ईद मिलादुन्नबीमा सार्वजनिक बिदा पुनः कायम गर्न समाजवादी पार्टीको माग

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीले ईद मिलादुन्नबीका अवसरमा सार्वजनिक बिदा पुनः कायम गर्न सरकारसँग माग गरेको छ। पार्टीले पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदा कटौती गरी मुस्लिम समुदायका लागि मात्र सामुदायिक बिदा दिने निर्णयप्रति आपत्ति जनाएको हो । 

पार्टी अध्यक्ष मोहम्मद रिजवान अन्सारीद्वारा जारी शुभकामना तथा प्रेस विज्ञप्तिमा हजरत मोहम्मदलाई शान्ति, करुणा, समानता, सामाजिक न्याय र मानवताका सन्देशवाहकका रूपमा उल्लेख गरिएको छ । उनको योगदान कुनै एक समुदाय वा धर्ममा सीमित नरहेको विज्ञप्तिमा जनाइएको छ । 

अन्सारीले हजरत मोहम्मदको शिक्षाले जात, वर्ण, रंग, भाषा, वंश र आर्थिक अवस्थाका आधारमा हुने विभेदको विरोध गर्दै समानता तथा मानव मर्यादाको पक्षमा आवाज उठाएको बताएका छन् । कमजोर, गरिब, अनाथ, महिला, श्रमिक तथा सीमान्तकृत समुदायको अधिकार र सम्मान संरक्षणमा उनको शिक्षाले विशेष जोड दिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकारले ईद मिलादुन्नबीमा सार्वजनिक बिदाको सट्टा मुस्लिम समुदायका लागि मात्र सामुदायिक बिदा दिने निर्णय विभेदपूर्ण र आपत्तिजनक रहेको पार्टीको ठहर छ । मधेश प्रदेश सरकारले विगतमा दिँदै आएको सार्वजनिक बिदा हटाएर सामुदायिक बिदामा सीमित गरेकोप्रति पनि पार्टीले असन्तुष्टि जनाएको छ । 

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै धार्मिक र सांस्कृतिक समुदायप्रति राज्यले समान तथा सम्मानजनक व्यवहार गर्नुपर्ने अन्सारीको भनाइ छ । धार्मिक स्वतन्त्रता, समानता, सामाजिक न्याय र समावेशिताको संवैधानिक भावनाविपरीत महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वलाई समुदायविशेषमा सीमित गर्नु उचित नहुने पार्टीले जनाएको छ । 

निर्णय तत्काल सच्याएर ईद मिलादुन्नबीमा सार्वजनिक बिदा कायम गर्न केन्द्र र मधेश प्रदेश सरकारसँग माग गरिएको छ । निर्णय नसच्याइए धार्मिक समानता, सामाजिक न्याय र जनअधिकारका विषयमा लोकतान्त्रिक तथा शान्तिपूर्ण रूपमा सशक्त आवाज उठाउने चेतावनीसमेत पार्टीले दिएको छ । पार्टीले ईद मिलादुन्नबीका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सद्भाव र सामाजिक एकताको शुभकामना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै