वासुदेव पौडेल
वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुङ्गैढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।
गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिकरुपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा पनि सिक्लेसलाई लिइन्छ । तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका थिए ।
त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको यो स्थानमा केही समयअघि शान्ति स्मारकको अनावरण गरिएको थियो । पर्यटन राजधानी पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूूरीमा रहेको यो ठाउँ समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा छ । केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा घरबास र होटेलहरुको सङ्ख्या बढ्न थालेको छ ।
प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको यो गाउँ मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्दछ । सिक्लेस प्रवेश गर्दा तातो चिया र मकै भटमासले स्वागत गर्ने यहाँको चलन छ । बेलुका होटेल तथा घरबास सञ्चालकले मीठो परिकारको स्वाद चखाउँछन् ।
त्यसैगरी, टीका र फूलले बिदाइ गर्ने परम्परा छ । सिक्लेसमा एक पटक आउने पर्यटक दोहोर्याएर आउने गरेको साजन इन्द्रेणी गेष्ट हाउसका सञ्चालक लिलिमाया गुरुङको अनुभव छ । गुरुङ गाउँका रुपमा आफ्नै विशिष्ट मौलिकता बोकेको सिक्लेस प्रकृति र संस्कृतिका जीवन्त पक्ष हेर्ने बुझ्ने थलो पनि भएको उनको भनाइ छ । पछिल्लो दश वर्षदेखि सिक्लेसमा होटल सञ्चालन गरिरहेकी उनले सुरुमा घरबासस ‘होमस्टे’ सुरु गरेकी थिइन् । हाल सिक्लेसमा २८ वटा होटल तथा ३६ वटा घरबासले पर्यटकलाई सेवा दिइरहेका छन् ।
सिक्लेसमा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले सञ्चालन गरिरहेको इको म्युजियम र यहाँ बनाइका कोइबोहरु अनुसन्धानकर्ताका लागि गन्तव्य बन्दै गएको मादी गाउँपालिका– १ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले बताए । इको म्युजियममा विशेषतः सांस्कृतिक सम्पदा र परम्पराका साथै गुरुङ समुदायको जीवनशैली (अन्य जातीय अल्पसङ्ख्यकहरूसहित) आदिलाई जीवन्त रुपमा चित्रण गर्ने गरी सामग्री राखिएका छन् । विशेषतः गुरुङ समुदायको रहनसहनलाई सङ्ग्रहालयमा देखाउने प्रयास गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसित सङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि उपयोगी बन्दै गएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी राखिएको छ । सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने जडीबुटीहरु कुट्को, कुरिलो, सतुवा, विष, नीलोविष, जटामसी, सिल्टिमुर, पाँचऔँले, यार्सागुम्बाबारे जानकारी एवम् अवलोकन गर्न सकिन्छ ।
साथै गुरुङ संस्कृतिका भेषभूषा, संस्कृतिका साथै रहनसहनका हरेक पक्षलाई जीवन्त चित्रण गर्ने किसिमका सामग्री प्रदर्शनमा राखिएको छ । सङ्ग्रहालयमा गुरुङ समुदायको मौलिक पोसाक राखिएको छ । साथै पर्यटकहरु उक्त पोसाकमा सजिएर तस्बिर खिच्ने गरेका छन् । सङ्ग्रहालय प्रवेश गर्ने बित्तिकै गुरुङ धर्मगुरु पत्यु, ल्हेउरी र बन्पोलमको प्रतिमा देख्न सकिन्छ ।
वि.सं. २०७१ देखि सञ्चालनमा आएको सङ्ग्रहालय यहाँ पर्यटकको ‘बलेट लिस्ट’मा छुटाउने नहुने गन्तव्य भएको सङ्ग्रहालय व्यवस्थापन उपसमितिका सचिव कृष्टी गुरुङको भनाइ छ । चालु आर्थिक वर्षको छ महिनामा एक हजार ७०० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । सङ्ग्रहालयमा प्रवेश शुल्क बापत नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि ३० र विदेशी पर्यटकका लागि एक सय ५० निर्धारण गरिएको छ ।
पर्यटकको सुरक्षाका लागि विभिन्न ६४ स्थानमा सिसिटिभी जडान गरिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सिक्लेसलाई सांस्कृतिक ग्रामका रुपमा विकास गर्नेगरी व्यवस्थित सिँढी, बाटो, सडक बत्तीको व्यवस्था पनि भइसकेको छ । स्थानीय स्तरमा सञ्चालित सिक्लेस हाइड्रोपावरबाट २०० किलोवाट विद्युत् नियमित आपूर्ति भइरहेको छ । सिक्लेसमा सङ्ग्रहालयसँगै शान्ति स्मारक, सिक्लेस पार्क पनि निर्माण गरिएको छ । यहाँबाट देखिने विभिन्न हिमालको दृश्यावलोकन पर्यटक आकर्षित गर्ने माध्यम हुन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कर्णाली समृद्ध छः समस्या राज्यको दृष्टिकोण र पूर्वाधारको अभावमा छः माधवप्रसाद चौलागाईं
- ओटीएम मुम्बई २०२६ : भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
- सिटिजन्स बैंकद्वारा "MAN–Citizens Aspiring Manager Award" पुरस्कार वितरण
- सानिमा रिलायन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त
- कोशी प्रदेश पयर्टन वर्ष २०८२ ले उघार्दैछ कोशीको पर्यटनको नयाँ क्षितिज
- पर्यटन भनेकै ‘तामझाम’ हो, हल्ला नगरी पर्यटक आउँदैनन्– भविषकुमार श्रेष्ठ
- प्रादेशिक ललितकला प्रदर्शनी सुरु
- नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक


ट्रेन्डिङ
खबरमुकाम





