस्टेहरूको प्रमुख भूमिका हुन सक्छ ।

स्थानीय समुदायलाई सशक्त बनाउँदै, पर्यटन उद्योगमा नयाँ सम्भावनाहरू सिर्जना गर्छ । यसै सिलसिलामा होमस्टे महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलादेवी भट्टराईसँग मुकामका लािग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

कोशी प्रदेशमा होमस्टे व्यवसायको विकासको अवस्था कस्तो छ  ?

सुरुवाती चरणमा हेर्ने हो भने कोशी प्रदेशका होमस्टे केही बढेको छ ।  भएका होमस्टेको स्तर उन्नति भएका छन् र यसलाई हामी अझ तीव्र रुपमा व्यवस्थापन र विकास गर्न लागि परिरहेका छौँ । 

होमस्टे व्यवस्थापनका प्रमुख चुनौतीहरू के के हुन्?

होमस्टे व्यवस्थापनमा चुनौतीको अवस्थालाई हेर्ने हो भने अहिले धेरै होमस्टे दर्ता भएका छन् । सञ्चालन पनि भएका छन् । तर अहिले समष्टिगत रुपमा हेर्ने हो भने केही सम्बन्धित निकायमा दर्ता भएको छ भने हुनुपर्ने जति ठाउँमा भएको छैन । यसकारण सरकारको तर्फबाट हुने नीतिगत कुराहरूमा केही कमजोरी छन् ।

भ्रमण वर्ष २०८२ को लागि कोशी प्रदेशमा भएका होमस्टेहरूको कसरी व्यवस्थापन र सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ?

भ्रमण वर्ष २०८२ को लागि हामीले होमस्टेहरूलाई व्यवस्थापन गरेर कसरी बढीभन्दा बढी पर्यटक टिकाउन सक्छौँ भन्ने गृहकार्यहरू गरिरहेका छौँ ।पाहुनालाई दिने आतिथ्यता, खानाको परिकार तथा स्वच्छ अर्गानिक हस्पिटालिटी सेवालाई कसरी व्यवस्थापन गर्न सकिन्छ र यो भ्रमण वर्षको सुरुवाती चरण हो । वर्षभरि हामीले के के गतिविधि गर्यौँ भने भ्रमण वर्ष सफल हुन्छ र आगामी दिनमा पर्यटकहरू ल्याउन सकिन्छ भन्ने विषयको छलफल गरिरहेका छौँ ।

कोशी प्रदेशको कुन कुन स्थानमा होमस्टेको सम्भावना बढी छ रु अझ कुन स्थानमा होमस्टे बढी सञ्चालनमा छन् ?

कोशी प्रदेशको समग्ररूपमा हेर्ने हो भने १४ वटै जिल्लाहरूमा होम्स्टेको सम्भावना छ । किनभने कोशी प्रदेशमा हिमाली र पहाडी जिल्लाहरू छन् ।

प्राकृतिक दृष्टिकोणले पर्यटकीय दृष्टिकोणले हेर्ने हो भने हाम्रो १४ वटै जिल्लामा पर्यटकीय विकासको प्रचुर सम्भावना छ । यस्तै पर्यटकीय सम्भावना भएको गन्तव्यमा केही पूर्वाधार विकास गर्न सकियो भने होमस्टेको धेरै सम्भावना छ । अहिले चाहिँ हाम्रो उदयपुर, इलाम, ताप्लेजुङ, पाँचथरमा अलि बढी होमस्टे सञ्चालनमा छन् ।

होमस्टे सञ्चालनका लागि सरकारबाट कुनै विशेष सहयोग प्राप्त भएको छ कि छैन ?

सरकारले होमस्टेलाई राम्रै दृष्टिकोणले हेरेको छ । अबका दिनहरूमा पर्यटकीय विकासका लागि होमस्टेलाई अझै व्यवस्थित गर्ने, व्यवस्थापन गर्ने भन्ने सरकारको लक्ष्य पनि रहेको छ । 

सर्वप्रथम त हामीसँग प्रदेशमा सञ्चालन भएको होमस्टे कति छन् भन्ने यकिन तथ्याङ्क छैन यसका लागि कति होमस्टे दर्ता भए, कति चल्दैन्छ, कति बन्दैछन्, कति महिलाले सञ्चालन गरेका छन्, कति पुरुषले सञ्चालन गरेका छन् जस्ता विषयको सर्वेक्षण गर्ने काम भइरहेको छ ।

यसले सरकारसँग समन्वय गरेर काम गर्न सहज वातावरण सिर्जना गर्छ । त्यस्तै अहिले प्रदेश सरकारले आयोजना गर्न लागेको कोशी प्रदेश भ्रमण वर्ष ९ २०८२ ले पनि होमस्टे व्यवस्थापन तथा प्रचारप्रसारमा महत्त्वपूर्ण सहयोग पुऱ्याउन सक्छ ।

(होमस्टे महासङ्घ कोशी प्रदेश अध्यक्ष लीलादेवी भट्टराईको यो अन्तर्वार्ता मुकामको कोशी प्रदेश पर्यटन वर्ष २०८२ विशेषाङ्कमा प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै