भरतपुर भ्रमण वर्षको काम पर्यटक भित्र्याउन सकारात्मक योगदान

चितवन,   । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।  महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०र८१ मा करिब सात हजारले वृद्धि भई तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९र८० मा  यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो ।

निकुञ्जमा आउने पर्यटकमध्ये भरतपुर महानगर हुँदै भित्रिने सङ्ख्या २७ हजार नौ सय ५६ छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या २३ हजार दुई सय ५७ रहेको थियो । सूचना अधिकारी तिवारीका अनुसार भरतपुरबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चार हजार छ सय ९९ बढी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।  

 भरतपुर महानगर क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको प्रतिशतको हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसै अवधिमा सौराहा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको वृद्धि दर शून्य दशमलव ९४ प्रतिशत मात्रै छ । गत आवमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आवमा यो संख्या दुई लाख ७१ हजार सात ३१ मात्र थियो । यसरी हेर्दा दुई हजार पाँच सय ६८ जना पर्यटक मात्र सौराहा क्षेत्रबाट बढेको दखिन्छ ।  

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानका रूपमा गरिएको प्रचारप्रसारका कारण निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि भएको बताउछन । महानगरपालिकाले गत फागुन १८ गते भ्रमण वर्षको शुभारम्भ गरेको थियो । अब आउने पर्यटकीय सिजनमा यसको थप प्रभाव पर्ने उनको भनाइ छ ।

 प्रमुख दाहालले भनिन “अबको मुख्य सिजनमा पर्यटकको संख्या पक्कै बढ्नेछ ।” महानगरपालिकाले अन्तर्राष्ट्रिय समन्वय उपसमिति बनाएर वाह्य जगतमा चितवनको प्रचारप्रसार गरेको थियो । ३० भन्दा बढी देशमा प्रचार सामग्री र लोगो वितरण गरिएको प्रमुख दाहालको भनाइ छ । ६० भन्दाबढी देशका गैरआवासीय नेपाली महासङ्घका नेतृत्वकर्तालाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्य बनाइएको उनले जानकारी दिइन । 

प्रमुख दाहालको भनाइमा भ्रमण वर्ष सुरु भएसँगै महानगरपालिकाको नेतृत्वमा सम्पन्न प्रवर्द्धनात्मक कार्यक्रमका कारण पर्यटक बढेका हुन् । भ्रमण वर्षका अवसरमा खेलकुदबाहेकका ५५ भन्दा बढी सानाठूला कार्यक्रम महानगरपालिकामा भएका छन् । यसबाट यहाँका होटल व्यवसाय प्रत्यक्ष लाभान्वित भएको उनि बताउछिन ।

 उपप्रमुख चित्रसेन अधिकारी होटल ‘टाइगर टप्स’ बन्द भएपछि सुस्ताएको भरतपुरको पर्यटकीय गतिविधि भ्रमण वर्षले केही हदसम्म चलायमान बनाएको दाबी गर्छन । करिब ५० किलोमिटर सीमावर्ती क्षेत्र रहेको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार भरतपुरमा छ भन्ने कुराको प्रचारप्रासर गर्न महानगरपालिका सफल भएको उपप्रमुख अधिकारीले बताउछन । उनले भने , “भ्रमण वर्षको प्रभाव देखिएको छ, पर्यटक संख्या वृद्धि हुनुका साथै केही हदसम्म आर्थिक क्षेत्र थप चलायमान भएको छ । चितवनको आर्थिक, सामाजिक, सांस्कृतिकसहित समग्र पक्षलाई सकारात्मक योगदान दिन भरतपुर भ्रमण वर्ष सफल भएको छ ।”

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा. विश्व सुवेदीले भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउछन । निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या बढ्नुमा प्रमुख कारण भ्रमण वर्ष भएको भन्दै उनले पर्यटकीय दृष्टिले अथाह सम्भावना भएको चितवनको पर्यटन प्रवर्द्धन तथा विस्तारमा सहयोग पुग्ने कार्यक्रम सञ्चलन गर्नुपर्नेमा जोड दिएका छन ।

अब धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै देवघाटधाम महोत्सवसहित जङ्गल सफारी, म्याराथन दौडलगायत पर्यटन प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रम गर्ने पक्षमा महानगरपालिका रहेको डा. सुवेदीले बताउछन ।

 भ्रमण वर्षका अवसरमा सर्वसाधारणले अवलोकन गर्न सक्नेगरी देवनगरमा अन्यत्रबाट उद्धार गरी ल्याइएको पाटेबाघ राखिएका छन् । पछिल्ला दिनमा देवनगरमा पाटेबाघ हेर्न आउनेको भीड देखिन्छ । यस्तै दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि अर्को महत्वपूर्ण नयाँ गन्तव्य बनेको छ ।


मुलुकको समग्र अर्थतन्त्रमा मन्दी आएको विद्यमान अवस्थामा आयोजना गरिएको भरतपुर–भ्रमण वर्षबाट पर्यटन व्यवसायसँगै चितवनसहित आसपासका क्षेत्रको आर्थिक क्षेत्र केही हदसम्म चलायमान भएको छ । महानगरपालिकाले भ्रमण वर्षको आयोजनाबाट समग्र भरतपुरसँगै चितवन र चितवनवासीको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेको छ । यस वर्षको अनुभव र प्राप्त रायसुझावलाई दृष्टिगत गरी आगामी वर्ष पर्यटन क्षेत्रको विकास एवम विस्तारमा सहयोग पुग्ने सिर्जनात्मक एवम रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भरतपुर महानगरपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।  स्रोत: रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै