हजारौँ वर्षअघिको समृद्घ तिरहुत सभ्यता बचाइरहेको सिम्रौनगढ

कर्णाटवंशी नान्यदेव एघारौँ शताब्दीमा आएर मिथिला वा तिरभुक्तिअन्तर्गतको सिम्रौनगढलाई राजधानी बनाई त्यस क्षेत्रमा आफ्नो प्रभाव फैलाएका थिए । वर्तमान बारा जिल्लाको दक्षिणतर्फ हालको नेपाल भारत सीमासँग रहेको सिम्रौनगढका वरपर अनेक पुरातात्त्विक स्थलहरूका साथै प्राचीन इनार र पोखरीहरू रहेका छन् । सिम्रौनगढका वरपरका थुप्रै गाउँलाई कुडवा भन्ने विशेषण लगाएको पाइन्छ । कुडवा–जैन साहित्यको कुण्ड अथवा कुडिढत ग्राम (श्री तीर्थंकरमहावीरको जन्मस्थल) को अपभ्रंश हो भन्ने देखिन्छ । कुण्डित नाउँका १०८ गाउँका शासक ज्ञाकृत कुलका क्षेत्रीय सामन्तहरूको राजधानी पनि सिम्रौनगढ नै थियो ।

सिमललाई स्थानीय भाषामा सिमर भानिन्छ । सिमल धेरै भएको जङ्गल वा क्षेत्रलाई सिमरौन भनिएको हो । सिमल निकै नै अग्लो र मोटो जातको रूख हो र यो घरायसी कामबाहेक डुङ्गा आदि बनाउने काममा पनि बडो उपयोगी हुन्छ । राष्ट्ररक्षाका लागि वन दुर्गको रूपमा किल्लावरिपरि यस्ता अग्ला रूख लगाएर दुर्गको रक्षा गर्ने विधान रहेको कौटिल्यले बताएका छन् । प्राचीन विधानअनुसार गढवरिपरि सिमलका अग्ला अग्ला रूख लगाएर चियोचर्चो गर्ने काम भएको हुँदा नै पछिल्ला कालमा आएर यो गढको नाउँ नै सिमरावनगढ अथवा सिम्रौनगढ रह्यो । तिरभुक्ति ९तिरहुत० राज्यको सीमा पूर्वमा कोशी, पश्चिम गण्डकी तथा दक्षिणमा गङ्गा र उत्तरमा महाभारतको  पर्वत शृङ्खलासम्म फैलिएको थियो । यस सीमाभित्र हालको नेपाल अधिराज्यका करिब (१२) बाह्र जिल्लाका अतिरिक्त भारतको चम्पारण, मज्जफरपुर, दरभङ्गा, भागलपुर र पूर्णिया आदि जिल्लाहरू पर्दछन् । प्राचीनकालदेखि तिरहुतको नुख्य केन्द्र व राजधानी चाहिँ सिम्रौनगढ नै थियो, जो अहिलेसम्म पनि अपेक्षाकृत स्पष्ट रहेको छ ।

सिम्रौनगढ एउटा प्रसिद्ध वनदुर्ग रूपको बलियो किल्ला हो । यो गढ चक्रको आकारमा बनाइएको थियो । जनश्रुतिअनुसार यो गढ ६ वटा माटाका चौडा र अग्ला अग्ला डिल (बाहीँ) र गहिरा खाडीले वेष्ठित थियो । यी माटाका ६ बाहीँरूमा चारैतर्फ बाक्लो गरी कटबाँस लगाइएका थिए । यी ६ वटा माटाका बाहीँहरू पछि यीभन्दा फराकिला र अग्ला गरी इँटाहरूद्वारा पक्की बाहीँ बनाइएको थियो, जुन बाहीँ गहिरो र फराकिलो खाडलले घेरिएको र सुरक्षित थियो । शहरको मूल ढोकाबाट बाहिरभित्र गर्नुपर्दा काठ एवम् बाँसले बनाइएका ठूलाठूला डोरीका सहायताले झिक्न र राख्न हुने पुलहरू बनाइएका थिए । गढको भित्री र बाहरी भागहरूमा सिमलका ठुल्ठुला रूखहरू थिए । जसबाट आठै प्रहर चियोचर्चो गरिन्थ्यो । यसरी सिम्रौनगढ एउटा सुव्यवस्थित र सृदृढ वनदुर्गको रूपमा रहेको सहर थियो भन्ने देखिन्छ । थ्यसको अवशेषका रूपमा अहिले पनि ठूलो रूखको फेदमा छरपस्ट मूर्तिहरू देख्न सकिन्छ । 

गढको पूर्व, पश्चिम, दक्षिणका प्रत्येक दिशामा एक एक र उत्तरतर्फ दुईवटा ढोका थिए । धर्मस्वामीले उत्तरमा दुई ढोका देख्न पाएका थिएनन् । तर प्रत्येक ढोकामा खाई तरेर जाने पुलहरू बनेका थिए । गढको रक्षाका लागि प्रत्येक पुलको अगाडी दश–दशजना धनुषाधारी सैनिकहरू तैनाथ थिए । यसैगरी इस्वी १७४० मा भारतको पाटनबाट नेपाल उपत्यका अर्थात् भक्तपुर राज्यमा आएका रोमन क्याथोलिक पादरी कशियानो दा मचेराताले सिम्रौनगढको खण्डहरूलाई पनि देखेका थिए । जसको बारेमा यी पादरीले निम्न कुराहरू लेखेका छन् ।

‘त्यहाँ हामीले कैयन् प्राचीन भग्नावशेषहरू यत्रतत्र छरिएर रहेका देख्यौँ । केही त कलायुक्त भवनका महत्वपूर्ण अवाशेषहरू थिए । मलाई त्यति घना जङ्गल हुन्छ भन्ने थाहा थिएन ।  त्यहाँको विशाल र निकै वर्ष पुराना रूखहरूले प्राचीन अवस्थाको बोध गराउनुका साथै जसले पुरानो यो जङ्गलको उत्पत्तिलाई देखाइरहेको थियो । जो एउटा निर्माण संरचनाको निश्चित आकारप्रति परिलक्षित थिए । अरू केही वर्षसम्म जब म नेपालमा नै बस्न थालेँ, त्यतिबेला मैले ती भत्केबिग्रेका पुराना खण्डहर बारेमा सोधखोज गर्दै रहेँ । मलाई भादगाउँका नेपालीहरूले ती छरिएर रहेका खण्डहर र तिनका अवशेषहरू ज्यादै महत्वपुर्ण र प्राचीन नगर सिम्रौनगढको ध्वंशावशेष हुन् भनेर विश्वस्त पारे । जहाँ उनीहरूका राजा आएका थिए त्यहाँ पुग्न धेरै घुमाउरा घुमाउरा बाटाहरू हुँदै जानुपर्दथ्यो, तर जान बिराइयो भने त्यहाँ पुग्न निकै गाह्रो हुन्थ्यो र पुगे पनि करिब एक महिना जति लाग्थ्यो । त्यो सहर ठुल्ठुला जटिल पर्खालहरूको बीचमा विद्यमान थियो, त्यसभित्र जान एउटै प्रवेशद्वार थियो र ठीक बाटो गएमा सहर पुग्नुभन्दा अगाडि त्यहाँ चारवटा किल्लाहरूलाई पार गर्नुपर्दथ्यो, जुन किल्लाहरू चाहिँ वरपरको दुरी सँगसँगैका पर्खालले घेरिएका थिए । प्रत्येक पर्खालको दुरी एक अर्को पर्खालबाट लगभग दुई कोषमा थियो र ती पर्खालहरू धेरै अग्लो र त्यत्तिकै चौँडा थिए, जहाँ सहजै प्रवेश गर्न सकिँदैनथ्यो । प्रत्येक दुई पर्खालका बीचमा नहरहरू थिए र खेतीयोग्य ती जमीनहरूमा सिँचाइको राम्रो प्रबन्ध गरिएको थियो । ती पर्खालबीचका भूमिहरूबाट भएको कृषिउत्पादनले त्यहाँका बासिन्दाहरूलाई राम्रोसँग खान पुग्दथ्यो । तिनीहरू यहाँका पराक्रमी राजाद्वारा शासित थिए, जसको आधिपत्य गढ बाहिरबाहिरसम्म पनि फैलिएको थियो । त्यहाँ उनका नाउँमा सामन्तहरूले शासन गर्दथे । त्यसमध्ये एउटा सामन्त ९मन्त्री० जसले आफूलाई राजाद्वारा होच्या्रइएको महसुस गरेको थियो, उनले ती राजासँग बदला लिन आफ्नो देशलाई नै मुसलमानहरुका हातमा सुम्पने निश्चय गर्यो र उसले मुस्लिम बादशाह प्रवेशद्वारसहित किल्ला कब्जा गरी पर्खाल फोरेर नगरभित्र प्रवेश गरे । गढभित्रका नागरिकहरूले हल्लाखल्ला गर्नुपूर्व नै सबैको संहार गराए । केही नागरिक शत्रुहरूले भत्काएको त्यसै प्वालबाट भाग्न सफल भए, त्यसमध्ये राजाको एउटा छोरा नेपालतर्फ भागे, जसले नेपालका वास्तविक राजालाई अपदस्थ गरी त्यहाँ आफ्नो आधिपत्य स्थापित गरे र आफ्ना भावी सन्तानका लागि स्थान सुरक्षित राख्न सफल भए ।’ यस्तै सूचनाहरू भादगाउँका मानिसहरूले मलाई दोहोर्याई तेहेर्याई  भन्ने गर्दथे । भादगाउँका राजाको दरबारमा सिम्रौनगढको नक्सा कोरिएको जुन ढुङ्गा रहेको छ, त्यसको हुबहुरूपमा सामान्य ढाँचाको नक्साको उतार यहाँ मैले उतारेको छु ।’

रोमन क्याथलिक क्याशियानोको यो विवरणपछि सन् १८३५ मा तिरहुत पुगेका ब्रिटिस नागरिक हड्सनले सिम्रौनगढ नगरको प्राचीन संरचना र त्यसको ध्वंशावशेषका बारेमा थोरै भए पनि अध्ययन गर्ने मौका पाएका थिए । उनले त्यस भग्नावशेषमा देखेको अनेक कलात्मक वस्तुहरूको मुक्तकण्ठले प्रशंसा गर्दै लोप हुन् लागेका ती उत्तम कलाकृतिहरूलाई बचाउनेतर्फको उदासीनताप्रति पनि चिन्ता प्रकट गरेका छन् । वास्तवमा खण्डहरको रूपमा रहेको सिम्रौनगढको स्थिति पहिलेको अपेक्षामा अत्यन्त दुर्दशाजनक अवास्थाबाट गुज्रिरहेको छ । त्यहाँका मुर्ति एवम् पुरातात्विक अवशेषहरू अहिले बिल्कुलै नष्ट हुने स्थितिमा छन्र । तसर्थ समयमै यसप्रति सम्बन्धित निकायको ध्यान नगएमा यस्ता गौरवपूर्ण अस्तित्व सदाका लागि लोप हुने निश्चित छ ।  

यसरी मध्यकालको पूर्वार्द्धसम्ममा सिम्रौनगढ एक सुविख्यात किल्लाको रूपमा चर्चित भइसकेको थियो भन्ने देखिन्छ । तर सिम्रौनगढको यो बस्ती यसभन्दा अघिदेखि अर्थात् लिच्छवीकाल वा त्यसभन्दा अगाडि नै बसिसकेको सङ्केत पाइन्छ । वैशालीका लिच्छवी वा बज्जीहरू मगधका राजा अज्ञातशत्रुले वैशाली विजयपश्चात कोही पहाडको बाटो हुँदै नेपाल उपत्यकामा आएको र कोही सिमरा वनमै गढ कायम गरी बसेको अनुमान हुन्छ । जुन लिच्छवीहरू नेपाल उपत्यकामा आई यहाँ सुशासन कायम गरी बसे, तिनै लिच्छवीहरूको एक शाखा सिम्रौनगढमा नेपालको दक्षिणी सीमा क्षेत्रको रूपमा बसेको देखिन्छ । जबकी पछिसम्म पनि नेपालबाट मगध आदि स्थानहरूमा यात्रा गर्नुपर्दा सिम्रौनगढको उक्त बस्ती हुँदै यात्रा गर्ने प्रमुख मार्ग भएकाले पनि यो कुराको पुष्टि हुन्छ । 

छैटौँ शताब्दीको अन्त्यतिर तिब्बतबाट हिमालय हुँदै नेपाल उपत्यका भएर उत्तर भारतका मैदानमा सिम्रौनगढ हुँदै जाने वाणिज्यमार्ग खुलेपछि यस गढको महत्व अझ बढ्यो । पछि नेपालको दक्षिणी गढको रूपमा रहेको उक्त ठाउँलाई विजय गरी एघारौँ शताब्दीमा कर्णाटवंशी राजा नान्यदेवले अझ मजबुद किल्लासहितको आफ्नो राजधानी बनाए । नेपालको यही गढलाई कर्णाटहरूले विजय गरी हात पारेकाले दक्षिण भारतका विक्रमादित्य उपाधिधारक राजाहरूले आफ्ना अभिलेखहरूमा नेपाल विजयका कुरा सगर्व लेख्न सकेका थिए । 

प्राचीन साहित्य साक्षका आधारमा यस क्षेत्रको वर्णन विदेह, मिथिला, तिरभुक्ति वा तिरहुतका रूपमा भएको छ । तर मध्यमकालमा अभिलेखहरूमा तिरभुक्तिको यस गढलाई नगर वा पत्तन भनिएको हुँदा यो क्षेत्र मध्यमकालमा निकै विकसित रहेको बुझिन्छ र विस्तारको दृष्टिले पनि यो विशेष उल्लेखनीय रहेको छ । तेह्रौँ शताब्दीमा यहाँ ६ लाख घरहरू भएको कुरा तिब्बतीय विद्वान धर्मस्वामीले लेखेका छन् ९यो तथ्यमा विवाद छ० । यसरी विकसित बस्तीको रूपमा रहेको यो गढ सांस्कृतिक, धार्मिक र कलाको क्षेत्रमा अत्यन्त उन्नत अवस्थामा थियो भन्ने देखिन्छ । त्यसैले, कुराको पुष्टिका लागि सिम्रौनगढ क्षेत्रभित्र रहेको विभिन्न कलाक्रितिहरूलाई दर्शाउने खालका स्थल तथा कलाकृतिहरूका बारेमा संक्षिप्त विवरण दिनु आवश्यक छ ।

सिम्रौनगढका सम्पदाहरू

५२ बिघाको झरोखर (देउताल) पोखरी 

सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ (साविकको कोचर्वा गाविस) बसबरियामा रहेको विशाल पोखरी देउतालको नामले चिनिन्छ । नेपाल–भारत सिमाना दशगजासँग जोडिएको देउताल ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । जसमध्ये २८ बिघा क्षेत्रफलमा पानी छ । बाँकी क्षेत्रफल पोखरीको डिल हो जहाँ आँपको बगैँचा लगाइएको छ। यो पोखरीको चलनचल्तीको नाम झरोखर पोखरी हो । तालबाट दक्षिणतर्फ करिब दुई सय मिटर दूरीमा भारतीय गाउँ झरोखर छ। त्यही गाउँको नामबाट झरोखर पोखरी नामाकारण गरिएको हो या झरोखर पोखरीको नामबाट उक्त गाउँको नामाकरण भएको हो ? भन्ने कुरा अझै यकिन छैन ।
यो पोखरी कसले र कहिले निर्माण गर्यो ? भन्ने तथ्य भने हालसम्म फेला परेको छैन। सिम्रौनगढका राजाले आफ्नो दरबारको आसपासमा धेरै पोखरी निर्माण गरेको इतिहास फेला परेको छ । देउताल पोखरी पनि त्यही इतिहाससँग जोडिएको अनुमान केही वर्षअघि अवलोकन गर्न आएका इटालियन पुरातत्वविदहरुले गरेको स्थानीय बासिन्दा बताउँछन् । विगतमा पोखरीको डिल धेरै अग्लो रहेको र रातिको समय पोखरीको डिलबाट हेर्दा करिब सात किलोमिटर पर रहेको भारतीय बजार घोडासहनमा रेल कुदेको देखिने गरेको स्थानीय बुढापाकाहरू बताउँछन् । तर अहिले पोखरीको डिल धेरै होचो भइसकेकाले नगरपालिकाले पर्खाल तथा तारबार लगाएर संरक्षण गरेको छ । साथै, पोखरीको डिलमा भ्युटावर निर्माण गर्ने तयारी पनि नगरपालिकाले गरेको छ ।

भर्खरै पोखरीको डिलमा नगरपालिकाले साधारण सभाहलसहितको दुईतले पक्की भवन निर्माण गरेको छ । स्थानीय गाउँमै जन्मेर २००७ सालको जनक्रान्तिमा ठूलो योगदान पुयाएका नेपाली काङ्ग्रेसका पुराना नेता भागवत यादवको अन्त्येष्टि यही पोखरीको डिलमा गरिएको थियो । दिवङ्गत नेता यादवको सम्झनास्वरूप उक्त स्थानमा पूर्णकदको शालिक तथा पार्क निर्माण सम्पन्न गरिसकेको छ । पोखरीको डिलमा लगाइएका आँपका रूख अधिकांश बूढा भएर ढलिसकेका छन् । बेलैमा यसको रोकथामका लागि पुनः नयाँ बिरुवा रोपेर आँपको बगैँचा निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेका छ ।

ऐतिहासिक मात्रै होइन, पुरातात्विक महत्व बोकेको निकै आकर्षक देउताल पोखरीले यस क्षेत्रको पर्यटनलाई ठूलो टेवा पुयाउने आँकलन सजिलै गर्न सकिन्छ । तर पर्यटकीय पूर्वाधार निर्माणको अभावका कारण उक्त पोखरीले अहिले दिइरहेको आम्दानी भनेको माछा पालन तथा बगैँचाका आँप बिक्री नै हो । रूखहरू पुराना भइसकेकाले आँपको बगैँचाले खासै आम्दानी दिन सकेको छैन । 

कङ्काली मन्दिर

सिम्रौनगढ बजारको दक्षिणपूर्वतर्फ पुरातात्विक महत्वको प्रसिद्ध कङ्काली माईको मन्दिर छ । तर यो मन्दिर कहिले निर्माण गरियो ? भन्ने यकिन छैन । ऐतिहासिक सिम्रौनगढ दरबार निर्माणसँगै यो मन्दिर निर्माण गरिएको हो या यो मन्दिरको पवित्रतालाई मध्यनजर राख्दै मन्दिरनजिकै सिम्रौनगढ दरबार तथा किल्ला निर्माण गरिएको हो ? भन्ने कुरामा पुरातत्वविद्हरूको फरक–फरक धारणा रहेको छ ।

सिम्रौनगढ राज्यको अस्तित्व लोप भएपछि भग्नावशेषमा परिणत भएको कङ्काली माई मन्दिरको पुनर्निर्माण वि.सं. १९३५ मा भएको हो। स्थानीय बुढापाकाहरुका अनुसार त्यसभन्दा अघि मन्दिरको भग्नावशेषलाई कङ्काली माईको स्थान भनिन्थ्यो । मन्दिरको आसपासमा पुरातात्विक महत्वका अरू सम्पदा पनि फेला परेका कारण यस क्षेत्रको ऐतिहासिकता सिम्रौनगढ दरबारको इतिहाससँग प्रत्यक्ष जोडिएको अनुमान लगाउन सकिन्छ । मन्दिरभन्दा दक्षिणपूर्वमा करिब आठ बिघा क्षेत्रफलको सुन्दर पोखरी छ, जसलाई इसरा पोखरी भनिन्छ । 

डिलसमेत पोखरी परिसरको क्षेत्रफल ४५ बिघाको छ । तर पानीले ओगटेको करिब आठ बिघाबाहेक अरू जग्गाको समुचित सदुपयोग हुन सकेको छैन । अतिक्रमण तीव्र भएको । तत्कालीन राजा शिवसिंह देवले आफ्नी प्रियसी इसराको इच्छाअनुसार उक्त पोखरी निर्माण गरेको कङ्काली मन्दिरका महन्थ मिलन गिरीले बताए । शिवसिंह देवले १२औँ शताब्दीमा सिम्रौनगढको राजपाठ सम्हालेका कारण उक्त पोखरी पनि १२ औँ शताब्दीकै भएको अनुमान लगाउन सकिन्छ ।

पोखरीको डिलमा फेला परेका विष्णु, सूर्य, हनुमान, पार्वती र शङ्करका पुराना मूर्तिलाई केही वर्षअघि इटालियन पुरातत्वविद्हरूले अनुसन्धान गरेका थिए । यी मूर्तिहरू कम्तीमा एक हजार वर्ष पुराना रहेको अनुसन्धानबाट प्रमाणित भएपछि गुठी संस्थानद्वारा भवनभित्र ताला लगाएर राखिएको छ। भक्तजनहरूले बाहिरैबाट पूजाआजा गर्छन् । राजधानी काठमाडौँ उपत्यकामा मल्लकालमा निर्माण गरिएका मन्दिरमा राखिएका मूर्तिहरू र यी मूर्तिहरूको निर्माण शैली एउटै छ। काठमाडौँ उपत्यकाका पुरातात्विक मूर्तिहरू र सिम्रौनगढ क्षेत्रका पुरातात्विक मूर्तिहरू एकै समय र एकैखालका कालीगढहरूले निर्माण गरेका हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ।

यथाशीघ्र मन्दिरहरू निर्माण गरी यी मूर्तिहरूलाई मन्दिरमा राख्ने र पूजाआजाको व्यवस्था गर्ने तयारी नगरपालिकाले गरेको छ। नजिकै रहेको इसरा पोखरीलाई गुठी संस्थानले पाँच वर्षको दुई करोड रुपैयाँ पाउने गरी भाडामा लगाएको छ। यही आम्दानीले यी मन्दिरहरूको पूजाआजाको व्यवस्था तथा पूर्वाधार निर्माण गर्न पुग्ने देखिन्छ। तर गुठी संस्थानमा जाने उक्त रकम पुनः फर्किन नसकेको कङ्काली माईका पुजारीले बताए ।

सिम्रौनगढको बीच भागमा स्थापना गरिएको कङ्काली मन्दिर इँटाद्वारा निर्माण गरिएको मिश्रितशैलीमा छ । मन्दिर चारैतिर चतुष्कोणाकारको भवनको बीचमा शिखर उठेर माथिसम्म चुलिएको छ । मन्दिरको चारैतिर खुल्ला गुम्बजाकारको प्रवेशद्वार निर्माण गरिएको छ । मन्दिरभित्र १२० सेन्टिमिटरको अग्लो मञ्च बनाइएको छ, जसमाथि पूर्वतिर फर्काएर कङ्कालीको मूर्ति प्रतिष्ठापित गरिएको छ । सम्पूर्ण भाग इँटाबाट निर्मित यस मन्दिरको गाहो ७५ सेन्टिमिटर चाक्लो छ। मन्दिरको दलिनमा विचित्रहरू बनाइएको छ। यस मन्दिरको निर्माण मान्साराम बाबाले सन् १८१६ भन्दा अगाडि नै सानो आकारमा गरेका थिए । पछि उनका वेला रामसेवक दासले सन् १९६७ मा अहिलेको मन्दिर निर्माण गरेका थिए भन्ने भनाइ पनि छ। 

मन्दिरमा रहेको कङ्कालीको मूर्ति कालो प्रस्तरमा कुँदिएको छ। मूर्तिको गोलाकार अनुहार, ठूला त्यसबेलाको विशेषतालाई दर्शाउँछ । देवीको गालामा हार, कानमा गोलाकार कुण्डल, कम्मरमा हार जडेको चेप्टो पेटी छ । शान्त सौम्य मुद्रामा रहेको यो मूर्तिले कलामा छुट्टै स्थान ओगटेको छ ।

यहाँ वर्षको एकचोटि चैत महिनामा रामनवमीको दिन ठूल मेला लाग्ने गर्दछ । सामान्य रूपमा भक्तजनहरूको आउने क्रम दिनहुँ नै रहन्छ । अहिले पनि यो क्षेत्रमा कङ्काली माताको ठूलो महिमा छ भनिन्छ । त्यसैगरी चिताएको फल देवीले पूर्ण गर्छिन् भन्ने जनविश्वास छ । यस क्षेत्रमा पानी नपर्दा यहाँका महिलाहरूद्वारा कङ्काली माताको पूजाआजा गरेपछि पानी पर्ने गर्दछ ।

कङ्काली मन्दिर प्राङ्गणमा विभिन्न देवीदेवताका अन्य मन्दिर पनि छन् । प्राङ्गणमा रहेका मंशाराम बाबाको मन्दिर ३ मिट उचाइ, ५.४७ मिटरको चतुष्कोणाकारमा निर्माण गरिएको छ । मन्दिरभित्र मंशाराम बाबाको समाधिस्थल छ । समाधिअगाडि एक जोर खराउ छ, जसलाई मंशाबाबाको खरा भनी पूजा गरिन्छ । प्राङ्गणमा शिव, पार्वती, हनुमान, विष्णु विश्वकर्माका मन्दिर छन् ।

सिम्रौनगढका केही मूर्ति र दरबारका अवशेषलाई राष्ट्रिय सङ्ग्रहालय छाउनीमा सङ्ग्रहित गरिएको छ । राष्ट्रिय सङ्ग्रहालयम सिंहबाहिनी दुर्गा, सप्तअश्वरथ सवार सूर्यमूर्ति र ब्रह्माको मूर्ति संरक्षित छ । सिम्रौनगढको तोरणद्वारको टुक्रा सङ्ग्रहालयको भित्री गेटमै राखिएको छ। यस क्षेत्रको सयौँ बिघा सार्वजनिक जग्गामा सिम्रौनगढ बजार बसेको छ । बजारमा करिब एक हजार घरहरू छन् । साथै पोखरीको किनारमा साताको एकदिन विशाल हाटबजार पनि लाग्ने गर्छ । 

रानीवास मन्दिर (दरबार) 

यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि सिम्रौनगढ क्षेत्रको मुख्य आकर्षणको केन्द्र भनेकै रानीवास मन्दिर (दरबार) हो । सिम्रौनगढ बजारबाट एक किलोमिटर उत्तरमा रहेको यो मन्दिर तथा दरबार तत्कालीन श्री ३ जङ्गबहादुर राणाका छोरा जगतजङ राणाले वि।सं। १९३५ मा निर्माण गरेका हुन् । यो मन्दिर र दरबारको परिसर ६ सय बिघा क्षेत्रफलमा फैलिएको छ। तर करिब दुई सय बिघा जग्गा अतिक्रमण भइसकेको छ। बाँकी जग्गा भने तारबार लगाएर जोगाइएको छ ।

वि।सं। १९३३ मा श्री ३ जङ्गबहादुर राणाले सिम्रौनगढमा सिकार क्याम्प सकेर फर्कंदा पत्थरघट्टा भन्ने ठाउँमा उनको मृत्यु भएको थियो। उनकी रानी हिरण्यकुमारी सती जाने बेलामा व्यक्त गरेको इच्छाबमोजिम उनका छोरा जगतजङले यो मन्दिरको निर्माण गरेका थिए । जुन कुरा यहाँको घन्टामा समेत उल्लेख गरिएको छ ।

मूल मन्दिर तीन तहको पेटिमाथि बनेको छ, जसको चारैतिर खुल्ला प्रदक्षिणा भाग छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका धातुका सुन्दर कलात्मक  मूर्तिहरू प्रतिस्थापित छन् । अगाडि जङ्गबहादुर, हिरण्यकुमारीलगायत परिवारका सदस्यहरूको प्रतिमा छन्। मन्दिरको प्राङ्गणवरिपरि दुई तल्लामा चतुष्कोणाकारका धर्मशाला बनेका छन् । मन्दिर निर्माणमा त्यहाँका भग्नावशेषहरू प्रयोग भएको देखिन्छ । अहिले पुनर्निर्माणको काम भइरहेको छ।

समय–समयमा प्राप्त भएका मूर्तिले सिम्रौनगढको महत्वलाई झन् बढाइदिएको छ। यहाँका मूर्तिकलाका रचनाहरूले सिम्रौनगढको सांस्कृतिक समृद्धिलाई पुष्टि गर्दछ । यहाँको मूर्तिकलाले आर्थिकरूपले समृद्ध यो राज्यमा कला र साहित्यले भरपूर उन्नति गर्ने मौका पाएको स्पष्ट हुन्छ । मूर्तिहरू हिन्दू धर्म संस्कृतिसँग सम्बन्धित रहेको हुनाले यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको प्रमाणित हुन्छ । अनन्त शान्ति, ऐश्वर्य, करुणाले धपक्क बलेको, अलौकिक भाव र मुस्कानयुक्त चिल्ला काला ढुङ्गामा कुदिएका मूर्तिहरूले यहाँको कलाको स्वतन्त्र र मौलिक शैलीलाई प्रस्तुत गर्दछ ।

सयौँ वर्षको इतिहास बोकेको रानीवास दरबार यतिबेला भग्नावशेषमा परिणत भइसकेको छ । जगतजङ्गले निर्माण गरेको कृष्ण, शङ्कर, राम र हनुमानका मन्दिरहरू भने संरक्षित अवस्थामा छन्। मन्दिरमा नियमित पूजाआजा हुने गर्छ । कृष्ण मन्दिरका पुजारी नागे गिरीका अनुसार यहाँ निकै विशाल दरबार र दरबारको मुख्य चोकमा यी चारवटा मन्दिर थिए । दरबार भत्कियो, मन्दिर बाँकी छन् ।

माथि बायाँपट्टिको नक्सा पादरी काशियानोले उतारेका हुन् भने त्यसै आधारमा इटालीका पुरातत्वविदहरूले दायाँ नक्सा बनाएका हुन्।

इटालियन पुरातत्वविदहरूले प्राचीन सिम्रौनगढ दरबारकै भग्नावशेषमाथि जगतजङले रानीवास मन्दिर निर्माण गरेको अनुमान गरेका छन् । जसकारण सिम्रौनगढको ऐतिहासिकता संरक्षित भए पनि उत्खननमा समस्या परेको कृष्ण मन्दिरका पुजारी गिरी बताउँछन् । गिरी भन्नु हुन्छ, ’सिम्रौनगढ दरबार मुसलमानहरूको आक्रमणमा परी ध्वस्त भए पनि कृष्ण मन्दिर भने बाँकी नै थियो। जङ्गबहादुर राणा सिकार खेल्न आउँदा कृष्ण मन्दिरको दर्शन गरे । दर्शनपछि उनको मनोकाङ्क्षा पूरा भयो। आफ्नो मनोकाङ्क्षा पूरा भएपछि उनले कृष्ण मन्दिरनजिकै राम मन्दिर निर्माण गरे, राम मन्दिर निर्माणसँगै हनुमान मन्दिर पनि निर्माण गरे । त्यसपछि उनका छोरा जगतजङले शङ्करको मन्दिर निर्माण गरे । यी चारवटै मन्दिर मूल चोकमा पर्ने गरी विशाल सतल निर्माण गरे ।
वीरगन्जबाट ३८ किलोमिटर पूर्व तथा कलैयाबाट २२ किलोमिटर दक्षिण पूर्व तथा गौरबाट करिब २२ किलोमिटर पश्चिममा रहेको रानीवास मन्दिर भारतीय सिमानाबाट पनि नजिकै पर्छ । मन्दिर तथा दरबार दर्शनका लागि दैनिक सरदर दुई सय पर्यटक आउँछन्, तर यहाँ बास बस्दैनन् । शनिबारका दिन दर्शनार्थीहरूको घुइँचो हुन्छ । नेपालबाट मात्रै होइन भारतबाट पनि शैक्षिक भ्रमणमा विद्यार्थीहरू आउने क्रम बढेको छ । पर्यटकहरू बास बस्ने होटल तथा लजको अभाव छ। खासगरी रामनवमी र कृष्णअष्टमीका दिन यहाँ धेरै नै ठूलो मेला लाग्छ । 

रानीवास मन्दिर परिसरमा जगतजङले राखेको घण्टा पाँचजना प्रहरी तैनाथ गरिएको एउटा चौकी र एउटा आयुर्वेद औषधालयबाहेक यो परिसरमा सरकारको उपस्थिति देखिँदैन ।

(यो आलेख मुकामको वैभव वीरगंजको धार्मिक–औद्योगिक पर्यटन विशेषाङ्क (भदौ–कात्तिक, २०८२) मा प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै