विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा लिम्बू जातिको चिनारी जोडिएको च्याब्रुङ नाच

   

तेह्रथुम  । च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ । 

मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याब्रुङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले जानकारी दिएका छन , “पहिल्लो पिँढीले यो सिप नसिकेका कारणले लोप हुने अवस्थामा पुगेको छ ।”

च्याब्रुङ नाचको आधारभूत ताल कसरक्पा हो । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टा अघिपछि सारिन्छ, हातले गर्ने अभिनय पनि रोचक हुन्छ । 

आठराई त्रिवेणी गाउँपालिका–४, ताप्लेजुङका अमृता साँवाका अनुसार च्याब्रुङ  नाच्ने र मुन्धुम गाउने अग्रज निष्व्रिmय भएका छन् । कतिपय ठाउँमा संस्कृति जोगाउन युवा सक्रिय भएका छन् । उनले भने , “हामीले क्लब नै गठन गरेर च्याब्रुङ नाच्न सिकिरहेका छौँ ।”

च्याब्रुङ नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदर जस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिन्छ । यसमा गाइने मुन्धुममा जीवन र जगतको वर्णन हुन्छ । च्याब्रुङ र मुन्धुमको संरक्षणका लागि कतिपय स्थानीय तहले आगामी बजेटमा रकम विनियोजन तयारी गरिरहेको पाइन्छ । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङका अनुसार च्याब्रुङ संरक्षणका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको र बजेटसमेत विनियोजन गरिएको छ । 

लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुम अनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकास क्रमसँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याब्रुङ  बजाउन सुरु भएको बताइन्छ । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘ब्रुङ’ को (ध्वनि) निस्कने हुँदा यो बाजालाई च्याब्रुङ  भनिएको जानकारकको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै