सीमावर्ती शहर केन्द्रित प्रचारप्रसारमा जोड दिनुपर्छ- गौतम 

कोशी प्रदेश भ्रमण वर्षमा प्रदेशभित्र रहेका विभिन्न पर्यटकीय प्रोडक्टको प्रचारप्रसार आवश्यक छ । दार्जिलिङ, खरसाङ र सिक्किम जाने बङ्गाली पर्यटकलाई श्रीअन्तु, कन्याम, इलाम पाटेनागी, पानीटार, फिदिम र पाथिभरा घुमाउनु छ । फारवीसगञ्ज, कटिहार र पटनाका पर्यटकलाई भेडेटार, हिले, राजारानी, तीनजुरे, गुफापोखरी, पत्ताले हलेसी पुर्याउनु छ । मुन्दुम ट्रेल लगायतका ट्रेल मार्फत ट्रेकिङ संस्कृति कोशी प्रदेशमा भित्र्याउनु छ । कोशी प्रदेशका रैथाने खानपान र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण विकास गर्नुछ । रूद्राक्ष, चिया, अलैँची र लालीगुराँस मार्फत हरित पर्यटनको विकास गर्नुछ । यसै विषयमा मुकामको कोशी प्रदेश पर्यटन वर्ष २०८२ विशेषाङ्कका लागि पाँचौं इस्ट टुरिज्म मार्ट २०२५ का संयोजक तथा होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम रविनसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । 

नेपाल इस्ट टुरिज्म मार्ट के हो र कहिलेदेखि गरिँदै आइएको छ ? 

इस्ट टुरिजम मार्टको सुरूवात सन् २०१८ बाट सुरू भएको हो । २०१९, २० र २१ मा कोभिडका कारण हुन सकेन । २०२२ मा तेस्रो संस्करण सम्पन्न भयो । त्यसपछि र आर्थिक मन्दीका कारण समय व्यवस्थापन सहज नहुँदा २०२३ मा हुन सकेन । सन् २०२४ मा चौथो र २०२५ मा पाँचौं संस्करण सम्पन्न भयो । २२, २४ र २५ गरी पाँचौं संस्करण मार्च ९, १० र ११ मा सम्पन्न भएको छ । कोशी प्रदेशभरिका पर्यटकीय गन्तव्य, प्याकेज, उत्पादन, सेवा सुविधा र सम्भावनाहरूलाई एकै ठाउँमा जम्मा पारी नेपालकै अन्य प्रदेश र खास गरी भारतका बिहार, बङ्गाल, सिक्किम, आसाम र छिमेकी देशहरू भुटान तथा बङ्गलादेशका पर्यटन व्यवसायसँग सम्बन्धित निजी तथा सरकारी प्लेटफर्म मार्फत पर्यटनको व्यापार आदानप्रदान र विकास गर्नु इस्ट टुरिजम मार्टको मुख्य उद्देश्य हो । 

इस्ट टुरिजम मार्टको आयोजक को रहने व्यवस्था छ ? कि व्यक्तिगत प्रयासमा सम्पन्न हुन्छ ? 

यो कार्यक्रमको मुख्य आयोजक नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौँ र स्थानीय स्तरका जुन पालिकामा आयोजना हुन्छ सो नगरपालिका समेत स्थानीय आयोजक रहने प्रावधान मिलाइएको छ । साथै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने निरन्तर ब्यानरका प्रतिनिधि सम्मिलित एक सञ्चालक समिति मार्फत यसको कार्यान्वयन हुन्छ । पछिल्लो समय पर्यटन, वन तथा वातावरण, कोशी प्रदेश समेत यसको आयोजक रहने गरेको छ । 

कोशीबाट मार्टमा प्रतिनिधित्व गर्ने प्रोडक्टहरू के के हुन् ?

कोशीबाट इस्ट टुरिजम मार्टमा प्रतिनिधित्व गर्ने प्रोडक्टहरू होटलरहोमस्टे सेवा, ट्राभल सेवा, धार्मिक पर्यटकीय क्षेत्रहरू, हिल स्टेसन, एड्भेन्चर टुरिजम, ट्रेकिङ, लोपोन्मुख वनस्पति र जीवजन्तु, सांस्कृतिक पक्ष र पर्वतारोहण हुन् ।

पाँचौँ संस्करणसम्म आइपुग्दा उल्लेखनीय या अपेक्षित परिणामहरू प्राप्त भए जस्तो लाग्छ ? 

प्रोडक्टको प्रतिनिधित्वको सवालमा हाल पाँचौँ संस्करणसम्म आइपुग्दा सकेसम्म सबै पक्षलाई प्रतिनिधित्व गराउने प्रयास गरिएको छ । तर व्यापारको क्षेत्रमा उल्लेखनीय या अपेक्षित परिणामहरू प्राप्त गर्न सकिएको छैन । यसका केही नीतिगत र केही व्यवहारिक कारण छन् । खासमा हामीले छिमेकी मुलुकका सीमावर्ती शहर केन्द्रित प्रचारप्रसारमा जोड दिनुपर्छ( त्यो गर्न नसक्नु हाम्रो व्यवहारिक कमजोरी हो । स्थानीय र प्रदेश सरकारले विदेशी भूमिमा कार्यक्रम गर्न सङ्घीय सरकार मार्फत अनुमति लिएर जानुपर्ने झन्झटिलो व्यवस्था छ । आंशिक रूपमा भारतीय गाडीलाई निर्वाध रूपमा घुमफिर गर्न दिए पनि सबैलाई सहज पहुँच छैन, यी नीतिगत समस्या हुन् । पर्यटन व्यवसायीहरूलाई प्याकेजिङ र ब्रान्डिङमा ज्ञानको कमी छ । भाषागत समस्या हाम्रो अर्को चुनौति हो । मार्टका कार्यक्रममा सञ्चालनमा हामीले नवीनता दिनुभन्दा औपचारिकतामा जोड दियौँ( यसले पनि हामी ‘उही अरू जस्तै’ टाइपको देखियौँ । समूहगत रूपमा आउने पर्यटकीय गतिविधिहरूको व्यवस्थापन गर्नका लागि चुस्त नीति र संरचना छैन । पूर्वाधारमा कमी छ, सडक सञ्जालको स्तरीयतामा ‘एसियन हाइवे’को आदत परेका सीमापारका पर्यटकलाई आवागमनमा सुविधा दिन नसकेको कुराले अलिकति सुधार गर्न सके हुन्थ्यो भन्ने लाग्छ । 

नीतिगत समस्या र व्यवहारिक कमजोरीबारे खुलाइरहँदा अब के गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?

इस्ट टुरिजम मार्टका गतिविधिमार्फत केही गरेका छौँ भन्ने लाग्छ( अझै धेरै गर्नुपर्ने छ । जस्तैः दार्जिलिङ, खरसाङ र सिक्किम जाने बङ्गाली पर्यटकलाई श्रीअन्तु, कन्याम, इलाम पाटेनागी, पानीटार, फिदिम र पाथिभरा घुमाउनु छ । फारवीसगञ्ज, कटिहार र पटनाका पर्यटकलाई भेडेटार, हिले, राजारानी, तीनजुरे, गुफापोखरी, पत्ताले हलेसी पुर्याउनु छ । मुन्दुम ट्रेल लगायतका ट्रेल मार्फत ट्रेकिङ संस्कृति कोशी प्रदेशमा भित्र्याउनु छ । कोशी प्रदेशका रैथाने खानपान र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण विकास गर्नुछ । रूद्राक्ष, चिया, अलैँची र लालीगुराँस मार्फत हरित पर्यटनको विकास गर्नुछ ।

(देवी गौतम रविन पाँचौँ इस्ट टुरिज्म मार्ट २०२५ का संयोजक तथा होटल व्यवसायी महासंघका उपाध्यक्ष हुन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै