मोरङका जल-सम्पदा: राजारानी पोखरी, बेतेनी सिमासार र बेतना सिमसार

राजारानी पोखरी 
राजारानी लेटाङ नगरपालिका वडा नम्बर १ मा अवस्थित छ । यो पोखरी प्रदेश राजधानी विराटनगरबाट करीब ५० किलोमिटर उत्तरपूर्वमा रहेको छ । पूर्वपश्चिम राजमार्गदेखि करीब १३ किलोमिटर उत्तरमा रहेको राजारानी पोखरी क्षेत्रको क्षेत्रफल करीब २० हेक्टर रहेको छ । प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जलचर तथा वनस्पति यस क्षेत्रका मुख्य आकर्षणहरू हुन् ।  धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमालपोखरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । वरीपरी डाँडैडाँडाले छेकिएको उपत्यकाझैँ देखिने राजारानी क्षेत्रमा ३ ओटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका २ ओटा मन्दिरहरू छन् ।

यहाँका राजाले युद्ध हारेपछि पोखरीमा गएर राजारानी तथा छोरी राजकुमारीले डुबेर आत्महत्या गरेको भन्ने किंवदन्ती रहेको जानकारहरू बताउँछन् । राजारानीमा ३ ओटा पोखरी रहेका छन् । दायाँतर्फ राजा पोखरी रहेको छ भने बायाँतर्फ रानीपोखरी रहेको छ । रानीपोखरीको छेउमा सानो आकारमा राजकुमारी पोखरी रहेको छ ।
धिमालहरूले हरेक वर्षको बैशाख २ गते राजारानीमा जात्री पूजा गर्ने गरेका छन् । राजारानीमा पूजा गरी शुरु भएको जात्रीपूजा असार २ गते मोरङको उर्लाबारीस्थित दशबिघेमा समापन हुने गरेको छ ।

बेतेनी सिमासार
मोरङको उर्लाबारीमा अवस्थित बेतेनी सिमसार पर्यटकको रोजाइमा पर्ने गरेको छ । पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा तीनवटा बाघको प्रतिमा राखिएको छ । पर्यटकलाई आकर्षित गर्न बाघको प्रतिमा राखिएको हो । यस सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयुर, बट्टाइं, हाँडीफोर, बकुल्ला लगायतका चराचुरुङ्गी पाइन्छन् । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पनि पाइन्छन् ।


 

बेतना सिमसार
बेतना सिमसारमा विशेषगरि आन्तरिक पर्यटक भ्रमणमा आउने गर्छन् र निकै थोरै मात्रामा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् । गर्मीमा शीतल खोज्दै मानिसहरू बेतना जान्छन् भने जाडो याममा वनभोज खान पुग्ने गर्छन् । प्रत्येक शुक्रबार र शनिबार बेतनामा विशेष भिड हुने गरेको छ ।

बेतनामा जरुवाको पानी आइरहने हुनाले अहिलेसम्म सिँचाइका लागि पर्याप्त पानी उपलब्ध भइरहेको छ । यस सिमसार क्षेत्रमा विभिन्न किसिमका जलचर तथा पशुपक्षीहरू देख्न सकिन्छ । कछुवा, माछा, घोंघी, सिपी, गंगटा, भ्यागुता आदि जलचर रहेको यस सिमसारमा जलचरलाई आहार बनाउने जलकवा, पानी हाँसका बथान, साइबेरियन हाँसका हुल र विभिन्न प्रजातिका बकुल्ला देख्न सकिन्छ । पुतली तथा चराको अध्ययन गर्ने मानिसहरू पनि बेतना पुग्ने गरेका छन् ।
१७४।९१ हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएको जनावरसमेत राख्ने गरिएको छ । चित्तल, नीलगाई, गिद्ध, अजिङ्गर आदि जनवार राखिएका छन् । कहीँ दुर्घटनामा परेका या घाइते भएका जनावरलाई बेतनामा ल्याई उपचार गरी त्यसको पालनपोषण गर्ने गरिन्छ । समग्रमा भन्दा बेतना जनावरहरूको एक उद्धार केन्द्र हो भन्दा पनि फरक नपर्ला । बेतनाको आयस्रोत भएकाले उपचार गर्न सक्षम रहेको हुनाले विभिन्न सामुदायिक वनबाट यी जनावरहरू उद्धार गरी ल्याएर राखिएका हुन् ।

मुकाम, कोशी प्रदेश भ्रमण बर्ष - २०८२ बिशेषाङ्कबाट । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै