TVS ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Apache RTR 160 4V, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

काठमाडौं । TVS मोटर कम्पनीले नेपाली बजारमा नयाँ TVS Apache RTR 160 4V मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो १६० सीसी सेग्मेन्टको सबैभन्दा शक्तिशाली मोटरसाइकलमध्ये एक हो, जसमा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएम USD (अपसाइड डाउन) फ्रन्ट सस्पेन्सन र ५ इन्चको TFT डिजिटल क्लस्टर जस्ता आधुनिक फिचर समावेश गरिएको छ।

TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि मार्फत काठमाडौँको सतुंगलमा आयोजित विशेष कार्यक्रममा मोटरसाइकल सार्वजनिक गरिएको हो। कार्यक्रममा अटोमोबाइल पत्रकार, समीक्षक, इन्फ्लुएन्सर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो। सहभागीहरूका लागि टेस्ट राइड र विशेष ट्र्याक राइडको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शक्तिशाली इन्जिन र आधुनिक प्रविधि

नयाँ Apache RTR 160 4V मा १५९.७ सीसी क्षमताको इन्जिन जडान गरिएको छ। स्पोर्ट मोडमा यसले ९,२५० आरपीएममा १७.५५ पीएस शक्ति उत्पादन गर्छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उपलब्ध हुन्छ। यसमा ५-स्पीड गियरबक्स, १२ लिटर क्षमताको इन्धन ट्याङ्की र ड्युअल–च्यानल एबीएस (ABS) दिइएको छ।

मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन्, जसले सडकको अवस्थाअनुसार सुरक्षित र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

नेपाल महत्वपूर्ण बजार : TVS

कार्यक्रममा बोल्दै TVS मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले नेपाल कम्पनीका लागि रणनीतिक रूपमा महत्वपूर्ण बजार रहेको बताए।

उनले TVS Apache ले दुई दशकदेखि रेसिङबाट प्रेरित प्रविधि सर्वसाधारणसम्म पुर्‍याउँदै आएको उल्लेख गर्दै नयाँ Apache RTR 160 4V ले सुरक्षा, नियन्त्रण र प्रदर्शनलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

युवामाझ अझ लोकप्रिय बन्ने विश्वास

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा प्रदर्शन, स्टाइल र प्रविधिलाई प्राथमिकता दिने युवा राइडरमाझ Apache ब्रान्डको लोकप्रियता निरन्तर बढिरहेको बताए।

उनले नयाँ मोडलमा समावेश गरिएको प्रोजेक्टर हेडल्याम्प, USD सस्पेन्सन र TFT क्लस्टरले राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाउने उल्लेख गर्दै यो बाइकले बजारमा राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे।

TVS मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले Apache ले विश्वभर ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी ग्राहकको विश्वास जितिसकेको भन्दै नयाँ संस्करणले पनि १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्ने बताए।

तीन रंगमा उपलब्ध

कम्पनीका अनुसार नयाँ TVS Apache RTR 160 4V हाल नेपालका चयनित डिलरशिपमा उपलब्ध छ भने जुलाई २०२६ भित्र देशभरका शोरुममा बिक्रीका लागि उपलब्ध गराइनेछ।

यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रंगमा उपलब्ध छ। यसको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

TVS मोटर कम्पनी

TVS मोटर कम्पनी विश्वका अग्रणी दुई तथा तीन पाङ्ग्रे सवारीसाधन उत्पादकमध्ये एक हो। TVS भेन्यु समूहअन्तर्गत रहेको कम्पनीले भारत र इन्डोनेसियामा रहेका उत्पादन केन्द्रबाट ९० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ।

नेपालमा TVS का सम्पूर्ण उत्पादनहरूको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो, जसले देशभर बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै