काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट निवेदन सोमबार सर्वोच्चमा पेश गरेका छन् ।
गत शुक्रबार देउवा र खड्काका तर्फबाट पेश भएका दुई छुट्टाछुट्टै रिट थप अध्ययन आवश्यक रहेको भन्दै सर्वोच्च प्रशासनले त्यही दिन फिर्ता पठाएको थियो । त्यसपछि केही परिमार्जनसहित दुवै निवेदन पुनः सर्वोच्चमा पेश गरिएको हो । अब रिट दर्ता गर्ने वा नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गर्नेछ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार कांग्रेसको आगामी १५औँ महाधिवेशन रोक्न माग गर्दै दुईवटा रिट निवेदन आएका छन् र ती अध्ययनकै क्रममा छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले खड्काको तर्फबाट यसअघि दायर भएको मुद्दामा पूरक निवेदन पेश भएको जानकारी दिएका छन् ।
देउवाले अन्तरिम आदेशमार्फत कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । खड्काले पनि महाधिवेशनसम्बन्धी कार्यक्रम रोक्न माग गर्दै पूरक निवेदन दिएका हुन् ।
तर साउन २९ देखि ३१ गतेसम्म चलेको इतर पक्षको राष्ट्रिय भेलापछि खड्काको भूमिकालाई लिएर प्रश्न उठेको छ । उनी ३१ गतेको समापन समारोहमा सहभागी भएका थिएनन्। त्यसपछि खड्काले आफूले सर्वोच्चमा कुनै रिट नदिएको दाबी गरेका थिए ।
गत पुसको अन्तिम साता भएको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो । आयोगको निर्णयविरुद्ध देउवा र खड्का सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले निर्वाचन आयोगको निर्णय सदर गरेपछि गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएको थियो ।
त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न देउवा र खड्काले निवेदन दिएका थिए । सर्वोच्चको पूर्ण इजलासले गत साउन २२ गते पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः विचाराधीन बनेको हो ।
देउवा पक्षले आधिकारिकता विवादको अन्तिम टुंगो नलागेसम्म गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने तर्क गरेको छ । सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिइसकेको अवस्थामा अन्तिम फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको दाबी छ ।
यता, गगन थापा नेतृत्वको संस्थापन पक्षले भने १५औँ महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ । आगामी असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ भने कांग्रेसले वडा तहबाटै अधिवेशनको तयारी अघि बढाएको छ ।
यसअघि बिहीबार महाराजगञ्जस्थित नेता डा. शशांक कोइरालाको निवासमा १४औँ महाधिवेशनका पदाधिकारीसहित बसेको नेताहरूको भेलाले महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने निर्णय गरेको थियो ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार गगन थापा नेतृत्वको समूहले अदालतमा मुद्दा पुनरावलोकनका लागि पुगेपछि पनि आफ्नै ढंगले १५औँ महाधिवेशनको तयारी अघि बढाएकाले मुद्दाको टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी गतिविधि रोक्न अदालत जाने निर्णय गरिएको हो ।
कांग्रेसभित्र आधिकारिकता र नेतृत्वको विवाद चर्किरहेका बेला देउवा–खड्का पक्ष अदालतमार्फत महाधिवेशन रोक्ने प्रयासमा छ भने गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्न देउवा र खड्काको रिट
- गरिमा चौधरी हत्या प्रकरणमा किशोरको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
- लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, तीन नयाँ मन्त्री थपिँदै
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान



ट्रेन्डिङ
खबरमुकाम







