कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा होमस्टेले महत्त्वपूर्ण भूमिका खेल्छन्

सन् १९५० को दशकमा  भूगर्भ अध्ययन गर्न स्विस भूगर्भशास्त्री टोनी हेगेन नेपाल आएका थिए । उनले आफ्नो पुस्तक नेपालः द किङ्डम अफ इन द हिमालयनमा नेपालका जैविक विविधता, रहनसहन र जीवनशैलीको बारेमा प्रसस्त लेखेर गएका थिए ।

उसो त हेगेनभन्दा पहिला पनि नेपालका विषयमा थुप्रै पुस्तकहरू प्रकाशन भएका  थिए । हेमिल्टन, कर्कप्याट्रिक, मिनाएभ, सिल्भालेभीका पुस्तकमा नेपालका नखुलेका पाटाका अनेकौ बिषय आएका छन् । अलिक प्राचीनकालमै जाने हो भने चिनिया यात्री ह्यवान स्याङले आफ्नो यात्रा विवरणमा नेपालका बारेमा उल्लेख गरेको पाइन्छ ।

उनीहरूको पुस्तकमा राजनीतिका अनेकौँ दाउपेच मात्र छैनन् । नेपाली सामुदायि जीवन प्रणालीका गौरवमय कथाहरू समेत छन् । मुलतः उनीहरूको एउटै बिषयमा भने समानन्तर धारणा रहेको पाइन्छ, नेपालीहरू हँसिला, मिजासिला र सहयोगी छन् । त्यही आतिथ्य गर्ने विगतदेखिको हाम्रो परम्परा आज पर्यटनको एउटा गतिलो माध्यम बन्न पुगेको छ । 

हामीले विश्वभरमा आफ्नो सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्धि प्राप्त गरेका छौँ । यहाँको स्थानीय र परम्परागत आस्था, रीतिरिवाज, र आतिथ्य संस्कृतिले नेपाली समाजलाई विशेष बनाएको छ । ‘अतिथि देवो भव’ भन्ने भनाइ नेपालका हरेक घरको संस्कृतिको अभिन्न हिस्सा बनेको छ ।

हाम्रो परम्परागत  आतिथ्य संस्कृतिको आधारमा, नेपालमा होमस्टे व्यवसायको विकास भएको हो । होमस्टे केवल एक आवासीय विकल्प मात्र नभई पर्यटकलाई स्थानीय जीवनशैली, परम्परागत खानपान, र सांस्कृतिक गतिविधिहरूसँग जोड्ने एक कडी समेत हो ।

 


 

नेपालमा होमस्टेको सुरूवात

आधिकारिक रूपमा वा सरकारी तवरबाट सन् २००० को दशकमा होमस्टेको सुरूवात भएको मानिन्छ । पर्यटकहरूले परम्परागत ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यको खोजी गर्न थालेपछि सरकारले यो अवधारणा ल्याएको हो । खास गरेर ट्रेकिङमा आबद्ध पर्यटकहरूका लागि खान बस्न सुविधा होस् भनेर  यो व्यवसाय प्रारम्भ भएको मानिन्छ ।

नेपालीको ग्रामीण जनजीवनसँग पर्यटकहरूले सामिप्यता प्राप्त गरेर उनीहरूको संस्कृतिलाई अनुभव गर्ने एक अवसरको रूपमा रहने देखिन्छ । सङ्घीय सरकार यसको मातहातको नेपाल पर्यटन बोर्ड र अन्य संस्थाहरूको पहलमा, होमस्टे व्यवसायलाई थप प्रवर्द्धन गरिएको छ । प्रादेशिक संरचनाको विकाससँगै कोशी प्रदेश सरकारले समेत होम९स्टेहरूलाई थप प्रवर्द्धन गर्ने कार्यलाई प्राथामिकता दिइरहेको छ ।

होमस्टेको यस अभियानले पर्यटकलाई आकर्षित गर्ने र, स्थानीय समुदायलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउनु पनि हो । नेपालको ग्रामीण क्षेत्रहरूमा होमस्टेले पर्यटनलाई प्रोत्साहन दिने र ग्रामीण समाजका लागि नयाँ रोजगारका अवसरहरू सिर्जना गर्ने काम गरेको छ । पछिल्लो समयमा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रायल अन्तरगतका पर्यटन कार्यालय, काकरभिट्टा र पर्यटन कार्यालय धरानले कोशी प्रदेशमा होमस्टेको प्रवर्द्धनमा काम गरिरहेका छन् ।
ग्रामीण र हिमाली क्षेत्रहरूमा होमस्टे व्यवसायको अवस्था अहिले निकै प्रगति गरेको छ ।

दर्ता भएका र  नभएका अनेकौँ होमस्टेहरूले निरन्तर सेवा दिइरहेका छन् । दर्ता भएका र नभएका गरेर कोशी प्रदेशमा जम्मा ११० वटा होमस्टेहरू सञ्चालन भएका छन् । दुर्गम र ग्रामीण इलाकामा होमस्टेहरूले प्रदान गरिरेहका सेवाहरूलाई सरकारी तवरबाट संस्थागत सहयोग गर्न सकेको खण्डमा कोशी प्रदेशको पर्यटनको एक मेरूदण्डको रूपमा होमस्टे व्यवसाय स्थापित हुन्थ्यो ।

ग्रामीण पर्यटनमा होमस्टेले खेलिरहेको भूमिका

ग्रामीण पर्यटन र होमस्टे व्यवसायबीच गहिरो सम्बन्ध छ । नेपालको ग्रामीण इलाकामा हुने पर्यटकीय गतिविधीलाई यसले गति दिएको छ । नेपालका ग्रामीण क्षेत्रहरूमा, विशेष गरी पहाडी र हिमाली क्षेत्रहरूमा, होमस्टेले पर्यटकलाई गाउँका सांस्कृतिक गतिविधिहरूसँग नजीकबाट परिचित गराउने माध्यम बनेको छ ।

निर्वाहमुखी मात्र रहेको कृषि आधारित समाजमा, होमस्टेले स्थानीय कृषकहरूको उत्पादनलाई बजारसम्म पुऱ्याउने अवसर प्रदान गरेको छ । परम्परागत खानाको स्वाद लिन र स्थानीय शिल्पकलाको सामानहरू खरिद गर्नका लागि होमस्टे एक माध्यम बनेको छ । जसका कारण स्थानीय समुदायका सदस्यहरूको जीवनस्तर सुधारका निम्ति अवसर प्रदान गर्दछ ।

महिलाहरूको उद्यमशीलता र आर्थिक स्वतन्त्रतामा होमस्टेको भूमिका

ग्रामीण क्षेत्रहरूमा महिलाहरूको सामाजिक र आर्थिक  स्थिति प्रायः कमजोर रहेको पाइन्छ । परिवारका कामकाजी गतिविधिहरूमा मात्र महिलाहरू सीमित छन् । तर पछिल्लोपटक, होमस्टेको गतिविधिका कारणले पनि महिलाहरूलाई आर्थिक स्वतन्त्रता र उद्यमशीलताको नयाँ अवसर प्रदान गरेको छ ।

ग्रामीण क्षेत्रमा महिलाहरूले परम्परागत हस्तकला, खाद्य पदार्थ, स्थानीय उत्पादनहरू विक्री गर्ने काममा अहिले बढोत्तरी भइरहेको छ । आम्दानीको श्रोतमध्येको गत्तिलो माध्यम होमस्टे बन्न पुगेको छ । जसका कारण महिलाहरूको आत्मनिर्भरता र आत्मविश्वास बढेको छ । महिलाहरूमा सामूहिकता र सामुदायिक भावना विकास गर्न होमस्टेले महत्त्वपूर्ण भूमिका खेलेको छ । 

दर्ता र वैधानिक प्रकृयामा समस्या

स्थानीय तहका विभिन्न दुरदराजमा रहेका होमस्टेहरूको वैधानिक दर्ता प्रकृयामा भने केही जटिलता रहेको  छ । कोशी प्रदेश सरकाले होमस्टेहरूको दर्ता लगायत अन्य नियमन गर्नका लागि होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ ।

जसअनुसार कोशी प्रदेशमा निजी तथा सामुदायिक स्तरबाट होमस्टे सञ्चालनका लागि पर्यटन, वन तथा वातावरण मन्त्रालयले तोकेको पर्यटन कार्यालयहरूमा होमस्टे दर्ता गरेर मात्र सञ्चालन गर्न पाइन्छ । तर दुरदराज गाउँमा सञ्चालन भएका अधिकांश होमस्टेहरू दर्ता नगरी सञ्चालनमा रहेको पाइन्छ ।

यसमा केही जटिलताहरू रहेका छन् । दर्ता नगरी सञ्चालन भएका होमस्टेहरूको अभिमुखीकरण गर्ने र तिनीहरूलाई दर्ता प्रकृयामा ल्याउनका निम्ति सरकारले निरन्तर पहल गरिरहेको छ । दर्ता प्रकृयामा नआएका कारण सरकारी तवरबाट प्राप्त गर्ने सुविधाहरूबाट समेत वञ्चित हुनुपरेको  छन् । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ र होमस्टेको भूमिका

कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । यस अवसरमा, होमस्टे व्यवसायले प्रचार९प्रसार र प्रवर्द्धनमा एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । कोशी प्रदेशको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई प्रचार गर्नका लागि होमस्टे एक प्रमुख माध्यम बन्न सक्छ । ग्रामीण जीवनको आतिथ्य एवम् खानपान संसारभर फैलाउनका निम्ति होमस्टेहरूको प्रमुख भूमिका हुन सक्छ । स्थानीय समुदायलाई सशक्त बनाउँदै, पर्यटन उद्योगमा नयाँ सम्भावनाहरू सिर्जना गर्छ ।

(पर्यटन कार्यालय काकरभिट्टाका अधिकृत कट्टेलको यो लेखमा मुकामको कोशी प्रदेश २०८२ विशेषाङ्कमा प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै