
काठमाडौँ - मिथिलाञ्चलमा आजदेखि झुलनोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुलनोत्सवमा विशेष गरी भगवान सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताउछन ।
यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको उनले जानकारी दिएका छन । यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ ।
रत्नसागर मन्दिरको झुलानाच सबैभन्दा बढी प्रसिद्ध रहेको रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवले बताएका छन । झुला र नाच हेर्न मन्दिरमा भक्तजनको साँझ पर्नेबित्तिकै घुइँचो लाग्ने उनको भनाइ छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने उनले जानकारी दिएका छन ।
यसरी सुरु भयो झुल्नोत्सव
जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराएको इतिहासमा उल्लेख छ । “सुरकिशोरको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भई विभिन्न उत्सवहरुको सुरुवात भएको थियो । सुरकिशोरले माता जानकीलाई पुत्री मान्दथे । उनले कहिलेकाहीँ जानकीसँग कुराकानी गर्ने गरेको र माता जानकीको सल्लाहमा आदी महन्त सुरुकिशोरले यस उत्सवको प्रारम्भ गरेको धार्मिक विश्वास छ”, जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले बताका छन । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको इतिहासकार बताउँछन् ।
धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन् गरेर झुलाको प्रारम्भ भएको जनविश्वास छ । साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारीमुनि बास बसेर पनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् । झुलाको आकर्षण मिथिलाञ्चलमा धानको रोपाइँ समाप्त हुनासाथ सुरु हुन्छ । यस क्रममा हरेक मठमन्दिरमा कजरी र मलार जस्ता धार्मिक महत्व झल्किने गीत कर्णप्रिय आवाजमा सुनिन्छन् ।
झुलनोत्सवमा युवती सबै झुलाको गीत गाउने र भगवान्को पूजाअर्चना गरेपछि श्रद्धालु भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा रहेको संस्कृतिका जानकार डा.राजेन्द्र विमलले बताउछन । मिथिलाञ्चलको मठमन्दिरमा साउन महिनाभर झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटेर विधिवत् रुपमा सम्पन्न गरिँदै आइएको उनले जानकारी दिएका छन ।
जनकपुरधामसहित मिथिला क्षेत्रको हरेक मठमन्दिरमा झुला उत्सव मनाउने परम्परा रहे पनि जानकी मन्दिर र राममन्दिरको झुला विशेष आकर्षणको केन्द्रविन्दु रहँदै आएको संस्कृतिका जानकार रोशन जनकपुरीले बताउछन। उनका अनुसार जानकी मन्दिरमा विशेष किसिमका तीन वटा सिंहासनमा सीता र रामको मूर्ति राखेर झुलामा झुलाइने धार्मिक परम्परा रहँदै आएको छ ।
“जनश्रुतिअनुसार सीताको माइतीमा दाइजोका रुपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड भएको थियो । त्यसैको स्मृतिस्वरुप झुला उत्सवको प्रारम्भमा मणिपर्वत मनाउने परम्परा छ”, जनकपुरीले भन्छन । त्रेतायुगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहार स्वरुप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यो पर्व प्राचीन समयदेखि मनाइँदै आएको जनविश्वास छ । स्रोत: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन