गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति

काठमाडौं । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ ।

औरही गाउँपालिका–२, तुलसियाही निवासी गणेश यादवका परिवारसँग गृहमन्त्री सुधन गुरुङले भेट गरी सहमति गरेका हुन् । परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गरी आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए ।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने तथा मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।

यस्तै, गणेश यादवको स्मृतिमा पार्क निर्माण गरिने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने, शनिबार नै शव परिवारलाई बुझाएर दाहसंस्कार गरिने तथा दाहसंस्कारका सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमतिमा उल्लेख गरिएको छ ।

शवको अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताए । अनुसन्धान प्रक्रियालाई सहज बनाउन शव त्यहाँ पठाइएको र आइतबार हेलिकोप्टरमार्फत सिरहा ल्याई परिवारलाई जिम्मा लगाइने उनले जानकारी दिए ।

घटनाको निष्पक्ष अनुसन्धान हुनेमा उठेका प्रश्नबारे गृहमन्त्री गुरुङले सुनसरी र सिरहाका घटनाको छानबिनका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरू सम्मिलित स्वतन्त्र समिति गठन गरिएको बताए । उक्त समितिले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र आमजनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति दिलाउने विश्वास उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै