बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह 

काठमाण्डौ । बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह गरेका छन् । रसुवाको भोटेकोशीमा बाढी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन् ।

स्वास्थ्यविद् डा. सागर राजभण्डारीका अनुसार बाढीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ्छ । बाढीपछि हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तजस्ता रोग देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुनेलगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उनले बताए ।

समयमै उपचार नपाए हैजाजस्ता रोगको प्रकोप फैलिन सक्ने उनको भनाइ छ । लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य कीराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिमसमेत बढ्न सक्छ ।

बाढीका कारण धेरै मानिस घरबारविहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुघाखोकीलगायतका संक्रामक रोग पनि छिटो फैलिन सक्ने विज्ञहरूले बताएका छन् ।

सरसफाइ र शौचालयको अभावले स्वास्थ्य समस्या थप बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा पनि विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ ।

बाढी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँलगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डा. राजभण्डारीले सुझाव दिएका छन् ।

बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढी–पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

महामारी फैलिन नदिन बाढीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाइ तत्काल गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीयस्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

महामारी फैलिन नदिन नागरिक आफैँ पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वडा वा पालिकासँग सहयोग माग्न स्वास्थ्यविद्हरूले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै