ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपालीको संख्या बढेसँगै राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

विभागले बुधबार जारी गरेको सूचनाअनुसार साउन १४ गतेदेखि २२ गतेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिनेछ । पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवा सहज बनाउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिनेछ ।

त्यस्तै, शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिनसमेत विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गरिने विभागले जनाएको छ । सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ ।

ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिन राहदानी अनिवार्य भएकाले पछिल्लो समय राहदानी बनाउन आउने सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ ।

बढ्दो चापलाई व्यवस्थापन गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउन विभाग प्रतिबद्ध रहेको पनि सूचनामार्फत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै