दूध दही बिक्री नहुने कालीकोटको नरहरिनाथ गाउँपालिका

मिमबहादुर रावल 

मान्मा (कालीकोट)   ।  कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परापूवकाल देखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ । 

यस गाउँपालिकामा तीन हजार नौ सय १० घरपरिवारको संख्या रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने तीन हजार सात सय ९५ घरपरिवार रहेका छन् । गाउँपालिकाभित्र गाई, गोरुको संख्या  चार हजार चार सय ३६ र राँगा, भैँसीको संख्या  चार हजार दुई सय १० रहेको छ ।

नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखि चलेको  चलन हो । गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपालन हुने गरेको भए पनि यहाँ दूध दहीको बिक्री भने नभएको नरहरिनाथ गाउँपालिका–९ लालुका ७० वर्षीया पदमसिंह रावलले बताउछन । “विगतमा दूध बिक्री गरेमा देवता रिसाउँछन् भन्ने आम मान्यताका कारणले दूध र दही बिक्री गर्ने चलन थिएन्,” उनले भनेका छन, “अहिले गाउँ बजार बनेपनि कसैले दूध दही  बिक्री गर्न लैजाँदैनन् ।” स्थानीय किसानहरु गाईभैँसीको दूधबाट घ्यू बनाएर बिक्रीका लागि टाढाटाढाको बजारमा पुग्ने गर्दछन् । अहिले गाउँगाउँमा नै यातायातको सुविधा पुगेपछि घ्यू बिक्री गर्न समस्या नभएको स्थानीयवासी कटबहादुर विष्टले बताएका छन । उनि भन्छन, “विगतमा घ्यू जम्मा गरेर कैलाली, नेपालगञ्ज र सुर्खेतका बजारमा लिएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले लत्ताकपडा किनेर ल्याउने गरिन्थ्यो ।” 

गाईभैँसीको घ्यू बेचेर राम्रो आम्दानी लिने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका ७२ वर्षीया गज सार्कीले बताउछन । पहिले आफूले १० वटासम्म भैँसी पालेको र ती भैँसीबाट वर्षमा एक क्विन्टलसम्म घ्यू बनाएर नेपालगञ्ज, बर्दिया र कैलालीको बजारमा बेच्न लिएर गएको उनि सम्झन्छन । उनि भन्छन, “अहिले त एउटा भैँसी पालेको छु । छोराछोरी रोजगारीका लागि बाहिर गएका छन् । घरमा नै दूध दही खान ठिक्क हुन्छ । घ्यू बनाउने चलन नै हरायो ।”

पशुपालनतर्फ घट्दो आकर्षण

प्रायः यहाँका सबै घरमा चारवटाभन्दा बढी गाईभैँसी पाल्ने गरेकामा अहिले धेरैले पाल्न छाडेका छन् । गाउँपालिकामा भैँसी पाल्ने चलन अहिले लोप हुँदै गएको छ । चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका युवा रोजगारीका लागि अन्य पेसा व्यवसाय तथा विदेश जाने गरेका कारणले गाईभैँसी पाल्ने चलन कम हुँदै गएको हो । नरहरिनाथ गाउँपालिका–५ रुप्साका पर्से सहकारी भन्छन, “अहिले त मानिसहरुले आम्दानीका अन्य स्रोत खोज्न थाले । त्यसैबाट आफ्नो रोजीरोटी खोज्छन् ।” दिन प्रतिदिन वनजङ्गल मासिँदै गएपछि भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा र युवाहरु रोजगारीका देश तथा विदेश गएका कारणले अहिले गाईभैँसी एकदुईवटा मात्र पाल्ने गरिएको उनको भनाइ छ । 

नयाँ पुस्ताका युवाहरुको विदेश पलायन तथा अन्य पेसा व्यवसाय जस्ता कारणले व्यावसायिक र बजारीकरण समस्याका कारणले पनि गाईभैँसी पाल्ने पेसा लोप हुँदै गएको छ । नरहरिनाथ गाउँपालिका–७ माल्कोटका केशे बोहरा भन्छन, “पशु चौपायाहरुमा विभिन्न रोगको सङ्क्रमण हुँदा समेत किसानले सेवा पाउँदैन् । पशु बीमाको व्यवस्था नहुँदा पनि किसान मर्कामा परेका छन् ।” पशुपालनको पेसा धेरै दुःख हुने भएका कारणले धेरैले आफूसँग भएका गाईभैँसी बेच्ने गरेको उनको भनाइ छ ।

किसानलाई गोठालो भत्ता दिन सुरु 

किसानलाई पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो । पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिएका छन । गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्दछन् । उनका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०र८१ मा रु १० लाख गाई भैंसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो । 

गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ । सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रात्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष शाहले भनेका छन  “गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । गाउँमा गोठालोभन्दा हेपाहाका रुपमा लिइन्छ । यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ ।” 

दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने 

किसानलाई आफूले उत्पादन गरिएको दूध बिक्री गर्न सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको छ । गाउँपालिकामा उत्पादन हुने दूधलाई बाहिर निर्यात गर्नका लागि गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको उपाध्यक्ष शाहले जानकारी दिएका छन । “दूध सङ्कलन गरेर जिल्लाका अन्य बजार तथा जुम्ला र सुर्खेतसम्म निर्यात गर्ने लक्ष्य राखेका छौँ,” उनले भनेका छन, “यसका लागि गाउँमै दूध सङ्कलन केन्द्र स्थापना गर्दैछौँ ।” पहिलो चरणमा दूध बिक्रीका लागि जुम्लाको हिमा गाउँपालिकासँग सम्झौता भएको उपाध्यक्ष शाहले बताउछन । 

नरहरिनाथ गाउँपालिका दूध सङ्कलन केन्द्र नहुँदा पनि यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थको उचित बिक्री गर्नका लागि समस्या भएको गाउँपालिकाले जनाएको छ । दूध प्रशोधन र बजारीकरणका लाग निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा दूध तथा दुग्धजन्य वस्तु उत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले लक्ष्य राखेको उपाध्यक्ष शाहले बताउछन ।

भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा

नरहरिनाथ गाउँपालिकाले गाई, भैँसीपालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले–४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो । नरहरिनाथ गाउँपालिका जिल्लामै पशुपालनको प्रशस्त सम्भावना रहेको ठाउँ मानिन्छ । पशुपालन व्यवसायलाई थप गुणस्तरीय र उत्पादनमुखी बनाउनका लागि वडा नं ४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शाहले जानकारी दिएका छन । “ग्रामीण भेगका पशुपालक कृषकहरुको आयस्तर वृद्धि गर्न सीपमूलक पशुपालनसम्बन्धी तालिमको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ,” उनले भनेका छन । रैथाने पशुको नश्लको संरक्षण गर्न स्थानीय जातको भाले पशुको व्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गरिने उनको भनाइ छ । साथै उन्नत जातको भाले पशुको विर्य ल्याएर कृत्रिम गर्भाधानको कार्यलाई प्राथमिकता राखिएको पालिकाले जनाएको छ । स्रोत : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै