श्रमदान अभियानमा लागी पर्दै संखुवासभा सभापोखरीका युवा

नवीन गुरुङ

संखुवासभा -    संखुवासभाको  सभापोखरी गाउँपालिकामा युवा श्रमदान अभियानमा खटिएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि भीमबहादुर लिम्बूले विकासका काममा युवालाई श्रमदान अभियानमा खटाएका हुन् । उनी आफैँ पनि गाउँपालिकाको योजना र बजेटमा निर्माण भएका विकासका काममा श्रमदान गर्ने गर्छन  । संखुवासभा सदरमुकाम खाँदबारीबाट २८ किमि दूरीमा रहेको सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसेसम्म पुग्न त्यति सहज छैन । भौगोलिक विकटता र कच्ची सडकका कारण चार–पाँच घण्टा लाग्छ । दैनिक यातायात सुविधा भए पनि सडकको स्तरोन्नति नहँदा सोचेअनुसार समयमा बाह्रबिसे पुग्न सकिँदैन । अध्यक्ष लिम्बूले खाँदबारी–बाह्रबिसे सडकलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोडिने ‘लाइफलाइन’को सडकलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन ।

‘पालिकाले संघीय सरकारबाट अनुदान प्राप्त गरेको एक्स्काभेटरले सडक स्तरोन्नति गर्ने र त्यहाँका स्थानीय हाइड्रोपावरसँग मेसिन मागेर सडक बाह्रै महिना सञ्चालन गर्ने अभियानमा छु । सडकका कारण कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्नेमा सचेत छु । सँगसँगै श्रमदान अभियान सञ्चालन गरिरहेको छु,’ लिम्बूले भने, ‘युवाहरूलाई समेटिएर श्रमदान अभियान गर्दा सरकारी स्टिमेटको आधाभन्दा कम बजेटमा काम सम्पन्न हुँदो रहेछ । चाहिने सामान उपलब्ध गराउने हो, त्यसमा युवाहरूको समेत अपनत्व हुँदो रहेछ ।’

श्रमदान अभियानअन्तर्गत शनिबार सभापोखरी गाउँपालिका– १ र खाँदबारी नगरपालिका– ७ को बीचको पाँठामा रहेको पक्की पुलको रङरोगन र सरसफाइ गरियो । करिब ८–१० वर्षअघि नै निर्माण सम्पन्न भएको पुल संरक्षण नहुँदा दिनानुदिन जीर्ण बन्दै गइरहेकाले पक्की पुलको रङरोगन गरिनुका साथै पुलदेखि केहीमाथिको भागसम्म सडकको दायाँबायाँ जंगल सरसफाइ गर्ने, नाली सरसफाइलगायत काम श्रमदानका रूपमा गरिएको लिम्बूको भनाइ छ । गाउँपालिकाले रङलगायत चाहिने सामग्री उपलब्ध गराएको र रङ लगाउने, सडक सरसफाइ गर्नेलगायत काम युवाहरूले स्वतस्फूर्त रूपमा गरेको उनले बताए । गाउँपालिका अध्यक्ष युवाहरूलाई श्रमदानलाई जोड्न थालेपछि कांग्रेसको भातृ संगठन तरुण दल सभापोखरीले श्रमदान अभियानलाई गाउँपालिकासँग हातेमालो गरेको हो । श्रमदानमा गाउँपालिकासँगै तरुण दलले अगुवाइ गरे पनि अन्य राजनीतिक दलमा आबद्ध युवाहरूको समेत सहभागिता छ । माओवादी र एकीकृत समाजवादी पार्टीका युवासमेत श्रमदान अभियानमा खटिने गरेका छन् ।

अघिल्लो शनिबार श्रमदान अभियान टोलीले सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारको भोटखोला पुलबाट सभाखोला पुलसम्म करिब एक कि.मि पक्की सडकको दायाँबायाँ स्वामीका चार सयवटा बिरुवा रोपका थिए । तरुण दलले कुनै न कुनै रचनात्मक काम गर्नुपर्छ भनेर श्रमदान अभियान सञ्चालन गरिएको तरुण दल सभापोखरीका सभापति जितमान घलेले बताए । उनले हरेक साता कुनै पनि सार्वजनिक स्थलको सरसफाइलगायत काम गर्ने अभियानका रूपमा अगाडि बढाएको बताए । ‘तरुणका साथीहरूलाई एकजुट बनाउँदै रचनात्मक कामका लागि योगदान गर्नुपर्छ भनेर समेट्ने गरेको हो,’ घलेले भने । बाह्रबिसे–धुपु–खाँदबारी सडकखण्डको भोटखोला पुलबाट सभाखोला पुलसम्म गाउँपालिकाको आफ्नै लगानीमा डेढ कि.मि सडक कालोपत्रे गरिएको छ । सभापोखरी–खाँदबारी कालोपत्रे गर्न जोडबलले लागिरहेको अध्यक्ष लिम्बूको भनाइ छ । अहिले संघ र प्रदेशबाट गरी चार करोड रुपैयाँ बजेट विनियोजन भएकाले सडक कालोपत्रे क्रमागत रूपमा गरिने उनले बताएका छन ।  

                                                                                                                                                                                                       स्रोत: नयाँ पत्रिका अनलाइन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै