भरतपुर ‘केही दिन त घुम्नैपर्छ’ भन्ने बनाउँदैछौँ: रेणु दाहाल (अन्तर्वार्ता)


भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहालसँग भरतपुरको पर्यटकीय क्षेत्रसँग सम्बन्धित बिषयमा रहेर मुकामले गरेको कुराकानीमा आधारितः 

भरतपुर महानगरपालिकाले प्राथमिकता दिएका क्षेत्रहरू के के हुन्?
 भरतपुर महानगरपालिकाले प्राथमिकता दिएका क्षेत्रहरू पूर्वधार विकास, शिक्षा स्वास्थ्य, कृषि तथा पर्यटन हुन्। विशेष गरी स्थानीय जनताको आवश्यकता र मागको आधारमा महानगरले विकासका योजना तर्जुमा गर्ने गरेको छ।
 

भरतपुर भ्रमण वर्ष केका लागि घोषणा गर्नुभएको हो?

निजी क्षेत्रसँगको सहकार्यमा नगर परिषदबाट निर्णय भई ‘भरतपुर भ्रमण वर्ष २०२४’ घोषणा गरिएको हो। विशेष गरी सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गराउने, पर्यटकको सङ्ख्या र बसाइ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट पर्यटनको प्रतिफल स्थानीय जनता समक्ष वितरण गर्ने उद्देश्यले यो बृहत अभियान आयोजना गरिएको हो।
 

भरतपुरमा घुम्न लायक स्थानहरू के के छन्? किन भरतपुर घुम्न आउने?

भरतपुरमा ७ वटा प्रमुख गन्तव्यसहित २१ वटा गन्तव्य पहिचान गरिएको छ। सङ्घीय सरकारद्वारा १०० औँ स्थान सूचीकृत बीसहजारी ताल र पटिहानी ब्लक तथा बागमती प्रदेश सरकारको उत्कृष्ट गन्तव्यमा सूचीकृत मेघौली ब्लक यसै क्षेत्रमा पर्दछन्। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदीहरू नारायणी तथा राप्तीले घेरिएको पर्यापर्यटनमा नेपालको उत्कृष्ट गन्तव्य भरतपुरमा प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरू छन्। नेपालको पहिलो सहकारीदेखि हाइकिङ÷ट्रेकिङको लागि चौकीडाँडा, नारायणी सि बिच मोडल, खु्रल्ला चिडियाखानासहितको ज्ञानेश्वर ब्लक, धार्मिक स्थल देवघाट धामलगायत चेपाङ, थारु, कुमाल, दरार्इ लगायत जातजातिको सांस्कृतिक सम्पदा नै यहाँका पर्यटकीय आकर्षणहरू हुन्।


चितवन जिल्लामा रहेका अन्य पालिकासँग महानगरले भ्रमण वर्षबारे समन्वय गरेको छ कि छैन?

चितवनका ६ वटा पालिका तथा गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाका प्रमुखसँग ‘भरतपुर भ्रमण वर्ष २०२४’ सन्दर्भमा विशेष छलफल गरिएको छ। हामीले प्रकाशन गरेको ब्रुसरमा हरेक पालिकाका प्रमुख गन्तव्यको प्रवद्र्धन गरिएको छ भने भ्रमण वर्षमा गैँडाकोटदेखि सौराहासम्मका १५ हजार बेड क्षमता हामीसँग छ। त्यसैले हामी समग्र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा अग्रसर रहिरहने सबैमा जानकारी गराउँदछौँ।


पर्यटकीय सम्पदाको संरक्षण र पूर्वधार विकासमा भरतपुरका योजनाहरू के के छन्?

भरतपुरको लेकसाइड सर्किटअन्तर्गत पर्ने टाइगर ताल, राइनो ताल, बिसहजारी ताल, किङफिसर ताल, बाटुली पोखरी, घैला ताल आदिमा सरसफाइ तथा पूर्वाधार विकास भइरहेका छन्। देवघाट धाम, गणेश धाम, लक्ष्मीनारायण मन्दिर, भोजबाबा मन्दिर आदि धार्मिक क्षेत्रको संरक्षणमा महानगरले चासोका साथ कार्य अगाडि बढाइरहेको छ। राइनो पार्क मेघौली, ज्ञानेश्वर ब्लक, सि बिच मोडल लगायत धेरै गन्तव्यहरूमा पूर्वधार विकास भइरहेका छन्। यसै गरी जले पर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटन हरेक क्षेत्रमा महानगरले पूर्वधार निर्माणमा सहयोग गरेको छ।

 

 ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा पर्यटकहरूको लागि नयाँ के पस्किँदै हुनुहुन्छ ?

लामो प्रयासबाट भरतपुर महानगरले ऐतिहासिक दियालो दरबार सर्वसाधरणको लागि खुल्ला गर्ने सन्दर्भमा नेपाल ट्रष्टसँग सम्झौताको क्रममा छ। मर्मत सम्भारका लागि ठेक्का आह्वानसमेत भइसकेको छ, मर्मत पश्चात यो खुल्ला गरिने छ। त्यसै गरी भरतपुर भ्रमण गर्ने पर्यटकका लागि देवनगरमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरी बाघ, गैँडा लगायतका वन्यजन्तु अवलोकन गर्ने अवसर प्रदान गरिएको छ। धेरै वडामा विभिन्न जातिका होमस्टेहरू खुलेका छन्। जङ्गल सफारी, जलयात्रा तथा प्याराग्लाइडिङसमेतको आनन्द पर्यटकहरूले प्राप्त गर्ने छन्।

भरतपुर भ्रमण वर्षमा सहभागी सङ्घ संस्थाहरू के के हुन्, कति पर्यटक भित्र्याउने लक्ष्य राख्नुभएको छ ?

पर्यटन विकासबाट आर्थिक गतिविधि वृद्धि गर्ने उद्येश्यले आयोजित भरतपुर भ्रमण वर्ष २०२४ सम्पन्न बनाउन नगर प्रमुखको संयोजक रहने गरी २०२४ सदस्यीय मुल समारोह समिति, नगर उपप्रमुख संयोजक रहने गरी कार्यसम्पादन समिति, सल्लाहकार समिति, ३० वटा उपसमितिहरू सक्रिय छन् । प्रवद्र्धकको रूपमा नेपाल पर्यटन बोड, गैर आवासीय नेपाली सङ्घयगायत सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको समन्वयमा करिब २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।


अन्त्यमा यस मुकाम म्यागेजिनमार्फत केही सन्देश दिन चाहनुहुन्छ ?

नेपालका ७५३ पालिकामा सम्भवत पहिलोपटक भरतपुर महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा आयोजना गर्न लागेको वृहत प्रवर्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका ५० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिँदै छ। भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भरतपुरमा रहेका आकर्षक पर्यटकीय गन्तव्यहरूमा भ्रमण गर्न म यहाँहरूमार्फत हार्दिक निमन्त्रणासमेत गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै