‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी एक्स्पोको उद्घाटन गरेका हुन् ।

एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे गरी ५५ वटा ब्रान्ड सहभागी छन् । आयोजकका अनुसार प्रदर्शनीमा ४० भन्दा बढी नयाँ मोडल तथा सवारीसाधन सार्वजनिक गरिनेछन् । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला एक्स्पोमा विद्युतीय, हाइब्रिड तथा परम्परागत इन्धनबाट चल्ने विभिन्न मोडललाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

एक वर्षअघि उत्पादक तथा आयातकर्ताहरूको सहभागितामा स्थापना भएको नाइमाले नेपालमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास, व्यवसायिक वातावरण सुधार र नयाँ प्रविधिबारे उपभोक्तालाई जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरेको जनाएको छ ।

चारपांग्रेमा २६ भन्दा बढी ब्रान्ड
एक्स्पोमा चारपांग्रे सवारीतर्फ हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आईकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआईसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर र वुलिङलगायतका ब्रान्ड सहभागी छन् ।

विशेषगरी विद्युतीय सवारीसाधनका नयाँ मोडल र प्रविधिले एक्स्पोमा आकर्षण थपेको छ । विभिन्न कम्पनीले आफ्ना नयाँ विद्युतीय कार, एसयूभी तथा अन्य मोबिलिटी उत्पादन प्रदर्शनीमा राखेका छन् ।

दुईपांग्रेमा पनि नयाँ मोडल
दुईपांग्रे सवारीतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्युजो, अल्ट्राभायोलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ र जेएक्स मोटोरसाइकललगायतका ब्रान्ड सहभागी छन् ।

एक्स्पोमा पेट्रोलियम इन्धनबाट चल्ने मोटरसाइकलसँगै विभिन्न विद्युतीय स्कुटर तथा मोटरसाइकल पनि प्रदर्शनमा राखिएका छन् । यसले नेपाली बजारमा बढ्दै गएको विद्युतीय दुईपांग्रे सवारीसाधनको प्रतिस्पर्धा र उपभोक्ताको बदलिँदो रुचिलाई समेत प्रतिबिम्बित गरेको छ ।

अवलोकनकर्ताका लागि पार्किङ र टिकट व्यवस्था
नाइमाले एक्स्पोमा आउने अवलोकनकर्ताका लागि पार्किङको समेत व्यवस्था गरेको छ । चारपांग्रे सवारीसाधनका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको छ भने मोटरसाइकल तथा स्कुटरका लागि भृकुटीमण्डप परिसरमै पार्किङको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रवेशका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। विद्यार्थीका लागि भने टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार एक्स्पो केवल सवारीसाधन प्रदर्शनीमा सीमित नभई नेपालमा विकसित हुँदै गएको नयाँ मोबिलिटी प्रविधि, विद्युतीय सवारीसाधन र अटोमोबाइल क्षेत्रका आगामी सम्भावनाबारे उपभोक्ता तथा व्यवसायीलाई जानकारी दिने महत्वपूर्ण प्लेटफर्मका रूपमा अघि बढाउने उद्देश्य राखिएको छ ।

एकै स्थानमा स्वदेशी बजारमा उपलब्ध विभिन्न ब्रान्डका नयाँ मोडल, प्रविधि र विशेषता हेर्न तथा तुलना गर्न सकिने भएकाले एक्स्पोले नेपाली अटोमोबाइल बजारमा नयाँ सवारीसाधन खरिद गर्न चाहने उपभोक्ताका लागि समेत अवसर सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै