पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसद्वारा एआई र साइबर सुरक्षासम्बन्धी कार्यशाला

ललितपुर । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले ‘साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव’ विषयक विशेष कार्यशाला आयोजना गरेको छ । टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडको सहकार्यमा सम्पन्न कार्यशालामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), साइबर सुरक्षा र डिजिटल सार्वभौमिकतासम्बन्धी समसामयिक विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको सभापतित्व क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले गरेका थिए । उद्घाटन मन्तव्यमा उनले उद्योगसँग प्रत्यक्ष सम्बन्धित ज्ञान र सीपलाई शैक्षिक प्रणालीसँग जोड्न क्याम्पस निरन्तर प्रयासरत रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन तथा पूर्व रजिस्ट्रार अजय कुमार थापाले विश्वविद्यालयको स्थापना, विकास यात्रा र शैक्षिक मूल्यबारे प्रकाश पारे। उनले विश्वव्यापी प्राविधिक परिवर्तनसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु उच्च शिक्षाको प्रमुख दायित्व भएको उल्लेख गर्दै यसले राष्ट्र निर्माणमा दीर्घकालीन योगदान पुर्‍याउने बताए ।

कार्यक्रमका मुख्य वक्ता क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारी ले ‘सार्वभौम एआईको अवधारणाबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले नेपालजस्ता मुलुकले विदेशी प्रविधिमा मात्र निर्भर नरही आफ्नै एआई पूर्वाधार, डाटा प्रणाली र डिजिटल क्षमताको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनको प्रस्तुतिपछि प्रमुख अतिथि थापाले एआई र साइबर सुरक्षामा ‘सीप–पहिलो’ अवधारणालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै डिजिटल सुरक्षालाई सुदृढ बनाउन दक्ष जनशक्ति अपरिहार्य रहेको बताए ।

कार्यक्रममा श्रमिक शान्ति क्याम्पसका पूर्वअध्यक्ष हरिकृष्ण बञ्जाङ्कर को पनि उपस्थिति रहेको थियो । उनले संस्थाको विकास र आधुनिक शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यशालाको प्राविधिक सत्रमा एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले लाइभ फिसिङ डेमो प्रस्तुत गर्दै सामाजिक इन्जिनियरिङमार्फत हुने साइबर आक्रमणका तरिका र त्यसको प्रतिरक्षामा एआईको भूमिकाबारे जानकारी गराए । सत्रको अन्त्यमा विद्यार्थीहरूको सहभागिता बढाउन साइबर सुरक्षासम्बन्धी अन्तरक्रियात्मक क्विज प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

समापन समारोहमा कार्यक्रम संयोजक फूलबाबु झाले टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडप्रति आभार व्यक्त गर्दै भविष्यमा विद्यार्थीका लागि मेन्टरसिप, इन्टर्नसिप तथा उन्नत तालिम कार्यक्रम सञ्चालन गर्न दुवै संस्थासँग औपचारिक सहकार्य (एमओयू) गर्ने तयारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै