डा. शुक्रराज अधिकारी
समकालीन समाजमा गोत्र व्यवस्थाका कारण बिहेबारी तथा लेनदेनमा ठूलो प्रभाव परेको देखिन्छ । खास गरी मागी विवाहको प्रक्रियामा सबै कुरा मेल खायो तर केटा पक्ष र केटी पक्षको गोत्र मिल्न गएमा विवाह रद्द हुने परम्परा यद्यपि छ । त्यसैले मागी विवाहमा वर बधूका बारेमा खोजी गर्दा सबैभन्दा पहिले गोत्रको नाम सोध्ने चलन रहँदै आएको छ ।
केटाकेटीको गोत्र एउटै हुन गएमा अरू सबै कुरा मिले पनि एउटै रक्तसमूहका दाजुबहिनीको अर्थ लाग्ने भएकाले एउटै गोत्रभित्रका केटाकेटीबीचको विवाहलाई वर्जित गरिने चलन अभ्यासमा रहेको देखिन्छ । यसको मूल कारण गोत्रलाई रक्तसम्बन्ध तथा वंशगत समूहका रूपमा मान्नु नै हो ।
हजारौँ वर्षअघिदेखि नै एउटै वंशका सन्तान अन्तर्गत पर्दछौँ भन्ने विश्वासमा केटाकेटीबीच दाजुबहिनीको नाता पर्छ भन्ने मानिन्छ । निश्चित पुस्ता कटेपछि एउटै बाबुबाजेका सन्तानका बीचमा पनि कुल फुट्ने र जुठोसुतक बार्ने चलन फुकाउँदै गएको पनि देखिन्छ तर गोत्र हजारौँ वर्षअघिदेखि अभ्यासमा रहेको छ । कति पुस्ता भए त्यसको निरन्तर गणना नै सम्भव नभएको अवस्था छ तर बिहेबारीमा सगोत्रीया भएका कारण छेकथुन भएको देखिन्छ ।
वर्तमान नेपाली समाजको यस्तो बलियो अभ्यासका रूपमा रहेको गोत्र परम्परा के रक्तसम्बन्ध तथा वंशसम्बन्धमा मात्रै सीमित हो त ?, यसको ऐतिहासिकता के हो ? यस्ता प्रश्नको उत्तर खोज्नु वर्तमान अनुसन्धानकर्ताको अनिवार्य कर्तव्य हुन आउँछ ।
गोत्र र यसको ऐतिहासिकता
ऋग्वेदमा गोत्रको अर्थ गाईको बथानसँग जोडेर लगाइएको छ भने अथर्ववेदमा गोत्रलाई किल्ला तथा सिमानासँग सादृश्य गरिएको छ । यसबाट के बुझिन्छ भने वैदिक कालमा गोत्र रक्त तथा वंश समूह मात्र नभएर एउटै आश्रम तथा किल्ला वा सीमा वा गाईगोठभित्र रहेका सबै सदस्यबीचको साझा सूचक तथा प्रतीकात्मक शब्दका रूपमा प्रयोग भयो । जहाँ एउटै रक्त वंशका सदस्य मात्र नभएर भिन्न भिन्न रक्तसमूह तथा वंशका मानिस पनि हुन सक्दथे भन्ने बुझिन्छ ।
प्राचीन तथा ऋग्वैदिक कालमा जीवनयापनको प्रमुख माध्यम पशुपालन थियो । त्यसमा पनि गाईको अधिक महत्व थियो । गाईलाई विनिमयको सूचक एवं सम्पन्नताको सूचकका रूपमा मानिएको पनि पाइन्छ । जीविकोपार्जनका लागि गाईगोठ निर्माण गरिन्थे । ती गाईगोठको नेतृत्व लिने खास खालका ऋषि हुन्थे । तिनै ऋषिका नामबाट भिन्न भिन्न खालका गोत्रको निर्माण गरिएको छ । जस्तै कश्यप, भारद्वाज, विश्वामित्र आदि ऋषिले नेतृत्व गरेको गणका सदस्य जति सबै उनै ऋषिको नामबाट निर्मित गोत्रभित्र पर्दथे ।
त्यसको क्षेत्रभित्र रहने सबै मानिस एउटै रक्तवंशका नभएर जीविकोपार्जनका लागि त्यस समूहमा आश्रित भएका पनि हुन सक्दथे । यी तथ्यबाट प्राचीन तथा वैदिक कालमा गोत्रले रक्तवंशको अर्थ नदिएर खास खालको वासस्थानभित्रका सदस्यको विम्ब दिन्थ्यो भन्ने बुझिन्छ । यस तथ्यलाई बल पुग्ने अर्को प्रसङ्ग ऋग्वेदका सूक्तमा पनि पाइन्छ । शुन शेपलाई बिक्री गरेपछि उनका बाबुले आफ्नो गोत्रमा राख्न मानेनन् । पछि विश्वामित्र ऋषिले आफ्नै गोत्रमा आश्रय दिएको सन्दर्भ छ ।
यसबाट पनि बिक्री हुनु भनेको वासस्थानबाट निष्क्रिय भएको र नयाँ बस्ने ठाउँ (आश्रम, गाईगोठ) मा जाँदा त्यहीँको गोत्र प्राप्त भएको तर उनले प्राप्त गरेको गोत्रको नाम तत् ऋषिको सन्तान चाहिँ नभएको तथ्य बुझिन्छ । ऋषिहरूले आफ्नो आश्रय तथा आश्रमभित्रका खास समूहलाई खास खालको चरा तथा जनावरको सङ्केत तथा चिह्न (टोटेम) दिने गर्दथे भनेका छन् । यसले पनि रक्तवंशभन्दा पनि एउटै वासस्थानभित्रको समूह सूचकका रूपमा गोत्रको उत्पत्ति र विकास भएको तथ्य प्रदान गर्दछ ।
यसरी गोत्रलाई वर्तमान कालमा रक्तवंशकै सदस्य भनेर बुझ्ने र बिहेबारीमा एउटै गोत्रभित्र गर्दा एउटै रक्तवंश प¥यो भन्ने मान्यतामा प्रश्न उठ्छ । गोत्रभित्र रक्तवंश हुँदै हुँदैन भन्ने पनि होइन र गोत्रभित्रका सबै सदस्य एउटै रक्तवंशका हुन् भन्ने ठान्नु वा भन्नु पनि सत्य होइन रहेछ भन्ने कुरा टुङ्गोमा पुग्न सकिन्छ ।
वंश र गोत्र परिवर्तन
वेदकालीन समयमा आफ्नै कुल तथा गोत्रको सन्तान विवाह र बिक्रीपछि गोत्रच्यूत हुने र नयाँ गोत्रमा सर्ने चलन रहने गरेको देखिन्छ । ऋग्वेदको विवाह सूक्तमा सूर्याको विवाहपछि उनी आफ्नो पैतृक कुलबाट मुक्त भई नयाँ कुलमा सरेको सन्दर्भ पाइन्छ भने शुन शेपलाई उसका बाबुले बलि दिन बिक्री गरेपछि वरुणको स्तूतिबाट उनी बलि चढ्नबाट बचे पनि उनका बावुले बिक्री गरिसकेको छोरालाई आफ्नो गोत्रमा भित्रिन नदिई गोत्र च्यूत गराएको सन्दर्भ पनि छ ।
ऋग्वेदको १० औँ मण्डलको ८५ औँ सूक्तको २५ सौँ ऋचामा कन्यालाई सम्बोधन गर्दै “तिमीलाई पिताका कुलबाट मुक्त गर्दछौँ तर पतिका कुलबाट होइन । तिमीलाई पतिका कुलमा राम्ररी आबद्ध गराउँछौँ,” भन्ने भाव व्यक्त भएको छ ।
पे्रतो मुञ्चामि नामुतः सुबद्धाममुतस्करम् ।
यथेयमिन्द्र मीढ्वः सुपुत्रा सुभगासति ।।२५।।
(हे कन्या यस पिताका कुलबाट तिमीलाई मुक्त गर्दछौँ तर पतिका कुलबाट होइन । पतिका कुलमा तिमीलाई राम्ररी आबद्ध गराउँछौँ । हे कामना वृषक इन्द्र देव यी वधु सुसन्तानले सम्पन्न र सौभाग्यवती रहुन् । ऋ–१०–८५–२५) ।
यस भावले वेदकालीन समयमा विवाहपछि छोरीको पिताबाट गोत्र परिवर्तन भएर पतिको गोत्रमा सर्ने चलन रहेको देखाउँछ । सनातनी तथा वैदिक विवाह पद्धतिमा हाल पनि यस्तै चलन रहँदै आएको छ । वर्तमानको यो परम्परा पनि त्यही वैदिक संस्कृतिको निरन्तरता हुन सक्छ । गोत्रको खास अर्थ कुलको सदस्य तथा सोही कुलले पालनपोषण एवं त्यसको आर्थिक जिम्मेवारी लिनुपर्ने कुरासँग सम्बन्धित देखिन्छ ।
विवाहपछि छोरीको गोत्र पिताकुलबाट परिवर्तन भएर पतिको गोत्रमा सर्नु भनेको पितृसत्तात्मक परिवार संरचनामा छोरीको विवाहपछि उनको पालनपोषणको जिम्मेवारी वर पक्षको कुलमा हस्तान्तरित हुन्छ भन्ने अर्थ हो ।
मदनमणि दीक्षितले ऋग्वेदको ऋचालाई विश्लेषण गर्दै कमारोका रूपमा बेचिएका पुत्रको गोत्र च्यूत भएको सन्दर्भलाई ‘त्यो युग’ पुस्तकमार्फत व्यक्त गरेका छन् । भनिएको छ, “कमारोका रूपमा बेचिएर गोत्र च्यूत भएको शुन शेपलाई आफ्नो गोत्रमा फिर्ता लिन उनका बावु अजीगर्त सौयावाशी राजी हुँदैनन् । उसका कुलका अन्य सदस्य पनि शुन शेपलाई लिन राजी हुँदैनन् । त्यस बखत बिनागोत्रको मानिसको कल्पनासम्म हुन सक्दैनथ्यो । यस्तो अवस्थामा दस्यु, असुर, राक्षस, दानव, दैत्य र दास इत्यादि बाहेक शुन शेप बिलखबन्दमा परेर निऋतिलाई सराप्न थाले । त्यो देखेर उनका मामा पर्ने ऋषि विश्वामित्रले नयाँ धर्म रूपी आफ्नो हात अगाडि बढाएर शुन शेपलाई आफ्नो कौशिक गोत्रमा आउन आग्रह गरे । विश्वामित्रको त्यस्तो कार्यले धर्म विरोधी आचरणका रूपमा आई उनको गोत्रमा विद्रोह खडा गर्छ र कौशिक कुल गोत्रमा आचार्य कौशिकले शुन शेपलाई सगोत्रीय रूपमा प्रवेश गराएको कार्यलाई विरोध गर्दै कौशिकहरूको ठूलो सङ्ख्याले विश्वामित्रलाई बहिष्कार गर्दछ । तथापि विश्वामित्रले पनि शुन शेपलाई आफ्नो गोत्रमा लिँदा त्यस बालकको नाउँ फेरेर देवरात भन्ने नयाँ नाम राख्छन् । यसरी गोत्र परिवर्तन हुँदा नयाँ नाम राखे पुरानो नाउँ पुरानै गोत्रसँगै अन्त्य हुन्थ्यो ।”
उल्लेखित ऐतिहासिक विश्लेषणबाट वेदकालीन समयमा गरिब मानिसको बिक्रीसमेत हुने गरेको, बिक्री भइसकेको मानिस फिर्ता भएर आउँदा उनका बावुले आफ्नो गोत्रमा प्रवेश नदिएको, त्यसलाई अर्कै नाम दिएर विश्वामित्र ऋषिले आफ्नो गोत्रमा प्रवेश गराएको तथ्य प्राप्त हुन्छ । यसबाट त्यस समयमा बिक्री हुँदा तथा कमारो (तल्लो) वर्गमा सर्दा मानिसको पनि गोत्र परिवर्तन हुने गर्दथ्यो भन्ने बुझ्न सकिन्छ ।
वंश र गोत्रबीचको सम्बन्ध
वर्तमान परिवेशमा वंश र गोत्रलाई समानार्थी भावमा बुझिए पनि वेदकालीन ऐतिहासिक सन्दर्भले समानभावमा व्याख्या गरेको देखिँदैन । कुनै पनि बावुआमाको रक्तसम्बन्धको शाखा सन्तानले वंशजको अर्थ प्रदान गर्दछ तर गोत्रले शाखा सन्तान तथा वंशको खलकलाई मात्र नजनाएर जीवन निर्वाहका लागि एउटै ऋषि आश्रम अन्तर्गत रहेर जीविका चलाउने तथा एउटै वासस्थानमा रहने मानिसको समेत उही एउटै गोत्र प्राप्त गरेको तथ्य ऋग्वेदका ऋचामा उल्लेख भएको पाइन्छ ।
माथि उल्लेखित शुन शेपको गोत्र परिवर्तनको सन्दर्भले वेदकालीन समाजमा ऋषिकुल सम्बद्ध आश्रम तथा वासस्थान हुने गरेको, तिनै ऋषिकुल अन्तर्गतको वासस्थानमा रहेर जीविका चलाउने सबै सदस्य उनै ऋषि नामको गोत्र अन्तर्गतको सदस्यका रूपमा चिनिने प्रस्ट्याउँछ तर वास्थानमा रहने सबै सदस्य एउटै वंशका हुन्छन् नै भन्ने थिएन ।
ऋषिकुलमा ज्ञान आर्जन, युद्धकला, योग साधना, गोरक्षा आदि विभिन्न हेतुले जम्मा भएका ऋषिका शाखा सन्तान (वंश) भन्दा बाहिरका मानिस पनि एउटै गोत्र समूहका सदस्यका रूपमा चिनिन्थे । यसबाट वंश र गोत्रलाई समभावमा बुझ्दा र व्याख्या गर्दा गलत हुन जान्छ । एउटै गोत्र भएका मानिस एउटै वंशजका हुन्छन् नै भन्न सकिँदैन तर एउटै ऋषिकुल तथा आश्रमका सबै सदस्यको (अन्य वंशको भए पनि) एउटै गोत्र रहने गरेको बुझ्न सकिन्छ ।
वर्तमानमा सगोत्रीयलाई रक्तसम्बन्धको नातासँग नै जोडेर व्यवहार गर्ने चलन छ । गोत्र परम्परामा ऐतिहासिक वास्तविकता लोप भएर गलत चलनको विकास हुन गएको देखिन्छ । जस्तै कश्यप गोत्रभित्र कश्यप ऋषिका रक्तसम्बन्धका शाखा सन्तान मात्र नभएर कश्यप ऋषिकुलमा रहेर जीविका गर्ने, ऋषि रक्तसम्बन्धभन्दा बाहिरका सदस्यसमेत हुन सक्ने भएकाले सगोत्रीयाहरू सबै एकै वंशका नै हुन्छन् भन्ने ठान्नु र मान्नु गलत हुन जाने तथ्य वैदिक सन्दर्भले दर्साएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






