धादिङको गङ्गाजमुना गाउँपालिकामा अवस्थित प्रसिद्ध गङ्गा-जमुना झरना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन यहाँ भव्य मेला लाग्ने परम्परा रहँदै आएको छ । यस वर्षको मेला कार्तिक १४ गते विशेष कार्यक्रमसहित आयोजना हुने भएको हो ।
मेलामा विभिन्न स्थानबाट भाँक्री नाच, लामा नाच, चौडी घोडे नाच, लाखे, टाकटुके, पन्चेबाजा, मारुनी नाच, भजन-कीर्तन लगायत सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने तयारी गरिएको छ । हरिबोधनी एकादशीको अघिल्लो रात भक्तजनहरू जाग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेव मन्दिरमा दीप बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र जिउँदो परेवा उडाउने धार्मिक परम्परा रहँदै आएको छ । मन्दिरमा बली नचढाइने भएकाले भक्तजनहरूले भाकल पूरा गर्नका लागि परेवा उडाउने गर्छन् ।
गङ्गा र जमुना नामका दुई झरना यस स्थलका प्रमुख आकर्षण हुन् । त्यहाँ अवस्थित ‘कुकुरधारा’ नामक जलस्रोतमा स्नान गरेमा कुकुरले टोकेको घाउ वा चोटपटक निको हुने जनविश्वास रहँदै आएको छ । साथै, झरनाको पानी र आसपास पाइने जडीबुटीले रेविजजस्ता रोग निको पार्ने शक्ति भएको मान्यता पनि छ ।धादिङ, गोरखा, नुवाकोट, रसुवा, चितवन, काठमाडौँ लगायतका स्थानबाट हरेक वर्ष हजारौँ भक्तजन गङ्गाजमुना माईको दर्शन र मेलामा सहभागी हुन पुग्ने गर्छन् ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले मेलाका अवसरमा श्रद्धालुहरूको सुविधा र सुरक्षाका लागि विशेष तयारी गरिएको जानकारी दिए। उनका अनुसार मन्दिर, गुम्बा, सिँढी, साना पार्क, रेस्टुरेन्ट, सभाहल निर्माण तथा बाटो सुधारका काम सम्पन्न भइसकेका छन् । अध्यक्ष लामाले भन्नुभयोे, “गङ्गाजमुना क्षेत्रको दीर्घकालीन विकासका लागि ‘गङ्गाजमुना विकास कोष’ निर्माण गरिएको छ र संरक्षणका लागि आगामी दिनमा थप पहल गरिनेछ ।”
गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष कुमारबहादुर अधिकारीका अनुसार, हिउँदको समयमा प्रायः सुक्ने गङ्गाजमुना झरनालाई वर्षभर प्रवाहित राख्ने र पिउने पानीको समेत उपयोग गर्न सकिने उद्देश्यले प्रदेश सरकारको विशेष बजेटबाट करिब ६५ लाख रुपियाँको योजना अघि बढाइएको छ । अधिकारीले भने, “यदि सर्भेपछि हिउँदमा पनि झरना प्रवाहित राख्न सक्यौं भने, यो योजना गङ्गाजमुना क्षेत्रको विकासका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने छ।”
यो मेला केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक र पर्यटन प्रवर्धनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । भू–स्वर्गका रूपमा चिनिने गङ्गाजमुना गणेश पर्वत रहस्यमयी जुम्ल्याहा झरना, दैवी शक्तिले भरिएको पत्थर कुण्ड र प्रसिद्ध कुकुर धाराका कारण चर्चित छ । नेपाल सरकारले सन् २०७७ सालमै यस स्थललाई पर्यटकीय गन्तव्यको रूपमा घोषणा गरिसकेको छ।
करिब १,८०० मिटर उचाइमा अवस्थित गङ्गाजमुना पर्वत शृङ्खलाबाट धादिङका विभिन्न क्षेत्र, गोरखाको उत्तरी भाग, रसुवा, नुवाकोट, गणेश हिमाल र काठमाडौँसम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
काठमाडौँबाट करिब एक दिनको यात्रामा पुग्न सकिने यस स्थलसम्म माछापोखरीस्थित धादिङ बसपार्कबाट फूलखर्कसम्म सिधा बस सेवा उपलब्ध छ। धादिङबेसी - सल्यानटार - टारीबेँसी हुँदै करिब ४५ किलोमिटर दूरीमा अन्तिम १५ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ। यात्राको क्रममा पर्यटकले स्थानीय अर्गानिक परिकारहरूको स्वाद लिनुका साथै तामाङ र गुरुङ समुदायको संस्कृति, परम्परा र आतिथ्यताको अनुभव गर्न सक्छन्।
गङ्गाजमुना झरनासँग सम्बन्धित धार्मिक मान्यता, परम्परा र सांस्कृतिक रीतिरिवाजको संरक्षणका लागि गाउँपालिकाले विशेष पहल गरिरहेको छ। मेलामा सहभागी भई आफ्नो संस्कृतिको जगेर्ना गर्न स्थानीयवासी र भक्तजनहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







