गुरुङ, भट्ट र अग्रवालका विषयमा आएका भ्रामक र काल्पनिक समाचारप्रति ध्यानाकर्षण

जन–जेड समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको छ । यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गरे, उनीहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै, आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

यस परिवर्तनपछि केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं ।त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ ।

उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उनीहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।

हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ । त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन ।

तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खवरहरु प्रकाशन गरेको देख्दा हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन/ प्रसारण गरेको देखिएको छ ।

यस आन्दोलनका क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटमा हामीद्वारा प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ । विभिन्न बाधा व्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ ।

यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।

प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौं । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।

तर, साथै हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।

साथै, सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत कपोलकल्पित समाचारको पछाडि नलाग्न समेत हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबामा हार्दिक अपिल गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै