आज २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । निरन्तर वर्षासँगै आज देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि सुदूरपश्चिमसम्मका केही जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेलधुरा, बैतडी, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने सम्भावना छ । यसका कारण ती क्षेत्रका तटीय बस्ती र जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस्तै, आज महाकाली, नारायणी र कर्णालीलगायत ठूला नदीको बहाव पनि उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ । नदी किनार तथा तल्लो तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । साथै, मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ औसतभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ औसत अवस्थाकै आसपास रहेकाले अधिकांश क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै