काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमण सकिए लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गर्ने भएका छन् । शुक्रबार सभापति लामिछाने स्वदेश फर्किएपछि शनिबार मन्त्री खलाल दिल्ली भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्रमन्त्री खनाल भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि दिल्ली जान लागेको बताइएको छ । खनालको भारत भ्रमणको क्रममा नेपाल–भारतबीचका विभिन्न सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ । उनले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि पहल भए पनि निश्चित भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पेट्रोलियम पाइपलाइन विस्तार, नेपालको चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा तथा भारतमा नेपालीलाई भुक्तानीका लागि क्यूआर प्रणाली लागू गर्ने विषयमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । यद्यपि भ्रमणका एजेन्डाहरू निश्चित गर्न संवाद जारी रहेको छ ।
भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सीमा विवाद पुनः चर्किएको पृष्ठभूमिमा मन्त्री खनालको भारत भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा मोदीले नेपाल–भारत सम्बन्धका विषयमा छलफल गर्नुपर्ने विषयको सूची मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






