नेपालमा समस्याग्रस्त बाघको सङ्ख्या १७ पुगेको छ । समस्याग्रस्त बाघलाई सरकारले नियन्त्रणमा लिई खोरमा राखेर पाल्ने गरेको छ ।सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको थियो । बाघ पाइने क्षेत्रमा हरेक वर्ष गरिने नियमित अनुगमनमा यो सङ्ख्या पछिल्ला दिनमा वृद्धि भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा बाघको गणना गर्न सरकारले बजेट विनियोजन गरेको छ । समस्याग्रस्त बाघलाई बिभिन्न स्थानमा निर्माण गरिएका वन्यजन्तु उद्धार केन्द्र तथा खोरमा राख्ने गरिएको छ । समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिई हाल जावलाखेलको सदर चिडियाखानामा पाँच वटा बाघ राखिएका छन् । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा ६ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा चारवटा, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक–एक वटा बाघ निकुञ्जमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा राखिएका छन् ।
नेपालमा बाघ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस वरिपरिका क्षेत्रमा पाउने गरेको छ । विश्वमा लोपोन्मुख अवस्थामा पुगेको बाघको सङ्ख्या नेपालमा वृद्धि भएसँगै बाघबाट स्थानीय समुदाय पीडित हुन थालेपछि समस्याग्रस्त बाघलाई प्राकृतिक वासस्थानबाट नियन्त्रणमा लिई पाल्ने गरिएको छ । प्राकृतिक वासस्थानबाट बाहिर निस्केर मान्छे, पशुवस्तु, भेडाबाख्रा खान थालेपछि त्यस्ता बाघलाई सरकारले समस्याग्रस्त वन्यजन्तु घोषणा गरी लठ्याउने औषधी (डार्ट) प्रयोग गरेर नियन्त्रणमा लिने गरेको छ । वनमा शिकार गर्न नसक्नेगरी बिरामी भएर, घाइते भएर, बुढो हुने लगायतका कारणले बाघ निकुञ्जको वरिपरिको बस्तीमा पसेर आक्रामक बन्दै गएपछि सरकारले डार्ट गर्ने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएकोमध्ये एउटा बाघ वृद्ध अवस्थामा मरेको छ । हाल चितवनमा पाँचवटा बाघलाई नियन्त्रणमा राखिएको छ ।
बर्दियामा ६ वटा बाघ नियन्त्रणमा लिई खोरमा राखिएकामध्ये बुढो भएर कालगतिले दुईवटा बाघ मरेपछि हाल चारवटा छन् । निकुञ्ज क्षेत्रमा निर्माण गरिएका खोरमा राख्ने ठाउँ साँघुरो भएपछि समस्याग्रस्त बाघलाई सदर चिडियाखाना जावलाखेलमा ल्याउने गरिएको छ ।बाघ पाइने निकुञ्ज वरिपरिको मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा गर्न, निहुरो, च्याउलगायतका सागपात टिप्न जाँदा, गाईभैँसी, भेडाबाख्रा चराउन जाने क्रममा बाघको आक्रमणमा पर्नेगरेका छन् । बाघको आक्रमणबाट मर्नेको सङ्ख्या पछिल्लो पाँच वर्षमा ४२ जना पुगेको छ । हुन त सरकारले वन्यजन्तुको वासस्थान व्यवस्थापनमा उचित ध्यान दिँदै आएको छ । निकुञ्जभित्र बाघको आहारा प्रजातिलाई चाहिने गुणस्तरीय घाँसेमैदान निर्माण, पानीको स्रोतको व्यवस्थापन गरी बाघको आहारा प्रजातिको सङ्ख्या वृद्धि गर्दैआएको छ ।
बाघले बँदेल, चित्तल, जरायो, हरिण, निलगाई, गौरीगाई, मृग लगायतका वन्यजन्तुको शिकार गर्नेगर्छ । प्राकृतिक वासस्थानमा शिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ गाउँबस्तीतर्फ पस्नेगरेको कुरा बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए । डा. रामले भने , ‘‘वनजङ्गलमा एक आपसमा जुधेर घाइते भई अशक्त भएर, बुढो हुँदा दाँत, नङ्ग्रा खिइएर लगायतका कारणले बाघ मानिस, गाईगोरु, भेडाबाख्रा खान पल्किने गर्छ । हात्ती, गैँडाजस्ता जनावरलाई नियन्त्रणमा लिएर फेरि जङ्गलमा छाड्न सकिने भए पनि मांसाहारी जनावर बाघलाई जङ्गलमा छाड्दा फेरि क्षति गर्न सक्ने भएकाले खोरमा राख्न उपयुक्त हुन्छ ।’’ यसरी नियन्त्रणमा लिई खोरमा राखेको बाघको पालनपोषण र स्याहारसुसार गर्न धौधौ हुनेगरेको छ । प्रतिबाघ, प्रतिहप्तामा कम्तीमा ३० किलोग्राम मासु आहारका लागि दिने गरिएको छ । आहार, स्याहारसुसार तथा अन्य व्यवस्थापन गर्न प्रतिमहिना प्रतिबाघ एक लाख रुपियाँभन्दा बढी लाग्ने गर्छ । यो रकम सरकारको नियमित बजेटमा विनियोजन नहुने गरेकाले संरक्षण साझेदार संस्थाको सहयोगमा खोरमा राखिएका बाघलाई पाल्ने काम भइरहेको छ । बाघले जतिसुकै समस्या सिर्जना गरे पनि विश्वमा दुर्लभ मानिएको वन्यजन्तु भएकाले यसलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । बाघलगायतका दुर्लभ वन्यजन्तुको बेचबिखन, ओसारपसार लगायतको काममा प्रतिबन्ध लगाउने बिभिन्न अन्तर्राष्ट्रिय सन्धी, सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले नेपालमा बाघलाई संरक्षित वन्यजन्तु मानेको छ । सो ऐनको दफा १५ मा कुनै संस्था, स्थानीय निकायले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन, वंशाणु स्रोतको संरक्षण तथा अध्ययन अनुसन्धान प्रयोजनका लागि तोकिए बमोजिमको इजाजत प्राप्त गरी चिडियाखाना सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली संशाेधनको क्रममा छ । विभागले सोही ऐनअनुसार नियमावली संशाेधन गर्दा समस्याग्रस्त बाघको व्यवस्थापन गर्न प्रदेशस्तरका चिडियाखानामा राख्न सकिने व्यवस्था गर्न प्रस्ताव गरेको कुरा विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार समस्याग्रस्त बाघलाई पर्यापर्यटनसँग जोड्दा बाघको उचित व्यवस्थापन गर्न सकिने र पर्यापर्यटनको सम्भावना पनि वृद्धि हुने देखिएको छ । बाघलाई देखाएर पर्यापर्यटनको विकास गर्न चाहने सामुदायिक वन, स्थानीय तह र प्रदेश सरकारले निर्माण गरेका ससाना चिडियाखानामा राख्न सकिने व्यवस्था भएमा प्राकृतिक वासस्थानबाट बाहिर निस्किएका बाघको उचित समाधान हुने महानिर्देशक डा. कँडेलले विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






