उराँव समुदायको करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रमको तयारी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ । सुनसरीमा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा भदौ २२ गते पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा उराँवहरूले जातीय पहिरनमा  र्‍यालीसहित नगर परिक्रमा गर्ने, प्रतिष्ठानको कार्यालय इनरुवा २ करम टोंकामा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको जनाएको छ ।

उराँवको महान् पर्वको बारेमा जानकारी दिन, मौलिक कला तथा भाषाको संरक्षण गर्ने र उराँव मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।

उराँवले उराँव समुदायहरूको हक, अधिकार र पहिचान संरक्षणका लागि समेत आठौं करम पूर्वसन्ध्या कार्यक्रम गर्ने तयारी भएको बताए । उराँवहरूको आफ्नै मौलिक पहिचान, भाषा, लिपि र संस्कृति भएकाले त्यसको संरक्षणमा योगदान गर्न करम पूर्वसन्ध्या गर्ने तयारी गरेको जानकारी दिए।

यस कार्यक्रमले उराँवहरूको पहिचान तथा सम्मानका लागि समेत योनदान गर्ने अपेक्षा गरेको शिक्षक सम्पतलाल उराँवले बताए । करमका लागि उराँव समुदायले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गर्ने तयारी भएको शिक्षक परमेश्वर उराँवले बताए । सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गर्ने उनको भनाइ छ ।

करम पूर्वसन्ध्या कार्यक्रममा आफ्नो कलाकौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गर्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सदस्य ब्रह्मदेव उराँवले बताए ।

नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभूषा र भाषा, संस्कृतिप्रति जानकारी दिने र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउन कार्यक्रम सार्थक हुने उल्लेख गरिएको छ  ।

                                                                                                                                        जयकृष्ण यादव 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै