थारूहरूको छाता सङ्गठन थारू कल्याणकारिणी सभा दाङले यही पुस १९ गते एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । हरेक वर्ष दुई दिने महोत्सव आयोजना हुँदै आएको भए पनि यस वर्ष विभिन्न कारणले एकदिने मात्र आयोजना गर्न लागिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिए ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । घोराहीको जिल्ला समन्वय समितिको प्राङनमा हुन लागेको महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेटिने आयोजकले जनाएको छ ।
त्यस्तै, महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परिकारहरूको बिक्री तथा वितरण गरिनेछ । साथै थारू भाषाका विभिन्न पुस्तकहरू र हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिए । सभाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ । मटवाँ, थारू अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
यसैगरी, तुलसीपुर उपमहानगरपालिका–६, जवरपुरमा यही पुस २५ गते आयोजना हुने माघ सांस्कृतिक महोत्सवको तयारी पनि भव्य रूपमा भइरहेको मूल आयोजक समितिले जनाएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं. ३, नमुना भुह्यारथान तथा मटवाँ महासंघ तुलसीपुरको आयोजनामा हुन लागेको महोत्सवको तयारीलाई तीव्र बनाइएको भुह्यारथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए ।
यसैबिच, “एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नारासहित यही पुस २७ गते घोराही–१७ स्थित शहीद नेत्रलाल स्मृति पार्कमा आयोजना हुने गुलरिया माघ सांस्कृतिक महोत्सवको तयारी पनि तीव्र पारिएको छ । महोत्सवको प्रचार–प्रसार, आर्थिक संकलन तथा सांस्कृतिक नृत्य टोलीहरूको नाम दर्ता प्रक्रिया अघि बढाइएको मूल आयोजक समितिका सदस्य प्रेम चौधरीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
- हिउँले छपक्कै छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
- नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
- आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण
- उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव
- महालक्ष्मी विकास बैंंक लि.को २४ औं वार्षिक साधारण सभा सम्पन्न


ट्रेन्डिङ
खबरमुकाम







