अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले गरेको माग भक्तपुर जिल्ला अदालतले अस्वीकार गरेको छ । अदालतले उनीविरुद्ध थुना म्याद नथपी तत्काल रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले प्रसाईंलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै सोमबार अदालतमा उपस्थित गराएको थियो । तर अदालतले उक्त माग स्वीकार नगरी थुनामुक्त गर्न निर्देशन दिएको छ ।

यसैबीच, प्रसाईंलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन् । सोमबार दर्ता भएको उक्त रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो ।

रिटमा प्रसाईंलाई कुनै स्पष्ट कानुनी आधारबिनै आइतबार राति पक्राउ गरिएको दाबी गरिएको छ ।

जिल्ला अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतबाट रिहा हुने प्रक्रिया अघि बढेको छ ।

प्रहरीले भने प्रसाईंविरुद्ध सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुरलगायत तीन शीर्षकमा अनुसन्धान गर्न म्याद थपको माग गरेको थियो। प्रसाईंले केही समयअघि सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै