मोरङ । मोरङको लेटाङ नगरपालिका–९, जाँतेस्थित शिवशक्ति बाबा धाममा असार २८ गते भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने भएको छ । आशीर्वाद शिव शक्ति साधना केन्द्रको आयोजनामा हुने उक्त ऐतिहासिक धार्मिक समारोह केन्द्रका अध्यक्ष तथा श्री श्री श्री महागुरु महाराज शिव शक्ति बाबाको सभापतित्वमा सम्पन्न हुन लागि रहेको हो ।
आयोजक संस्थाले दिएको जानकारी अनुसार शंकराचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुने प्राणप्रतिष्ठा समारोहले शिवशक्ति बाबा धामलाई धार्मिक आस्था, आध्यात्मिक साधना तथा धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल र भारतका हजारौं भक्तजन, साधुसन्त, धर्मगुरु तथा श्रद्धालुको सहभागिता रहने तयारी गरिएको छ ।
आयोजकका अनुसार यो कार्यक्रम केवल धार्मिक अनुष्ठानमा सीमित नभई नेपाल–भारतबीचको सनातन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा समेत लिइएको छ । भारतका विभिन्न राज्यबाट तीर्थयात्री आउने विश्वास गरिएको छ भने यसबाट धामको अन्तर्राष्ट्रिय पहिचानसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।
धार्मिक पर्यटनको नयाँ गन्तव्य
आशीर्वाद शिव शक्ति साधना केन्द्रका अनुसार शिवशक्ति बाबा धामलाई धार्मिक पर्यटन, आध्यात्मिक अध्ययन, योग, ध्यान तथा वैदिक शिक्षाको समन्वित केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ । धाम परिसरमा मन्दिर, ध्यानस्थल, यज्ञशाला, बगैंचा तथा विभिन्न देवी–देवताका मन्दिर निर्माणसँगै पूर्वाधार विस्तार भइरहेको जनाइएको छ ।
संस्थाका अनुसार काली माताको प्राणप्रतिष्ठापछि नियमित पूजाआजा, विशेष आरती, धार्मिक प्रवचन, भजन–कीर्तन, योग तथा ध्यान शिविर सञ्चालन गरिनेछ। यसबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव
धार्मिक कार्यक्रमले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । भक्तजन तथा पर्यटकको आगमनसँगै होटल, रेष्टुरेन्ट, यातायात, कृषि उत्पादन, हस्तकला तथा स्थानीय व्यापार व्यवसायमा वृद्धि हुने विश्वास स्थानीय व्यवसायीहरूको छ । स्थानीयवासीले पनि शंकराचार्यको आगमन र प्राणप्रतिष्ठा समारोहले जाँते क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुग्ने बताएका छन् ।
भव्य तयारी अन्तिम चरणमा
समारोहलाई लक्षित गर्दै धाम परिसरमा सजावट, सरसफाइ, सुरक्षा व्यवस्थापन, खानेपानी, विश्रामस्थल, पार्किङ तथा स्वास्थ्य सेवाको व्यवस्था अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रममा वैदिक मन्त्रोच्चारण, विशेष पूजा, हवन, धार्मिक प्रवचन, भजन–कीर्तन तथा प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ ।
स्वयंसेवक परिचालनदेखि सुरक्षा व्यवस्थापनसम्मका विषयमा स्थानीय प्रशासनसँग आवश्यक समन्वय भइरहेको आयोजकले जानकारी दिएको छ ।
आध्यात्मिक केन्द्र निर्माणको दीर्घकालीन योजना
आशीर्वाद शिव शक्ति साधना केन्द्रले शिवशक्ति बाबा धामलाई केवल मन्दिरका रूपमा सीमित नराखी आध्यात्मिक अनुसन्धान, वैदिक शिक्षा, योग, ध्यान तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । आगामी दिनमा धार्मिक सम्मेलन, आध्यात्मिक शिविर तथा अन्तर्राष्ट्रिय सनातन संस्कृति सम्बन्धी कार्यक्रमहरू नियमित आयोजना गर्ने तयारीसमेत रहेको संस्थाले जनाएको छ ।
आयोजकका अनुसार असार २८ गते हुने काली माताको प्राणप्रतिष्ठा समारोह त्यस दीर्घकालीन अभियानको महत्वपूर्ण सुरुआत हुनेछ । यस कार्यक्रमले शिवशक्ति बाबा धामको धार्मिक गरिमा अभिवृद्धि गर्नुका साथै मोरङको जाँतेलाई नेपालको उदीयमान धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारी कार्यालय खाली गर्न ट्रेड युनियनलाई तीन दिनको अल्टिमेटम
- ५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य
- कांग्रेस इतर पक्षले साउन ६ मा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने, १५औँ महाधिवेशनबारे रणनीति तय हुने
- भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने
- डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक
- नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
- बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न
- डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते

ट्रेन्डिङ
खबरमुकाम

.jpeg)





