पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री पाण्डे

काठमाडाैँ । होटेल व्यवसायीले नेपालमा पर्यटकको सङ्ख्या बढाउन पूर्वाधार सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा बुधबार आयोजित नेपाल सत्कार दिवसका अवसरमा व्यवसायीले नेपालका होटेलको क्षमताको एक तिहाइ मात्र प्रयोग भइरहेकाले यस्तो सङ्ख्या बढाउन पर्यटकलाई आवतजावत सहज बनाउनुपर्ने धारणा राखेका हुन् । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वयबिना पर्यटनलाई अगाडि बढाउन नसकिने भएकाले मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको जानकारी दिए । 

सो अवसरमा होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अस्तव्यस्त राजमार्ग भएर लामो यात्रा गर्नुपर्ने भएपछि बिदा मनाउन र रमाइलो गर्न पर्यटक नआउने बताए। गत वर्ष भएका हवाई तथा सडक दुर्घटना साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली हवाई सेवाप्रदायक रहेकाले समस्या झन् बढेको उनको भनाइ थियो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देशमा एक लाख ४२ हजारभन्दा बढी होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका र त्यसबाट करिब ३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सकिने तथ्यले नेपालको पर्यटन बजारमा उत्साहवर्धक आपूर्तिको स्थिति रहेको बताए । त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेकाले पर्यटकलाई आकर्षित गर्न पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्न उनले सरकारलाई आग्रह गरे। 

सङ्घका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र सञ्चालनमा आउने क्रममा रहेका ठुला तथा साना होटेलले अझ बढी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने बताउनुभयो । यद्यपि कतिपय होटेल र लज बिनादर्ता सञ्चालनमा रहनु दुःखद भएको उनको भनाइ थियो । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउनुपर्ने उनको सुझाव थियो । 

होटेल सङ्घ नेपालले स्थापना दिवसका अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस मनाउँदै आएको छ । स्थापना दिवसमै सम्पन्न सङ्घको साधारण सभाले सङ्घलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेको छ । 

कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकार प्रदर्शनी गरिएको थियो । त्यस्तै सङ्घले विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकलाई सम्मानसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै