• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

पर्सामा हैजा नियन्त्रणउन्मुख

काठमाडौँ । पर्साको वीरगन्जमा फैलिएको हैजा नियन्त्रणउन्मुख छ । गत वर्ष काठमाडौँ उपत्यकामा समेत छिटपुट रूपमा हैजाका जीवाणु फेला परेपछि सरकारको उच्च सतर्कतासहितको सक्रियताले नियन्त्रण भएको थियो । हरेक वर्ष बर्सातमा मुलुकका केही स्थानमा हैजाका जीवाणु भेटिने र कतै कतै प्रकोपको रूप लिने गरेको छ । यो पटक वीरगन्जबाट फैलिएको हैजाले केहीको ज्यानै लिएको छ  भने एक सयभन्दा बढी बिरामी परेका छन् ।

यसरी सालैपिच्छे हैजा फैलन थालेपछि सरकारले हैजा नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ । पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ । यस पटक पनि वीरगन्जका अस्पतालमा झाडापखाला तथा हैजाका बिरामी डिस्चार्ज हुने र भर्ना हुने क्रम जारी छ ।

यो वर्ष हैजाको प्रकोप वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ११, १२, १३ र १६ मा बढी देखिएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेले वीरगन्जमा फैलिएको हैजा नियन्त्रणमा आउने क्रममा रहेको जानकारी गराए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जोखिमयुक्त क्षेत्रमा सङ्घीय सरकार, प्रदेश तथा स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएर काम गरेकाले हैजा नियन्त्रणउन्मुख अवस्थामा आएको जानकारी दिए। उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको जानकारी दिँदै खानेपानीको स्रोतमै हैजाको सङ्क्रमण पुष्टि भएको बताए। पर्सा स्वास्थ्य कार्यालयले १४ पालिकाको स्वास्थ्य संयोजकलाई बोलाएर हैजा फैलन सक्ने सम्भावित स्थानमा अलर्ट हुन निर्देशन दिइएको छ । नेपालमा प्रत्येक वर्ष बर्खायाममा प्रदूषित पानीका कारण हैजा तथा झाडापखाला फैलने गरेको छ । 

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार ३१६ जनामा हैजा पुष्टि भएको थियो । २०८०/८१ मा घटेर एक हजार १६ जनामा र आव २०८१/८२ मा दुई हजार ३७३ जनामा हैजा पुष्टि भएको थियो । यस्तै आव २०८१/०८२ मा देशभरि एक लाख ९९ हजार १६९ जना झाडापखालाका बिरामी थिए । आव २०८०/८१ मा दुई लाख २७ हजार ४८५ जनामा झाडापखाला देखिएको थियो ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक न्यौपानेले नेसनल मेडिकल कलेज, एड्भान्स हस्पिटल र वीरगन्ज हेल्थ केयरलगायतका निजी अस्पतालमा भर्ना भएका बिरामी डिस्चार्ज भइसकेको जानकारी दिँदै नारायणी अस्पतालमा भने अझै बिरामीको चाप रहेको बताउनुभयो । दूषित पानी प्रयोग गरिएका खानेकुराबाट पनि हैजा सर्ने गर्छ, निर्देशक न्यौपानेले भने, “हैजाको जीवाणुले सानो आन्द्रामा सङ्क्रमण गराउँछ ।”

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले हैजाका बिरामी बर्सेनि देखा पर्ने गरेको जानकारी दिए । उनले हैजा परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुन सक्ने बताए । उनले हैजाका बिरामी बढ्दै जाने हो भने नियन्त्रण गर्न पनि कठिन हुने भन्दै व्यक्ति आफैँ र सरकारले हैजा नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने बताए।

सरुवारोग विशेषज्ञ डा. पुनले अधिकांश हैजाका बिरामीमा मध्यमदेखि गम्भीर लक्षण देखिने जानकारी दिँदै हैजाको ब्याक्टेरिया शरीरमा प्रवेश गरेको १२ घण्टादेखि पाँच दिनभित्र गम्भीर लक्षण देखा पर्ने बताए । उनले अचानक पखाला लाग्नु, निर्जलीकरण हुनु, बान्ता हुनु, आँखा गढ्नु, थकान हुनु, मुख सुक्खा हुनु, अत्यधिक तिर्खा लाग्नु, रक्तचाप घट्नु हैजाको लक्षण रहेको बताए । हैजाबाट जोगिनका लागि खानेपानी तताएर मात्र पिउनुपर्ने बताउँदै डा. पुनले काँचो वा कम पकाएको माछाको सेवन नगर्ने, उमालेको वा रासायनिक प्रशोधन गरिएको पानी मात्र पिउने, खाना पकाउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुन र सफा पानीले हात धुनुपर्ने बताए । 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै