कोशी प्रदेश सरकारले वर्ष २०८२ लाई ‘पर्यटन वर्ष’ को रूपमा मनाउने घोषणा गरेको छ । यसअघि मनाइने ‘भ्रमण वर्ष’हरूभन्दा पृथक अवधारणा भएकाले ‘पर्यटन वर्ष भनिएको हो भन्ने ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक कृष्णकुमार शाहको तर्क छ । उनी भन्छन्, ‘भ्रमण वर्ष एक वर्षमा सकिने कार्यक्रम हो तर पर्यटन वर्ष एक वर्षमा सकिने कार्यक्रम होइन, केवल थालनी हो– यो कार्यक्रम वर्षौं चलिरहने प्रक्रिया हो ।’ त्यसकारण पनि पर्यटकहरूको सङ्ख्या यत्ति र उत्ति बढाउने भनेर केही तोकिएको छैन । त्यसै गरी प्रदेशमा पर्यटकीय माहौल बढाएर आगामी वर्षहरूमा पनि कोसीको पर्यटकीय रोजगार र व्यापार वृद्धि गर्ने नै प्रमुख लक्ष्य भएको मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन मन्त्री सदानन्द मण्डलले बताउँदै आउनुले पनि यो बहुवर्षीय परियोजना भएको पुष्टि गर्छ । पर्यटकको सङ्ख्या बढाउने भन्दा पर्यटकीय माहौल र चहलपहल बढाउने उद्देश्य रहेको पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बराल बताउँछन् । बराल भन्छन्, ‘यो पर्यटन वर्ष हो । भ्रमण वर्ष होइन ।’

पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले तीन पर्यटकीय कोरिडोरको अवधारणा अघि सारेर प्रचारप्रसार तीव्र बनाएको छ । नेपालको सबैभन्दा होचो भूभाग कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमै पर्ने हुनाले यस प्रदेशले मनाउन लागेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अन्तर्राष्टियस्तर सम्मै प्रचार प्रसार गर्नुपर्ने र भारतका सीमावर्ती शहरमा बढी प्रचारप्रसार गर्नुपर्ने ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठ बताउँछन् । यी कोरिडोरमा रहेका प्राकृतिक, सांस्कृतिक, जैविक, पर्वतीय र साहसिक सबै किसिमका पर्यटकीय गन्तव्य तथा गतिविधि समेटेर पर्यटन प्रचार गरिरहेको छ । जसमध्ये पनि धार्मिक–सांस्कृतिक पर्यटन कोशी प्रदेशको पर्यटनको रक्तसञ्चार गराउन सक्ने क्षेत्र भएकाले यसैमा जोड दिनुपर्ने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका माननीय मन्त्री सदानन्द मण्डलको जोडबल रहेको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालयले प्रकाशन गरेको तीन कोरिडोरका बुकलेटमा प्रत्येक करिडोरबाट ३७ गन्तव्य प्रस्ताव गरिएको छ ।
‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ मा प्रस्ताव गरिएका तीन कोरिडोरका १०० बढी गन्तव्य यस प्रकार छन्ः
(१) केचनादेखि कञ्चनजङ्घासम्ममा प्रस्ताव गरिएका ३७ गन्तव्य
(२) मोरङदेखि मकालुसम्ममा प्रस्ताव गरिएका ३७ गन्तव्य
(३) सप्तकोसीदेखि सगरमाथासम्ममा प्रस्ताव गरिएका ३७ गन्तव्य

केचनादेखि कञ्चनजङ्घासम्ममा प्रस्ताव गरिएका ३७ गन्तव्य
नेपालको सबैभन्दा होचो भूभाग कचनकवलदेखि विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घा समेट्ने आकर्षक प्याकेज हो केचना–कञ्चनजङ्घा कोरिडोर । यसमा कोसी सरकारले ३७ गन्तव्यहरू अटाएर प्रचार गरिरहेको छ । ती गन्तव्यहरूमा झापाका कचनकवल, किचकवध, जामुनखाडी सिमसार, सताक्षीधाम, अर्जुनधारा जलेश्वर धाम, कृष्णथुम्की छन् । इलामका गन्तव्यहरूमा सानो पाथीभरा, किरात पार्क चिसापानी, कार्सोङ ट्रेल, माङ्सेबुङ, श्री अन्तु, कन्याम, माइपोखरी, सन्दुकपुर, सिद्धिथुम्का, माङ्मालुङ, पानीटार र पाटेनागी समेटिएका छन् । पाँचथरका गन्तव्यहरूमा सिलौटी, सेहोनाम्लाङ, अगेजुङ गुम्बा, कुम्मायक कुस्सायक, सुम्हात्लुङ, साधुटार, फालोट, हिलिहाङ दरबार, जोरपोखरी, सुकेपोखरी र गुप्तेश्वर महादेव छन् । ताप्लेजुङका गन्तव्यहरूमा पाथीभरा, सिङ्जेमा ताल, दिकिछोयोलिङ गुम्बा, कुम्भकर्ण, कञ्चनजङ्घा संरक्षण क्षेत्र, तिम्बुङ पोखरी, फुङ्फुङ्गे झरना र कञ्चनजङ्घा रहेका छन् ।

मोरङदेखि मकालुसम्ममा प्रस्ताव गरिएका ३७ गन्तव्य
मोरङदेखि मकालुसम्मका ३५ गन्तव्यहरूमा मूलतः मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाहरूका गन्तव्यहरू यो कोरिडोरमा समेटिएका छन् । मोरङ जिल्लाबाट विराट राजाको दरबार, धनपालगढी, सुनवर्सी पोखरी, बेतना सिमसार, जेफाले डाँडा समेटिएका छन् । सुनसरीका रामधुनी, तालतलैया, बर्जुताल, चतरा÷बराहक्षेत्र धाम, विजयपुर क्षेत्र, विष्णुपादुका, सेछ एडभेन्चर पार्क, श्रम संस्कृति पार्क, कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता गन्तव्यहरू छन् । धनकुटाबाट समेटिएका गन्तव्यहरूमा भेडेटार, नमस्ते झरना, नाम्चे गाउँ, राजारानी ताल, ध्वजे डाँडा, छिन्ताङ जाल्पादेवी र हिले बजार छन् । भोजपुरका हतुवागढी, टक्सार, सिल्पासिलिचुङ, चखेवा, मैयुङ डाँडा गन्तव्य सूचीमा अटाएका छन् । तेह्रथुमबाट तीनजुरे, चोलुङ पार्क, ह्यात्रुङ झरना अटाइएका छन् भने सङ्खुवासभाबाट सिद्ध काली, अरुण उपत्यका, किमाथाङ्का, गुफा पोखरी, सभापोखेरी र मकालु हिमाल छन् ।

सप्तकोसीदेखि सगरमाथासम्ममा प्रस्ताव गरिएका ३७ गन्तव्य
उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला समेटिएको यो कोरिडोरका ३७ गन्तव्य छन् । उदयपुरका गन्तव्य तथा गतिविधिहरूमा प्याराग्लाइडिङ, जङ्गल सफारी, जेट बोट, कटारी बजार, लिमचुङबुङ एभरेस्ट भ्यु पोइन्ट, चौदण्डीगढि, ताप्ली पोखरी, रौता पोखरी, मैनामैनी र उदयपुर गडी छन् । खोटाङ जिल्लाका गन्तव्यहरूमा हलेसी, तुवाचुङ जयजुम, तुवाचुङ मिनी ग्रेटवाल, मजुवाकालिका भगवती, साप्सुधाप, जन्तेढुङ्गा, केपिलासगढि, बराह पोखरी, टेम्के डाँडा छन् । ओखलढुङ्गाका गन्तव्यहरूमा देम्बा डाँडा, पोकली झरना, चम्पादेवी, रुम्जाटार, सिद्धिचरण पार्क, ओखलढुङ्गा बजार छन् । यस्तै सोलुखुम्बुका समेटिएका गन्तव्यहरूमा पत्ताले, पिके डाँडा, नाम्चे बजार, दूध कुण्ड, पाँच पोखरी, मेरा पिक, लुक्ला विमानस्थल, ल्होत्से, चो ओयू, सगरमाथा राष्ट्रिय निकुञ्ज, पासाङ ल्हामुको जन्मस्थान सुर्के र सगरमाथा छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम
- सुदुर पश्चिमबाट गगनको नेतृत्व स्वीकार नगर्ने देउवा पक्षको सन्देश
- कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई १० थान डोनर बेड सहयोग
- ‘संस्कृति र प्रकृतिको काखमा’ नारासहित भारतीय पर्यटकलक्षित कर्णाली टुरिजम मिट–२०२६ सुरु



ट्रेन्डिङ
जिके पाेख्रेल





