तनहुँको व्यास नगरपालिकामा तीन दिने साँस्कृतिक महोत्सव 

तनहुँ, फागुन ७ गते । तनहुँको व्यास नगरपालिकामा तीन दिने बहुजातीय सांस्कृतिक महोत्सव बुधबारबाट सुरु भएको छ । भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्धन र विकास गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । 

व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा सुरु गरिएको महोत्सव फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । 

सो अवसरमा सांसद श्रेष्ठले आफ्नो संस्कृति र संस्कार गुमाए स्वयम् व्यक्ति र देशको पहिचान नै गुम्ने हुँदा संरक्षणको दायित्व सबैको भएको बताए । व्यास नगरपालिकाले संरक्षणको लागि चालेको कदमले पुरानो भाषा, संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिन मद्धत पुगेको बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले यस्ता महोत्सवले विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने बताए ।

व्यास नगर प्रमुख एवम् व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले ओझेलमा परेको कला, संस्कृति र भाषालाई संरक्षण, संवर्धनसँगै विकासका लागि महोत्सव गरिएको बताए। साथै महोत्सवले संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाई छ । नगर प्रमुख न्यौपाने भन्छन् , ‘यस महोत्सवले ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्न टेवा पुग्ने विश्वास गरेका छौं ।’ 


 

महोत्सवले विशेषगरी सिर्जनशीलताको प्रवर्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको उपप्रमुख इन्दिरा दरै बताउँछिन् । समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्न थप टेवा पुग्ने व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख केदार आचार्यले बताउँछन् ।

संस्कृति भनेको देशको मूल परिचय भएको यसको जर्गेना गर्न महोत्सव गरिएको प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने बताउँछन् । कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्नेतले नगरपालिकाभित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको बताउँछन् ।

प्रचारप्रसार संयोजक अन्जना तिमल्सेनाले महोत्सवले ललितकला, मूर्तिकला र चित्रकलाको प्रवर्धन  गरिएको बताउँछिन्। कार्यक्रममा जातीय, सांस्कृतिक तथा कलाकार संयोजक मेघनाथ रिमालले उत्कृष्ट झाँकी र प्रस्तुति दिनेलाई पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । 

नगरपालिकाभित्रका करिब १९ समुदायको मौलिकता झल्कने गरी संस्कृतिको प्रस्तुति भइरहेको बताए। विशेषगरी लोपोन्मुख संस्कृति प्रस्तुत गर्न महोत्सवले प्रोत्साहन गर्ने रिमालले बताए। 

कार्यक्रममा बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्खध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शन गरिएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै