‘डा. पन्तको व्यक्तित्व र नेपालको अर्थतन्त्रमा योगदान’ विषयक विचार गोष्ठी सम्पन्न 

‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक एक दिने विचार गोष्ठी २०८२ कात्तिक २८ गते काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १००औँ जन्मजयन्तीका सन्दर्भमा यस बैंकद्वारा उक्त गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । डा. पन्तलाई ‘बहुआयामिक व्यक्तित्व’को रूपमा स्मरण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “उहाँ कुनै एउटा विधामा मात्रै सीमित हुनुहुन्थेन । वित्तीय नीति र मौद्रिक नीतिसँगै कुशल योजना, कुटनीति र राजनीतिमा पनि उत्तिकै दख्खल राख्नुहुन्थ्यो ।” 

डा. पन्तका विचार र दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भक रहेको अर्थमन्त्री खनालको भनाइ थियो । कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकको अर्थव्यवस्था र वित्तीय प्रणालीमा महŒवपूर्ण संरचनागत सुधारको थालनी भएको चर्चा गर्नुभयो । रु.५०० र रु.१००० दरका बैंक नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना, बैंकिङ सेवाको पहुँच अभिवृद्धिका निम्ति डा. पन्तबाट भएका नीतिगत र संरचनागत प्रयास स्मरणीय रहेको विचार उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले स्वर्गीय पन्तलाई ‘आधुनिक अर्थतन्त्रका चिन्तक’ र ‘दूरदर्शी आर्थिक दृष्टिकोण’ राख्ने व्यक्तित्वको रूपमा चित्रण गर्दै उहाँको नेतृत्वमा भएका आर्थिक सुधारका प्रयासहरू स्मरण गर्नुभयो ।

गोष्ठीमा पूर्व गभर्नर गणेशबहादुर थापाले पन्तको नेतृत्वकालमा बैंकिङ तथा वित्तीय सेवाको विस्तारमा उल्लेख्य प्रगति हासिल भएको धारणा राख्नुभयो । राष्ट्र बैंकका पूर्व सञ्चालक प्रा.डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले स्वर्गीय पन्तको सिर्जनशील व्यक्तित्व र उहाँका कृतिहरूका बारेमा स्मरण गर्नुभयो ।

पूर्व अर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की र डा. रूप ज्योति तथा पूर्व गभर्नरहरू डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्रीले डा. यादवप्रसाद पन्तको व्यक्तित्वका विविध पक्षबारे चर्चा गर्नुभयो । पूर्व महालेखापरीक्षक भानुप्रसाद आचार्य, ‘डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपाल’का सदस्य राधेश पन्तलगायतले स्वर्गीय पन्तका प्रेरणादायी क्षणहरूको स्मरण गर्नुभएको थियो । 

सो अवसरमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले ‘डा. यादवप्रसाद पन्तको वहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । गोष्ठीमा प्रतिष्ठानद्वारा डा. पन्तको जीवनीमाथि तयार गरिएको सङ्क्षिप्त श्रब्यदृष्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा पूर्व अर्थमन्त्रीहरू डा. भेषबहादुर थापा, शङ्करप्रसाद कोइराला र वर्षमान पुन, राष्ट्र बैंकका सञ्चालकहरू चिन्तामणि शिवाकोटी, डा. शङ्करप्रसाद आचार्य र डा. रवीन्द्रप्रसाद पाण्डे, अर्थविद्, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायी, सञ्चारकर्मी, पन्त परिवारका सदस्यहरू लगायतको उपस्थिति थियो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राख्नुभयो भने डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रको सहजीकरण गर्नुभयो ।

गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले गोष्ठी सञ्चालन गर्नुभएको थियो । वि.सं. १९८२ मङ्सिर २ गते काठमाडौंमा जन्मनुभएका डा. पन्तले २०२५ देखि २०३० सालसम्म राष्ट्र बैंकको गभर्नर र २०३७ देखि २०३९ सालसम्म अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ राष्ट्रिय योजना आयोगका संस्थापक सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको नेतृत्वकालमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायसँगको सम्बन्ध विस्तारमा फलदायी र परिणाममुखी प्रयासहरू भएका थिए । डा. पन्तको कार्यकालमा मुलुकको अर्थतन्त्रको नीतिगत र संरचनागत सुधारका निम्ति भएका प्रयासको स्मरण गर्दै उहाँप्रति सम्मानस्वरूप बैंकद्वारा उक्त गोष्ठी आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै